संघीय गठबन्धनद्वारा तीन घण्टा काठमाडौं कब्जा

सिंहदरबार घेराउले नपुगे बालुवाटार पनि तोडिन्छः यादव

संघीय गठबन्धनद्वारा तीन घण्टा  काठमाडौं कब्जा

अर्जुन जम्नेली

काठमाडौं : संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले सिंहदरबार घेराउ कार्यक्रमलाई सरकारले नटेरे पहिचानवादी आन्दोलनकारीले बालुवाटारसम्म कब्जा गर्ने चेतावनी दिएका छन् ।

सिंहदरबार घेराउ कार्यक्रमको अघिल्लो दिन आज र्‍यालीपछि काठमाडौंको ठमेलमा आयोजित जनसभालाई सम्बोधन गर्दै यादवले सो चेतावनी दिएका हुन् । पहिचानवादी आन्दोलनलाई नेपाली जनता र अन्तर्राष्ट्रिय समर्थन रहेको उल्लेख गर्दै केपी ओली सरकारलाईलाई जनताको समर्थन समेत नरहेको बताए । उनले मधेसी जनताको हत्या गर्ने सरकार कालो बजारीयाहरुको नाइके भएको आरोप लगाए । मधेस विद्रोहपछि सिंहदरबार घेराउ गर्न नेपाली जनता उर्लिएको उल्लेख गर्दै उनले हिंसाको राजनीति चाहने केपी ओलीको हालत ज्ञानेन्द्रको भन्दा खराब हुने बताए ।

गृहमन्त्रीको जागिर खोसिन्छः किराती

पार्टी सरकारमा भए पनि किरात राज्य संघर्ष समितिको तर्फबाट खुलेर पहिचानको आन्दोलनमा लागेका एमाओवादी स्थायी समिति सदस्य गोपाल किरातीले दमन भए गृहमन्त्री शक्तिबहादुर बस्नेतको जागिर खोसिने बताए ।

पूर्व संस्कृति मन्त्री समेत रहेका किरातीले पार्टी स्थायी समितिमा संघीय गठबन्धनको आन्दोलनमा जानुपर्ने, नगए समर्थन गर्नुपर्ने र दुबै नभएर दमन गरिए गृहमन्त्री बस्नेतको जागिर खोसिने कुरा जानकारी गराएको बताए । गठबन्धनको आन्दोलनमा सडकमै रहने घोषणा गरेका किरातीले दमन भए गृहमन्त्रीसँग आफै भिड्ने चेतावनी यसअघि नै दिइसकेका छन् । बस्नेत एमाओवादीको तर्फबाट मन्त्री बनेका हुन् ।

लिम्बुवान भिड्न तयार छः लिङ्देन

पूर्वबाट पाँच सय युवा सहित काठमाडौ छिरेका संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङ्देनले सिंहदरबार भत्काउन लिम्बुवान नेता कार्यकर्ता तयार रहेको बताए । मधेसी, आदिवासी, दलित लगायत उत्पीडित जनताको अधिकार सिंहदरबारभित्र कालो बाकसमा थुनिएको तर्क गर्दै पर्खाल भत्काउन आफूहरु तयार रहेको बताए ।

सरकार सम्बद्ध पार्टीका नेताहरुले नेपालमा शान्ति छ भनेर विदेशीलाई भ्रम छरिरहेको उल्लेख गर्दै नेपालमा अशान्ति रहेको उनले बताए ।

लिङ्देनले थप भने ‘सिंहदरबार घेराउ कार्यक्रममा लिम्बुवानलाई सबभन्दा गाह्रो क्षेत्र दिनुस् बाँकी मैदानमा देखाउँछौं ।’

ओली आएपछि प्रतिगमन सुरु, दमन गर्ने प्रहरीलाई ब्ल्याकलिष्टमा राख्छौं

नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव समेत रहेका संघीय समाजवादी फोरमका नेता आङ्काजी शेर्पाले उद्घोषण गरेको कार्यक्रममा संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने ‘गणतन्त्रको आन्दोलनलाई गोरुगाडा चढेर अमेरिका पुगिन्न भन्ने केपी ओली प्रधानमन्त्री भएदेखि नै प्रतिगमन सुरु भयो ।’ उनले थपे ‘ओली सुपर शाही बन्न खोजे जनताले ठेगान लगाउँछ ।’

श्रेष्ठले सेना र प्रहरीलाई भने ‘जागिर खानुस् तर, न्याय र समानताको आन्दोलनमा दमनमा गरिए ब्ल्याकलिष्टमा राख्छौं ।’

कार्यक्रममा राजेन्द्र झा, शरतसिंह भण्डारी, अनिल झा, राजकिशोर यादव, गोविन्द चौधरी, गणेशमान गुरुङ, सांसद गंगा चौधरी, पर्शुराम तामाङलगायतका नेताहरुले बोलेका थिए । वक्ताहरुले नश्लवादी सरकारविरुद्ध भिड्न तयार रहेको बताए ।

प्रहरीसँग घम्साघम्सी, आन्दोलनकारीद्वारा काठमाडौं तीन घण्टा कब्जा

शान्तिबाटिकाबाट साढे ३ बजे आन्दोलनकारीले र्‍याली सुरु गरेका थिए । भद्रकालीतिर झरेपछि तीन जना डीएसपीको नेतृत्वमा र्‍याली रोकेर खुल्ला मञ्च हुँदै वीरअस्पतालको बाटो देखाए । सशस्त्र र जनपद प्रहरीले बल प्रयोग गरेरै छेक्न खोजे । आन्दोलनकारीको तर्फबाट राजेन्द्र श्रेष्ठ अघि बढ्दा दुई पक्षबीच ठेलाठेल भयो ।

अन्तत: प्रहरीले रोक्न सकेन र आन्दोलनकारीले घेरा तोडे ।

सुरुमै प्रहरी घेरा तोडेपछि उत्साहित अन्दोलनकारीहरु सहिदगेटसम्म दौडेरै आए । त्यसपछि र्‍याली सुनधारा, न्यूरोड, इन्द्रचौक हुँदै ठमेल पुगेर जनसभामा परिणत भएको थियो । र्‍याली सुरु भएदेखि सभा सकिँदा तीन घण्टा बितेको थियो । कार्यक्रमभर सडक पूर्ण रुपमा आन्दोलनकारीको नियन्त्रणमा रहेको थियो । प्रहरी र ट्राफिक र्‍यालीको एकाछेउबाट सडक खुलाउन चाहन्थ्यो तर सफल भएन ।

यायोक्खाको झण्डा खोसियो

र्‍याली र जनसभामा सहभागी भएर फिर्दै गर्दा किरात राज्य जनसंघर्ष समितिले प्रयोग गरेको किरात राई यायोक्खाका करिब २ सय झण्डा बानेश्वरबाट प्रहरीले नियन्त्रणमा लिएका छन् । गाडीमा लगाएर ल्याउँदै गरेको भण्डा बोक्न पाइँदैन भन्दै जबर्जस्ती खोसेको किरात संघर्ष समितिका सदस्य जय राईले बताए । केही बेर प्रहरीसँग भनाभन भएपछि झण्डा खोसेर लगेको राईले बताए । उक्त झण्डा बिनासर्त फिर्ता दिन प्रहरीसँग यायोक्खाले आग्रह गरेको छ ।

संघीयतावादी जनप्रदर्शनका झलक

a-1 16151211987654321a-1

इसमताबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार