वीरेन्द्र केएम
काठमाडौं : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गर्दे उनी अनपढ भएकाले नै ‘पुनर्लेखन’ र ‘संशोधन’ को फरक परिभाषा नबुझेको बताएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको संघीय गठबन्धनको आजदेखि राजधानी केन्द्रित आन्दोलनको विषयमा शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यादवले भने, ‘ओली पढेका छैनन्‘पुनर्लेखन’ र ‘संशोधन’ के हो कहाँ बुझ्छन् र ?’ यादव गठबन्धनका संयोजकसमेत रहेका छन् । ‘यदि उनी पढे लेखेको र बुझेको भए संसद्मा संविधान पुनर्लेखन हुँदैन भनेर बोल्ने थिएनन्’, उनले भने, ‘एक पटक तपाईंहरू नै उहाँलाई संविधान संशो
धन र पुनर्लेखनको फरक छुट्याउन सोध्नुहोस् ।’ यादवले आन्दोलन सुरु नहुँदै सरकार अत्तालिएको र बालुवाटारमा ओलीलाई निद्रा लाग्न छाडेको बताउँदै उनले भने, ‘उहाँले जथाभावी बोल्नुको कारण पनि त्यही हो । आन्दोलन आफूहरूको चाहनाले नभएर सत्तापक्षको प्रतिगामी र नश्लवादी चरित्रले गर्दा पुनः आन्दोलनमा उत्रन बाध्य भएको हो ।’ उनले भने, ‘३६ पटक वार्ता गरियो, तर सरकार ३६ मिलिमिटर पनि संवेदनशील भएर अघि बढेन’, यादवले भने, ‘त्यसैले हामी आन्दोलनमा जान बाध्य भएका हौं । अब वार्ता होइन, आन्दोलनबाट मात्रै निकास आउनेछ ।’
ओली घोडा, प्रचण्ड घोडालाई घाँस खुवाउने
यादवले प्रधानमन्त्री ओली ‘घोडा’ र एमाओवादी अध्यक्ष प्रचण्ड ‘घोड घँसिया’ (घोडालाई घाँस खुवाउने) भूमिकामा भएको बताए । उनले अगाडि भने, ‘दोस्रो संविधानपछि हामीले प्रचण्डजीसँग मिलेर आन्दोलन ग¥र्यौं । उहाँलाई विभिन्न मञ्च दिएँ । तर जब पिक प्वाइन्ट आयो उनी ओलीतिर लाग्नुभएको छ । वहाँ घोडालाई घाँस खुवाउने बन्नुभएको छ ।’ एमाओवादी नेता गोपाल किराँतीतर्फ इसारा गर्दै उनले थपे, ‘अहिले किराँतीजी आन्दोलनमा सहयोग गर्न आउनुभएको छ । उहाँले पक्कै प्रचण्डजीलाई चिनेर यहाँ आउनुभएको होला ।’
राजेन्द्रलाई तानेर उपेन्द्रले नजिकै बसाए
पत्रकार सम्मेलनमा केही बेर ढिला आएका सद्भावना पार्टीका नेता राजेन्द्र महतोलाई यादवले पहिले नजिक बोलाएर र पछि तानेर आफूसँगै बसाएका थिए । मधेसी मोर्चामा सधैं एकअर्काको प्रतिस्पर्धीका रूपमा हेरिएका उपेन्द्र यादव र राजेन्द्र महतोबीच शुक्रबारको पत्रकारसम्मेलनमा राम्रो एक प्रकारको ‘ड्रामा’ देखिएको थियो । गठबन्धनको संयोजक चयनको विषयमा विवाद देखिएपछि गठबन्धनको बैठक बहिष्कार गर्दै आएका तराई मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठी पनि पत्रकार सम्मेलनमा उपस्थित भए । सो पार्टीका अध्यक्ष महन्थ ठाकुर स्वास्थ्य उपचारको सिलसिलामा भारतमा छन् ।
गठबन्धनमा विवाद छैन
गठबन्धनमा रहेको विवादबारे पत्रकारको प्रश्नमा त्रिपाठीले त्यस्ता समाचारमा सत्यता नभएको बताए । उनले गठबन्धन संगठित भएर अघिबढेको जिकिर गर्दै कुनै विवाद नभएको दाबी गरे । ‘कोही बिरामी भएर बैठकमा गएन भन्दैमा विवाद हुँदैन’, उनले भने, ‘हामी सबै मिलेर आन्दोलन गर्छौं ।’ गठबन्धनले सुरु गर्ने जनप्रदर्शन र सिंहदरबार घेराउको कार्यक्रममा सरकारको तर्फबाट हिंसात्मक मोड दिने प्रयास भए वा दमन गरी बल प्रयोग गरेमा देशमा दीर्घकालीन संघर्ष र गृहयुद्धको स्थिति सिर्जना हुने चेतावनी पत्रकार सम्म्मेलनमा बाँडिएको विज्ञप्तिमा उल्लेख छ । संघीय गठबन्धनमा मधेसी मोर्चाआबद्ध ७ दलसहित जम्मा २९ दल÷समूहको सहभागिता रहेको छ । गठबन्धनमा संघीय समाजवादी फोरम नेपाल, तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी नेपाल, राष्ट्रिय मधेस समाजवादी पार्टी, आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल, संघीय जनमुक्ति पार्टी, थरुहट तराई पार्टी नेपाल, नेपाल सद्भावना पार्टी, फोरम (गणतान्त्रिक), नेपाः राष्ट्रिय पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल, सामाजिक लोकतान्त्रिक पार्टी नेपाल, आदिवासी जनजाति पार्टी नेपाल, लोक दल, लोकतान्त्रिक पार्टी नेपाल, बहुजन समाज पार्टी नेपाल, लिम्बूवान संयुक्त संघर्ष समिति, खसान राष्ट्रिय संयुक्त संघर्ष समिति, शेर्पा राज्य संयुक्त संघर्ष समिति, नेवाः स्वायत्त राज्य मंका संघर्ष समिति, ताम्सालिङ संयुक्त संघर्ष समिति, तमुवान संयुक्त संघर्ष समिति, थरुहट संयुक्त संघर्ष समिति, संयुक्त मगरात मञ्च, संयुक्त दलित अधिकार मञ्च, लिम्बुवान मुक्ति मोर्चा नेपाल आबद्ध छन् ।
आन्दोलनमा एमाओवादी नेताको समर्थन
यसैबीच, मधेसी र जनजाति पार्टीको संघीय गठबन्धनले गर्न लागेको काठमाडौं केन्द्रित आन्दोलनमा एमाओवादी नेता गोपाल किराँतीले समेत समर्थन जनाएका छन् । शुक्रबार गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा किराँती पनि उपस्थित भएर ऐक्यबद्धता जनाएका हुन् । यसअघि पनि किराँतीले पटक–पटक मोर्चाका नेतालाई भेटेर आन्दोलनको बारेमा छलफल गरेका थिए । एमाओवादी स्थायी कमिटी सदस्य किराँतीले किराँत संघर्ष समितिबाट गठबन्धनको काठमाडौं केन्द्रित आन्दोलनमा सक्रिय सहभागी हुने बताउँदै आएका छन् ।






















































