नयाँ बुलन्द
काठमाडौं : एकीकृत नेकपा माओवादीले विभिन्न समूहमा विभाजित माओवादी पार्टीहरुसँग एकता गर्ने निर्णय गरेको छ । एमाओवादीले दुई साताभित्र एकता प्रक्रिया टुंगो लगाउने निर्णय गर्दै त्यसको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ ।
एकताबारे निर्णय गर्न एमाओवादी केन्द्रीय समितिको पूर्ण बैठक शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको थियो । बैठकले सबै माओवादी पार्टीहरुसँग एकता गर्ने सर्वसम्मत निर्णय गरेको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए ।
‘माओवादी झण्डामुनि आबद्ध भएर पछिल्लो चरणमा अलग-अलग भएका सबै शक्तिहरुलाई एक ठाउँमा आबद्ध गर्ने अभियानअन्तर्गत यो निर्णय भएको हो,’ प्रवक्ता शर्माले भने, ‘पार्टी एकताका साथसाथै क्रान्तिकारी ध्रुविकरणलाई जोड दिने कुरालाई एक मतले पास गर्यो । हामीसँग आउन चाहने साथीहरुलाई आजको बैठकले ढोका खोलेको छ ।’
एमाओवादीबाट अलग्गिएर गठन भएका दलका नेताका नेताहरुलाई सामूहिक वा विभाजित जुनरुपमा आए पनि पार्टीमा एकताबद्ध गराउने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिए । राजनीतिक र सांगठनिक विषय टुंग्याएर दुई साताभित्र एकता गरिसक्ने शर्माले बताए ।
दश वर्ष सशस्त्र युद्ध गरेका माओवादीहरु अहिले विभिन्न ५ टुक्रामा बिभाजित छन् । एमाओवादीबाट अलग्गिएर मोहन वैद्यले नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्दले नेकपा माओवादी, मात्रिका यादवले नेकपा (माओवादी) र मणि थापाले क्रान्तिकारी कम्युनिष्ट पार्टी गठन गरेका छन् । अनलाईनखबरबाट



















































