‘डढेलो भित्रका सतिसाल’मा गायक रामेश

rameshनयाँ बुलन्द

काठमाडौं : सामाजिक परिवर्तनका लागि प्रगतिशीलहरूको रचना गरेर समाजमा स्थापित भएका अग्रज कलाकार रामेश श्रेष्ठको जिवनीमाथि वृत्तचित्र बनेको छ । उनको गाउँगाउँबाट उठ, एक जुगमा एक दिन, एकचोटी आउँछ, आउ मिलाउ हाम्रा हातहरू, गाई त बाँध्यौ ढुग्र्रोमा मोई छैन, कोइ त भने जहाजमा हररलगायत चर्चित गीतका माध्यमबाट समाज रूपान्तरणको भूमिका खेलेको गायक रामेशमाथि ‘डढेलो भित्रका सतिसाल’ डुकुमेन्ट्री निर्माण गरिएको छ । सार्थक जनसंगीत प्रतिष्ठान, हङकङ हिमायतीद्वारा निर्मित डकुमेन्ट्रीलाई पत्रकार अनुशिल श्रेष्ठ र प्रणय लिम्बूले निर्देशन गरेका छन् ।

राजनीतिक आन्दोलन तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने जनसंगीतको इतिहासलाई नयाँ पिँढीमा उजागर गर्ने उद्देश्यले तयार पारिएको ९० मिनेट लामो डकुमेन्ट्रीमा रामेशलाई केन्द्रविन्दुमा राखेर रायन, मञ्जुल, जेबी टुहुरे, जीवन शर्मा, माहिँला लामा, आभास, अमृत गुरुङलगायत ४० कलाकार, गीतकार, संगीतकार, लेखक, विश्लेषक, नेताहरूको अनुभव समेटिएको छ । पञ्चायतकालमा नेपाली साहित्य र संगीतलाई नयाँ दिशा दिने ‘राल्फा’ समूह र पार्टीहरू भूमिगत रहेको समयमा जनता जगाउन देश यात्रामा हिँडेका रामेश–मञ्जुल तथा संकल्प अभियानको पाटोलाई उजागर गरिएको निर्देशक श्रेष्ठले बताए ।

बलिदान फिल्मका गायक, संगीतकार, पटकथा तथा संवाद लेखकसमेत रहेका ७२ वर्षीय रामेशका जनसंगीत, बालसंगीत तथा नारी जागरणका सयौँ गीतका गायक रामेशको जन्मदेखि पढाइ हुँदै जनसंगीत अभियानमा लागेका स्थानहरू पाल्पा, ओखलढुंगा, तेह्रथुम, धरान र काठमाडौंमा छायांकन गरिएको डकुमेन्ट्री फिल्म महोत्सव तथा विशेष प्रदर्शनीमा मात्र प्रदर्शन गरिने जनाइएको छ । साथै देश तथा विदेशमा च्यारिटी सो गरी संकलित रकम सार्थक जनसंगीत प्रतिष्ठानको कोषमा जम्मा गरी संगीतको संरक्षण र प्रर्वद्धनमा खर्च गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार