सिचाई योजना निर्माण हुने

नयाँ बुलन्द 

झापा : लामो प्रतिक्षा रहेका झापा गौरदाह गाविसका कृषकहरुलाई मध्यनजर गर्दै सो क्षेत्रमा सिचाई योजना निर्माण हुने भएको छ ।

नेपाल सरकार, सिचाई विभागको मझौला सिचाई आयोजना अन्तरगत पूर्वाञ्चल सिचाई विकास डिभिजिन नम्बर १ झापा र जल उपभोक्ता संस्थाले गौरदाह ३ स्थित किस्ने खोलामा बोध सिचाई योजना निर्माण गर्न लागेको हो । ९ सय ४८ हेक्टर जग्गामा १८ करोड लागतमा निर्माण हुन लागेको किस्ने खोला बोध सिचाई योजनाको आज एक कार्यक्रमका बिच शिलन्यास गरिएको छ । सभाषद दिपक कार्की र सिचाई मन्त्रालयका सचिव माधव रेग्मीले संयुक्त रुपमा उक्त सिचाई योजनाको शिलन्यास गरेका हुन ।

किस्ने खोला जल उपभोक्ता समितिका अध्यक्ष शर्मानन्द अधिकारीको सभापतित्व तथा सभाषद दिपक कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न शिलन्यास कार्यक्रममा सिचाई मन्त्रलायका सचिव माधव रेग्मी, सभाषद प्रेम गिरी, झापा प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल, समितिका सचिव युवराज गौत लगायतले बोलेका थिए । सो कार्यक्रममा राजनितिकदल, स्थानीयबासी, कृषकहरुको उल्लेखिय सहभागिता रहेको थियो ।

यता विगत ५ बर्ष देखि किस्ने खोला बोध सिचाई योजना निर्माण हुने/नहुने बिषयमा पूर्वाञ्चल सिचाई विकास डिभिजन नम्बर १ र स्थानीयबासीले मन्त्रालयमा पहल गरिरहेको अवस्थामा सिचाई मन्त्रलायले निर्माणका लागि बजेट निकासी गरेपछि पहिलो चरणको बजेटले सो सिचाई योजना निर्माण हुन लागेको जनाएको छ । यस सिचाई योजनाबाट गौरदाह वडा नम्बर ३,४,५,७,८र ९ का ९ सय ७० घरधुरीका ४ हजार ३ सय कृषक लाभाविन्त हुने छ ।

नेपाल सरकार र जनश्रमदानबाट निर्माण हुने यो योजनाको ठेक्का कनकाई इन्टरनेशनल बिल्डर्स प्रालि सुरुङ्गा झापाले लिएको र सो निर्माण कार्य ३ बर्ष भित्र सम्पन्न हुने पूर्वाञ्चल सिचाई विकास डिभिजिन नम्बर १ झापाका प्रमुख कुञ्जनभक्त श्रेष्ठले बताए । उनले किस्ने खोलाको मुल मुहारको हेड वक्र्सको लम्बाई ५०.१० मिटर, मुल नहरको लम्बाई ७.२५ किलोमिटर र शाखा नहरको संख्या ३ वटा जसको लम्बाई ८.२ किलोमिटर रहेको बताए । त्यस्तै उपभोक्ता समितिका अध्यक्ष शर्मानन्द अधिकारीले पहिला यसै नहरको भरमा कृषकहरु बोरिङ्गको माध्यमबाट खेतीपाती गर्दै आइरहेकोले भरपर्दौ सिचाई कृषकसंग नभएको बताए । अहिले यस सिचाई योजनाले यस क्षेत्रका कृषकहरु लाभाविन्त हुनुका साथै तीन देखि चार बाली सम्म कृषकहरु खेतीपाती गर्ने संभावना बढेको अधिकारीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार