‘छक्का पन्जा’ भदौमै

नयाँ बुलन्द

काठमाडौं : कुनै बेला थियो, फिल्म निर्माण गरिसकेपछि रिलिजका लागि क्युमा राख्नुपर्ने । पालो पर्खंदापर्खंदै दुई वर्षपछि बल्ल रिलिज मिति आउँथ्यो । तर अब समय र पद्धति फेरिएको छ । हिजोआज फिल्म निर्माण पक्ष रिलिज मिति निश्चित गरेर फ्लोरमा जान थालेका छन् । नभए सुटिङ सक्नेबित्तिकै रिलिजको मिति तोक्न हतारिन्छन् ।

सातामै दुईभन्दा बढी फिल्म प्रदर्शन हुँदा जुध्नुपर्ने अवस्था आएपछि पहिल्यै आफूले चाहेको मिति अग्रिम बुकिङ गरेर भिडन्तलाई टार्न खोजिएको हो । यस्तोमा फिल्म ‘छक्का पन्जा’ ले पनि छायांकन सकेलगत्तै भदौ २५ लाई रिलिज मिति पक्का गरेको छ ।

‘उक्त मितिमा अरू कुनै फिल्मले रिलिज घोषणा नगरेकोले उक्त खाली सातामा हामी फिल्म ल्याउने निश्चित गरेका हौं,’ फिल्मकी निर्देशक दीपाश्री निरौलाले भनिन् । दीपाश्रीले यसै फिल्मबाट निर्देशनमा हात हालेकाले पनि उनका लागि यसले खास महत्त्व राख्छ ।

दीपकराज गिरी र दीपाश्रीको मुख्य लगानी रहेको ‘छक्का पन्जा’ मा उनीहरू नै मुख्य भूमिकामा हुनेछन् । नायिका प्रियंका कार्की, शिवहरि पौडेल, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ लगायतको जम्बो टिमलाई पनि फिल्ममा देख्न सकिनेछ ।

हास्य टीभी सिरियल ‘तीतो सत्य’ बाट जमेको दीपा र दीपकको जोडीले बनाएको पहिलो फिल्म ‘छ एकान छ’ नै हिट भएपछि उनीहरू फिल्म क्षेत्रमै रमाइरहेका छन् । गत वर्ष पनि उनीहरूकै टिमले बनाएको फिल्म ‘वडा नम्बर छ’ व्यावसायिक सफलतापछि दीपाश्रीलाई आफ्नो निर्देशनको फिल्म ‘छक्का पन्जा’ बाट सफलतामा हयाट्रिक गर्ने चुनौती बढेको छ ।

यसअघि फिल्मलाई दसैंको छेकोमा रिलिज गर्ने अनौपचारिक मनस्थिति बनाएको निर्माण पक्षले वितरकसँगको छलफलपछि भदौमा नै रिलिज गर्नेमा भएको हो । बिदामा रहेका दर्शक लक्षित गरेर दसैंमा फिल्मको चर्को भिडन्त हुने देखिएपछि दीपक–दीपाको जोडीले तीजलगत्तै फिल्मलाई सोलो रिलिज गर्नुलाई बढी बुद्धिमानी ठानेको हो सायद । इकान्तिपुरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार