घरेलु तथा साना उद्योग प्रवद्र्धन गर्दै इलाम नगरपालिका !

निर्वाहमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाइने

  प्रकाश नेपाल
63 Shares

इलाम : पूर्वी नेपालको पहाडी जिल्ला इलाम जैविक विविधता, चियाबगान, र प्राकृतिक सौन्दर्यका लागि मात्र नभई पछिल्लो समय उद्यमशीलताको हबका रूपमा पनि परिचित बन्दै गएको छ । स्थानीय अर्थतन्त्रलाई सुदृढ पार्ने र नागरिकको जीवनस्तर उकास्ने उद्देश्य सहित सदरमुकाममा रहेको इलाम नगरपालिकाले घरेलु तथा साना उद्योग प्रवद्र्धनलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको छ । कृषि, पर्यटन र स्थानीय प्राकृतिक स्रोतमा आधारित सम्भावनाहरूलाई सदुपयोग गर्दै नगरपालिकाले परम्परागत निर्वाह मुखी अर्थतन्त्रलाई आधुनिक र उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण गर्ने कार्यलाई जोड दिएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय इलामको पछिल्लो तथ्याङ्क अनुसार इलाम नगरपालिका क्षेत्र भित्र मात्रै हालसम्म १ हजार ४ सय ३६ वटा उद्योगहरू दर्ता भएका छन् । यद्यपि, दर्ता भएका मध्ये केही उद्योगहरूको दर्ता खारेजी भइसकेको छ भने हाल करिब ६० प्रतिशत उद्योगहरू मात्र पूर्ण रूपमा सञ्चालनमा रहेका छन् । दर्ता भएका उद्योगहरू मध्ये अधिकांश कृषि र पशुपालनमा आधारित छन् । यस बाहेक यातायात सेवा, चियाप्रशोधन, सञ्चार सम्बन्धीकार्य, पर्यटनमूलक व्यवसाय, सिलाइ–कटाइ, घिउ–छुर्पी उत्पादन, सीपमूलक तालिम सञ्चालन, धागो उत्पादन तथा निर्माण सम्बन्धी उद्योगहरू नगर क्षेत्रमा क्रियाशील रहेका छन् ।
इलाम नगरपालिका क्षेत्रमा चिया, अदुवा, अलैंची, दुग्ध जन्यपदार्थ, हस्तकला तथा परम्परागत खाद्य उत्पादनमा आधारित साना उद्योगहरू लामो समयदेखि घरेलु रूपमा सञ्चालन हुँदै आएका थिए । तर, ती उद्योगहरू व्यावसायिक र प्रतिस्पर्धी हुन सकेका थिएनन् । पछिल्लो समय नगरपालिकाले यस्ता उद्योगहरूलाई थप व्यवस्थित, व्यावसायिक र दिगो बनाउन विशेष प्याकेजहरू ल्याएको छ, जसमा सीपमूलक तालिम, प्रविधि हस्तान्तरण, आर्थिक अनुदान र सहुलियतपूर्ण ऋणजस्ता कार्यक्रमहरू समावेश छन् ।
इलाम नगरपालिकाकी उपमेयर बिष्णु कुमारी लिम्बुका अनुसार घरेलु उद्योगको चौतर्फी विकासले स्थानीय युवाहरूलाई स्वरोजगार बनाउने र वैदेशिक रोजगारीमा रहेको ठूलो निर्भरतालाई क्रमशः घटाउने रणनीति नगरपालिकाले लिएको छ ।  “हाम्रो प्रमुख चुनौती भनेकै युवा जनशक्ति र पुँजी पलायन हुनु हो । हामीले स्थानीय स्तरमै पर्याप्त र मर्यादित रोजगारी सिर्जना नगरेसम्म नगरको विकास सम्भव छैन । त्यसका लागि घरेलु तथा साना उद्योग नै सबै भन्दा प्रभावकारी, कम लगानीमा बढी प्रतिफल दिने माध्यम हो,” उपमेयर लिम्बुले भनिन् ।
नगरपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रमहरूमा पनि लघु र साना उद्यमीहरूलाई प्रोत्साहन गर्ने नीतिलाई प्राथमिकताका साथ समावेश गर्दै आएको छ । नगरपालिकाले आर्थिक बर्ष ०८२÷०८३ मा उपप्रमुख उद्यमशीलता तथा स्वरोजगारी सिर्जना कार्यक्रम अन्तर्गत २० लाख विनियोजन गरिएकोमा मौरीपालन व्यवसाय सञ्चालनका लागि ५ जना, सिलाई व्यवसाय २ जना, गुँन्दुक प्रशोधन २ वटा समूह, नौमती बाजा १ समूह, पशुपालन र कृषि उत्पादन तथा बजारीकरण ३ वटा समूह, वासिङ्ग मेसिन तथा फ्रिज मर्मत १ वटा, ढाका कपडा सिलाई बुनाई २ वटा, डिजिटल मार्केटिङ १ वटा, कुटानी पिसानी १ वटा, वैकल्पिक ऊर्जा १, सिलाई कटाई १, ललिपप २ वटा, केराको दाम्चाबाट कपडा बनाउने १ र चिया प्रशोधन तथा बजारीकरण ४ वटा गरी कुल २७ वटा कार्यक्रम सञ्चालन गरेको थियो ।
विगत एक वर्षको अवधिमा इलाम नगरपालिकाले नगरबासीको आयआर्जन र क्षमता अभिवृद्धिका लागि व्यापक रूपमा विभिन्न सीपमूलक तालिमहरू समेत सञ्चालन गरेको छ । स्थानीय बजार र मागको पहिचान गरी नगरपालिकाले सिलाइ–कटाइ, परम्परागत ढाका बुनाइ, आधुनिक मौरीपालन, व्यावसायिक च्याउ खेती, कफी प्रशोधन तथा स्थानीय फलफूल ,कपाल काट्ने र तरकारीबाट अचार उत्पादन गर्ने सम्बन्धी व्यावहारिक तालिमहरू प्रदान गरेको हो ।
यी तालिमहरू केवल प्रमाणपत्र वितरणमा मात्र सीमित भएनन् । तालिमबाट दीक्षित भएका धेरै युवा तथा महिलाहरूले अहिले आफ्नै व्यक्तिगत व्यवसाय सुरु गरिसकेका छन् भने कतिपयले समूह र सहकारी मार्फत सामूहिक उद्योग सञ्चालन गरिरहेका छन् । यसले नगरमा उद्यमशीलताको एउटा नयाँ लहर ल्याएको छ । इलाम नगरपालिका वडा नं १२ साङरुम्बाकी उद्यमी सनिसा लिम्बू यसको एउटा जीवन्त उदाहरण हुन् । उनी भन्छिन “नगरपालिकाले दिएको ढाका बुनाइ सम्बन्धी उन्नत तालिम र सुरुवाती प्राविधिक सहयोगले हामीलाई व्यवसाय सुरु गर्ने ठूलो हौसला मिल्यो । अहिले व्यावसायिक रूपमा ढाकाका कपडाहरू उत्पादन गरेर बजारमा बिक्री गरिरहेको छु । यसबाट भएको आम्दानीले हाम्रो परिवारको दैनिक खर्च चलाउन मात्र होइन, जीवनस्तर सुधार्न समेत ठूलो मद्दत पुगेको छ ।”
यस्तै इलाम नगरपालिका वडा नम्बर ८ निवासी ज्ञानकुमारी पौडेललाई समेत इलाम नगरपालिकाले मौरी पालन व्यवसाय प्रवद्र्धनका लागि सहयोग प्रदान गरेको छ । उपप्रमुख उद्यमशीलता तथा स्वरोजगारी सिर्जना कार्यक्रम अन्तर्गत लागत साझेदारीमा नगरपालिकाले रु ५३ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको थियो । उक्त सहयोगबाट आवश्यक सामग्री खरिद गरेपछि आफ्नो व्यवसाय सञ्चालन गर्न सहज भएको व्यवसायी ज्ञानकुमारी पौडेलले बताएकी छन् । उनका अनुसार नगरपालिकाको सहयोगले मौरी पालन व्यवसायलाई थप विस्तार गर्न मद्दत पुगेको छ र हाल यो नै उनको मुख्य आम्दानीको स्रोत बनेको छ ।
पौडेलले नगरपालिकाबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेकी छन् । उनले मौरी पालन व्यवसायबाट घरखर्च चलाउन सहज भएको र भविष्यमा थप विस्तार गर्ने योजना रहेको बताइन् । हाल उनले उत्पादन गरेको मह स्थानीय बजारमै बिक्री भइरहेको छ भने बजारीकरणमा खासै समस्या नरहेको उनले जानकारी दिइन् । गुणस्तर अनुसार महको मूल्य प्रतिकिलो करिब १८ सय देखि २५ सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ । यद्यपि, उत्पादनलाई थप ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सकिने सम्भावना रहेको उनले औँल्याउँदै यसतर्फ नगरपालिका तथा सम्बन्धित निकायले ध्यान दिनुपर्ने सुझाव पनि दिएकी छन ्।
तर साना उद्यमीहरूका लागि सबै भन्दा ठूलो चुनौती लगानीको अभाव र उत्पादित सामग्रीको बजार व्यवस्थापन हुनु हो ।  यस समस्यालाई सम्बोधन गर्न इलाम नगरपालिकाले स्थानीय सहकारी संस्थाहरू सँगको सहकार्यमा साना उद्यमीहरूलाई बिनाधितो वा सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाएको छ । यसले गर्दा पुँजीको अभावमा सोच भएर पनि काम गर्न नसकेका उद्यमीहरूलाई ठूलो राहत मिलेको छ ।
यसका साथै, उत्पादित वस्तुहरूको बजार सुनिश्चितताका लागि नगरपालिकाले स्थानीय उत्पादनको ब्रान्डिङ गर्ने कार्यमा विशेष जोड दिएको छ । इलामको ‘लोकल’ पहिचान बोकेका उत्पादनहरू जस्तै मह, छुर्पी, ललिपप, ढाकाका कपडा, र अर्गानिक चियालाई एकीकृत ब्रान्डिङ गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने प्रयास भइरहेको छ । विभिन्न प्रादेशिक तथा राष्ट्रिय स्तरका मेला महोत्सव, व्यापार मेला र प्रदर्शनीहरूमा इलामका उद्यमीहरूलाई स्टल उपलब्ध गराई उनीहरूको उत्पादनलाई देशव्यापी रूपमा चिनाउने काममा नगरपालिकाले संयोजनकारी भूमिका खेलिरहेको छ ।
घरेलु उद्योगको क्षेत्रमा सकारात्मक प्रयास र उत्साहजनक नतिजाहरू देखिएता पनि यस क्षेत्रमा अझै कयौँ चुनौतीहरू र सीमाहरू विद्यमान छन् । इलामका साना उद्यमीहरूले अझै पनि समस्याहरू भोगिरहेका छन । मौसम परिवर्तन र ढुवानीका कारण कतिपय उद्योगहरूले समयमै र सस्तो मूल्यमा कच्चापदार्थ पाउन सकेका छैनन् भने उत्पादन गरिएका सामानहरूले उचित मूल्य नपाउने गरेका छन् । यस्तै पुराना र परम्परागत प्रविधिको प्रयोगका कारण उत्पादन प्रक्रिया ढिलो र खर्चिलो हुने गरेको छ ।
आधुनिक मेशिनरीको अभाव र महँगो ढुवानीका कारण छिमेकी मुलुक वा ठूला उद्योगबाट उत्पादित सामग्रीहरूसँग प्रतिस्पर्धा गर्न गाह्रो भइरहेको छ । विशेष गरी इलाम नगरपालिकाका ग्रामीण र दुर्गम वडाहरूमा उत्पादित कृषि तथा पशुजन्य सामग्रीहरूलाई सदरमुकाम वा मुख्य राजमार्गसम्म ल्याउन सडक र यातायात पूर्वाधारको पनि समस्या रहेको छ ।
विद्यमान चुनौतीहरूलाई चिर्दै दिगो आर्थिक विकास हासिल गर्न इलाम नगरपालिकाले आगामी दिनका लागि दीर्घकालीन योजनाहरू अगाडि सारेको छ । जसमध्ये सबैभन्दा महत्त्वपूर्ण र प्रभावकारी मानिएको योजना हो— “एक वडा, एक उत्पादन” कार्यक्रम । यस कार्यक्रम अन्तर्गत नगरपालिका भित्रका प्रत्येक वडाको माटो, हावापानी र स्थानीय सम्भावनाको अध्ययन गरी प्रत्येक वडालाई एउटा विशिष्ट उत्पादनको हबका रूपमा विकास गरिने योजना रहेको समेत उपमेयर लिम्बुले बताइन । यसरी उत्पादित विशिष्ट वस्तुहरूलाई नगरपालिकाले आफैँ संकलन, भण्डारण, प्याकेजिङ र ब्रान्डिङ गरी देश तथा विदेशका ठूला बजारहरू सम्म पु¥याउने लक्ष्य राखेको उनले बताइन  । यसबाट ढुवानी लागत घट्ने र उत्पादनको परिमाण बढ्ने अपेक्षा गरिएको छ ।
नेपाल जस्तो विकासोन्मुख र भौगोलिक रूपमा विविधता युक्त देशमा ठूला उद्योगहरू भन्दा घरेलु तथा सानाउद्योगहरू नै आर्थिक रूपान्तरणका मुख्य संवाहक हुन् । यस्ता उद्योगहरूले स्थानीय स्तरमै उपलब्ध श्रम, सीप र कच्चा पदार्थको अधिकतम उपयोग गर्ने हुनाले यसबाट हुने नाफा सिधै तल्लो तहका नागरिकको हातमा पुग्दछ ।  यसले स्थानीय स्तरमा द्रुत आयआर्जन, ठूलो संख्यामा रोजगारी सिर्जना र अन्ततः गरिबी न्यूनीकरणमा सबै भन्दा महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ । त्यसैले इलाम नगरपालिकाले चालेको यो कदम समग्र नगर र देशकै आर्थिक विकासका लागि एउटा उदाहरणीय मार्ग चित्र बन्न सक्छ ।
इलाम नगरपालिकाले घरेलु तथा साना उद्योगको क्षेत्रमा थालेका नवीन पहलहरूले स्थानीय उत्पादन बढाउन, युवाहरूलाई आफ्नै गाउँघरमा अवसरहरू सिर्जना गर्न र परनिर्भरता तोडेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दिशामा अत्यन्तै सकारात्मक र आशालाग्दो संकेत देखाएका छन् ।  हाल सञ्चालनमा रहेका ६० प्रतिशत उद्योगहरूलाई सत्प्रतिशतमा पु¥याउने र दर्ता खारेज भएका वा सुस्ताएका उद्योगहरूलाई पुनर्जीवित गर्ने दायित्व अब नगरपालिकाको काँधमा छ । यदि घोषित नीति र “एक वडा, एक उत्पादन” जस्ता कार्यक्रमहरूलाई प्रभावकारी रूपमा तल्लो तहसम्म कार्यान्वयन गर्न सकिएमा, इलाम नगरपालिका आगामी दिनमा नेपालभरि कै लागि उत्पादन, उद्यमशीलता र स्वावलम्बनको एउटा उत्कृष्ट ‘नमूनानगर’ का रूपमा स्थापित हुने कुरामा कुनै शङ्का छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार