
पाँचथरको पूर्वी भेगमा पर्ने फालेलुङ् डाँडा असाध्यै मनमोहक लाग्छ मलाई । यहाँको इतिहास, मुन्धुम् र किंवदन्तीहरुले हरहमेशा तानिरहन्छ मेरो मन । यो डाँडालाई भारापाको शिरदेखि हेर्दा मैमत्त साँढे गोरु होक्राँ खेलिरहेको जस्तो देख्छु । त्यहाँका अग्ला–अग्ला देउरालीडाँडा र थुम्काथुम्कीहरु नियाल्दा सलक्क परेको लाहुरी भैंसीको काँध, ढाँड र पुच्छर जस्तो लाग्छ । शायद यो कुरा मेरो भ्रामक दृश्यबिम्ब मात्रै पनि हुनसक्छ । जे होस् फालेलुङ् मेरो प्रिय पहाड हो । आफैमा एउटा मार्मिक विम्ब हो । यहाँ धेरै पहिलेदेखि नै भाषा, साहित्य, कला र संस्कृतिको कुनै न कुनै जोजनमा पटकपटक पुगिसकेको छु । यसपटक पनि फेरि फालेलुङ् जाने सौभाग्य जुरेको छ । म त्यसैत्यसै हर्षले मात्तिएको छु । मेरो खुट्टाहरु बेस्सरी चिलचिलाउन थालिसकेका छन् ।
आज २०८२ चैत्र २७ गतेको दिन फेदेनमाथिको गगन त्यति उघ्रिएको छैन । आकाशमा बादलको पर्दाले घामका किरणहरु छेकिएका छन् । माथि सिलौटी र लब्रेकुटी डाँडाहरु भुइँकुहिरोले छोपिएर गजधम्म बसेका छन् । सदाझैं फेदेन बजारको कोलाहल भने सुरु भइसकेको छ । सडकमा स्कुल जाने विधार्थीहरु कमिलाका ताँती जस्तै देखिन्छन् । म पनि आफ्नो झोलामा दुइचारवटा पुस्तकहरु खाँदेर निस्कन्छु । साथीहरु अघि नै बाटिका होटलमा कस्सिएर पर्खिबसेका छन् । जन्मथलो नेपाल भए पनि कर्मथलो बेलायत बनाएर नेपाली भाषा, साहित्य र समाजसेवामा सक्रिया शान्ति लिम्बू, धरानका पत्रकार तथा साहित्यकार प्रदीप मेन्याङ्बो, पत्रकार नवराज विष्ट लगायतका पाहुनाहरु फेदेन आइपुगेका छन् । हामी चियाको चुस्कीसँगै एकछिन साहित्यको रसास्वादन गर्छोँ । यतिकैमा शान्ति लिम्बुले उनको उपन्यास मिलिजुली उपहार भनेर मलाइ अर्पण गरिन् । समय निकै घर्किसकेको थियो । म र सूर्यबहादुर योङ्हाङ् मोटसाइकलमा चढ्यौँ । पाहुना टोलिलाई गाइड गर्दे मनेश आङ्बोको टिम चारपाङ्ग्रे गाडिमा अगाडि–अगाडि लाग्यो । सगरमाथा अर्गानिक चिया कोसेली घरमा फालेलुङ् विदत् सभाका अध्यक्ष सुरेन ‘शिशिर’ केरुङ हाम्रो व्यग्र प्रतीक्षामा बसेको रहेछ । हामी विस्तारै–विस्तारै साब्राङ्को ओरालो घुम्ति र कुइनेटाहरु पार गर्दे अगाडि बढ्यौँ । लामो समयपछि अघिल्लो रात मात्रै ठूलो वर्षा भएको थियो । खडेरिले महिनौंसम्म तिर्खाएका बोटविरुवाहरुले भर्खर मात्रै प्यास मेट्न पाएर खुसीले उभिएका थिए । बाटाका दायाँबायाँ पोथ्रा र बुट्यानहरु रातभरी नुहाएर स्निग्ध, सफासुग्घर भएर बसेका देखिन्थे । एकैछिनमा हेंवाखोला तरेर नांगीनको तेर्पे–तेर्पे उकालो लाग्यौँ । बाटोमाथिका थुम्काथुम्कीहरुमा राताम्मे गुराँस फुलेको थियो । बाटोमुनि उभिएका असरल्ल उतिसका हाँगाहरुमा भर्खर पालुवा पलाउँदै गरेको दृश्य देखियो । आहा ! तिनै रुखका हाँगाहाँगामा उन्मुक्त खेलिरहेका छन् छिर्केमिर्के कलरका चराचुरुङ्गीहरु । शायद, तिनीहरु आफ्नै संसारमा पालाम् गाइरहेका छन् ।
एकादशी बजारको घुम्तीमा मोडिएर जरिङ्गेमा पुग्यौँ । बाटाको छेउमा रहेको जरिङ्गे मन्दिर नेपाली साहित्यको लागि अत्यन्तै पवित्र स्थल हो । नेपाली कविता–काव्यको इतिहासमा प्राथमिककाल अन्तर्गत पर्ने निर्गुण भक्तिधाराका सन्त कवि ज्ञानदिलदासका शिष्य श्यामदिलदासले यस कुटिमा बसेर सवाइ लेखेका थिए । यसका बारेमा जनकलाल शर्माले जोसमनि सन्त परम्परा र साहित्य नामक पुस्तकमा उल्लेख गरिसकेका छन् । त्यसैगरी डा. देवी क्षेत्री दुलालले पनि पाँचथरको इतिहास नामक पुस्तकमा पनि उल्लेख गरेका छन् । यि द्घय लेखकहरुले श्यामदिलदासलाई ब्राह्मण वंशका भनेपनि उनी गुरुङ् वंशका थिए । सूर्य, म र सुरेन ‘शिशिर’ केरुङ्ले ज्ञानदिलदास र श्यामदिलदासको बारेमा चर्चा गर्दे आकाशेको सेवारो होटलमा बिसाउन पुग्यौँ । होटलकै काउन्टरमा भाउजू हलो स्टाइलले सुतिरहनुभएको थियो । भाउजूलाई झक्झकाएर उठायौँ । जाडो निक्कै बढिसकेको थियो । साथीहरुले चिया पिउन थाले । म सुटुक्कै भित्र छिरेर स्थानिय उत्पादनको एकगिलास भित्रि कोट लगाएँ । आगनमा फुलेका रङ्गिबिरङ्गी फूलहरु टिपिहालुँझैं लाग्ने कति मनोहारी थिए । छेउको डिलमा कल्कीका थुङ्गाहरु कस्तो मज्जाले बतासको तालमा नाचिरहेका देखिन्थे । माथि छिन्तापुका डाँडाडाँडामा बादलका टुक्राहरु पूर्वतिर बसाइँहिंडिरहेको थियो । चिसो बतासले हाम्रा गालामा चुम्बन गरेर भागिरहेथ्यो । भूपी शेरचनले मेरो देश कवितामा भनेझैं भन्ज्याङ्मा रोकेर हिमालले पंखा हम्काइरहेको थियो ।
वरपर टहलिदै मैले आकाशेको डाँडामा उभिएर एकतिन जोरपाटी, प्राङ्बुङ्, ताङ्लेक्पा माथि माथिसम्म नजर लगाएँ र यहाँ जन्मिएका प्रतिभाहरुको नाम एकामुष्ट सम्झें । बृजहाङपति जबेगू, राजेन्द्र कुमार जबेगू, नरेन्द्रकुमार केरुङ, श्रीप्रसाद जबेगू, नरेन्द्रराज केरुङ, पुष्पहाङ लोवा, सुरेन ‘शिशिर’ केरुङ, सन्दिप झझल्को, विरेन्द्र थोक्लिहाङ, मदन मूच्र्छना, पूर्ण परिचित, भगिराज राई, गणेश हाङ्सेम, कुबेर मृृदुल, सुनिल आङ्बो, दौतरी सुब्बा, बिक्रम पारखी, डिल्ली आञ्जुम, ताराप्रकाश लिम्बू, सुजन आङ्बो, नुनाम केरुङ, सुनिता सुब्बा, चन्द्र माङ्मु, लक्ष्मी गौतम, विवश बेनाम, भीम बाँस्कोटा, राजेन्द्र केरुङ, लिलाप्रकाश जबेगू, केशव जबेगू, मीरा जबेगू, रोहित आङबो, चन्द्रकला अधिकारी, रजनी हाङ्सरुम्बा, सिर्जना जबेगू, ललिता ठटाल, धनी ग्याङ्मी, उपेन्द्र एक्तेन, विरेन्द्र थाम्सुहाङ, मीना रिजाल, मनकुमार राई, मचिन्द्र लोवा, अमृता जबेगू, दिपसन आङ्बो र बिबि सुब्बाहरुले यस माटोका निम्ति केही न केही गरिरहेका छन् । उनीहरुलाई सम्झेर रोमाञ्चित भइरहेको थिएँ । उतिबेला नै हाम्रा गाडिका साथीहरु आइपुगे । हामी त्यहाँबाट पूर्व लाग्यौँ । उबटखाबट बाटाहरु पार गर्दे बिहिदिन पुग्यौँ । हाम्रा अगाडि हिंडेका सुरेन ‘शिशिर’ केरुङ बगलेबाटो लागेछन् । हामी दुईजना बिहिदिन ओरालो हान्नियौँ । ओरालोको चिप्लेटी बाटोमा थामिदै थामिदै बल्लैले सुरेन ‘शिशिर’को घरमा बिसायौँ । घरका दैलोमा चाबी मारिएको थियो । सुरेन अझै आइपुगेको रहेनछ । हेलो…हेलो भनेर बोलायौँ कोही पनि थिएनन् । बाटोमाथिको केराका पातहरुले मात्रै कोही छैनन् भनेर हात हल्लाइरहेका थिए । आगनको वरपर कोही छन् कि भनेर हे¥यौँ । मास्तिर बारीमा केटाकेटी सुन्तलाका बोटहरु मात्रै हामिलाई छक्क परेर हेरिरहेका थिए । बारीको हरियो पोथ्रामा कति राम्रो लामपुच्छ«े चरा चरिरहेको रहेछ । हाम्रो आवाज सुनेर भुर्रर्र उडेर गयो । शायद हामीले गरिखान दिएनौँ । बेक्कारमा उसको स्वतन्त्रतामाथि हस्तक्षेप गरिदियौँ । घरमुनिको खोरमा निदाइरहेका दुईतिनवटा निख्खुर काला सुँगुरहरु पनि हाम्रो आवाजलाई सुनेर व्यँुझिए । तिनीहरुले पनि हामीलाई अंग्रेजीमा ‘नो’ ‘नो’ भनिरहेका थिए । यो घर ज्यादै ऐतिहासिक हो भन्ने लाग्छ । पटकपटक प्रधानपञ्च र गा.वि.स. अध्यक्ष भइसकेका स्व. देउमान केरुङको घर हो । उनको जेठा सुपुत्र नरेन्द्रकुमार केरुङ अहिले प्रतिनिधिसभाका माननीय सदस्य भएका छन् । पाँचथरको भाषा, साहित्य, शिक्षा, संस्कृति र राजनैतिक क्षेत्रमा नरेन्द्रकुमार केरुङ्को उल्लेखनीय योगदान छ । माइलो छोरा सुरेन ‘शिशिर’ केरुङ फालेलुङ् विदत् सभाका अध्यक्ष लगायत धेरैवटा संस्थाहरुमा नेतृत्व गरिरहेका छन् । यतिकै सुरेन ‘शिशिर’ आइपुग्यो । हामी गप्फिदै गर्दा वडाध्यक्ष टेकबहादुर केरुङ पनि आइपुग्यो । उता कार्यक्रम स्थलबाट सुनिल आङ्बोले बारबार फोन गरेर छिटो आउनु भन्ने खबर गरेको हुनाले हाम्रो रमाइलो कथाको मुन्टा चुँडालेर कार्यक्रमतिर हान्नियौँ ।
हामी कार्यक्रमस्थलमा पुग्दा भर्खरै औपचारिक कार्यक्रम प्रारम्भ हुँदै थियो । कार्यक्रम पापुङदेन आधारभूत विद्यालयको प्राङ्गणमा रहेछ । कार्यक्रमको अध्यक्षता त्यहाँका अग्रणी व्यक्तित्व तेजबहादुर आङ्बोले गरिरहेका थिए । प्रमुख अतिथिमा शान्ति लिम्बू बिराजमान थिए र बिरामी माइक्रोफोन समातेर सुनिल आङ्बोले कार्यक्रम सञ्चालन गरिरहेका थिए । हामी पुग्नसाथ अतिथि आसनग्रहण गराएर देब्रे छातीमा सिलामसाक्मा टाँसिदिए । लालिगुराँसको फूल र पातहरु गुथेर कति सुन्दर माला पहिरिदिए । कार्यक्रममा स्थानीय तहका विशिष्ट व्यक्तिहरुको बाक्लो उपस्थिति थियो । त्यहीं विद्यालयका प्रधानाध्यापक कमलकुमार राई, गुरुआमाहरु : अस्मिता थोक्लिहाङ, कमला बाँस्कोटा, रेणुका चेम्जोङ, पुष्पा राई र गुरुबा उपेन्द्र श्रेष्ठ लगायतका शिक्षक शिक्षिकाहरु सक्रिय रुपमा काम गरिरहेका थिए । कार्यक्रम निरन्तर रुपमा अगाडि बढ्यो । विभिन्न सांस्कृतिक नृत्य, लोकनृत्य र आधुनिक नृत्यहरु प्रस्तुत भए । बिचबिचमा शुभकामना मन्तव्यहरु मिसाइएकाले कार्यक्रम एकदम आकर्षक र मनोरञ्जनपूर्ण भयो ।
स्टेजको पछाडिपट्टि ठूलो ब्यानरमा पुस्तकालय तथा चर्पी उद्घाटन लेखिएको थियो । यस कार्यक्रमको मूल विषय नै यहीँ थियो । पाँचथर यु.के. समाजकी निवर्तमान उपाध्यक्ष शान्ति लिम्बुको सक्रियतामा आर्थिक सङ्कलन गरेर पापुङदेन आ.वि.मा पुस्तकालय र चर्पी निर्माण गरिएको रहेछ । कार्यक्रमकी प्रमुख अतिथि शान्ति लिम्बुको हातबाट पुस्तकालयको समुद्घाटन भयो । पुस्तकालयमा करिब एकसय थानजत्ति विभिन्न विधाका पुस्तकहरु रहेछन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाका कविताकाव्य र महाकाव्यहरु, गुरुप्रसाद मैनालीका कथाहरु, विश्वेश्वरप्रसाद कोइरालाका उपन्याहरु, रविन्द्रनाथ टेगरको ‘गीताञ्जली’, ‘मोतीराम भट्टको जीवनी’, ‘चिनियाँ साहित्यको दिग्दर्शन’, फ्रान्सिस काफ्काको ‘मेटामोर्फोसिस’ हेलेन केलर लगायतका स्वदेशी तथा विदेशी निक्कै धेरै लेखकहरुका पुस्तहरु रहेछन् । मैले केही समय पुस्तकालयमा भिजिट गरें र यति सुन्दर कर्म भएकोमा मनमनै अधिक मखलेल भएँ । कार्यक्रम निरन्तर अगाडि बढिरहेको थियो । यस संस्थाले नै त्यस विद्यालयका विधार्थीहरुलाई एकएक थान कपडा पनि वितरण ग¥यो । केटाकेटीहरु खुसीले कोपिला फूलहरु जस्तै मुस्कुराइरहेका देखिन्थे । यस कार्यक्रमको सुखद अवसरमा शान्ति लिम्बू सम्मानित भए । श्री पापुङदेन आ.वि.का पूर्व वि.व्या.स. अध्यक्षहरु दिलबहादुर आङ्बो, शेरबहादुर लाओती, सन्तबहादुर आङ्बो, मनराज आङ्बो, मंगलसिंह आङ्बो लगायतका विशिष्ट व्यक्तिहरु सम्मानित भए । वडाध्यक्ष टेकबहादुर केरुङ, फालेलुङ विदत् सभाका अध्यक्ष सुरेन ‘शिशिर’ केरुङ, अध्येता एवं चिन्तक सूर्यबहादुर योङहाङ लगायतले अत्यन्तै सारभूत मन्तव्य राखे ।
दिन ढल्किदै जाँदा पन्यालो घाम पोतिन थाल्यो । वास्तवमै भन्ने हो भने म त्यस दिन असाध्यै खुसी थिएँ । सधैको कार्यक्रमहरुभन्दा यसपालीको धेरै पृथक थियो । यस्ता ज्ञान र चेतनासँग सम्बन्धित कार्यहरु आफैमा असमान्य सोचको उपज हो । अहिलेको पुस्तामा पठन संस्कृति हराउँदै गएको छ । यसप्रकारको कार्यबाट युवाहरुलाई जागृत गराउन सकियो र शिक्षाको बाटोमा डोहो¥याउन सकियो भने योभन्दा ठूलो उपलब्धि केही पनि हुन सक्दैन । महान बैज्ञानिक अल्बर्ट आइस्टाइनले “जो पढ्न छोड्छ ऊ मर्दे जान्छ भनेका छन् ।” फान्सिस बेकनले “ज्ञान नै शक्ति हो भनेका छन् ।” मानिसको सबैभन्दा ठूलो शक्ति ज्ञान हो । ज्ञान प्रयोग, सङ्घर्ष, अभ्यास र अध्ययनबाट मात्रै प्राप्त गर्न सकिन्छ । त्यस्तै भागवत गीताले पनि “ज्ञानभन्दा पबित्र बस्तु केही छैन” भन्छ । मुन्धुमले पनि सक्सक्किलरक् मुक्साम तारु अर्थात “ज्ञानले मात्रै शक्ति ल्याउँछ” भन्छ । संसारको इतिहासमा जोहरुसँग ज्ञान थियो उनीहरु नै बलिया दरिएका छन् । कार्लकाक्स, फे्रडरिक एङ्गेल्स, अगस्ट कम्ते, न्युटन, ओशो रजनिश, ग्याग्ने, रुसो, देवकोटा, वि.पी. इमानसिंह चेम्जोङ, बैरागी काइँला जो जो भएपनि अध्ययन र चिन्तनले नै चम्किएका हुन् । आजको दिनमा पनि एलोनमक्स, विलगेट्स, मार्कजुकरबर्ग, सिजिनपिङहरुले नै चमत्कार गरेका छन् । यसको यसको प्रमुख कारण नै उनीहरुको गहिरो अध्ययन र चिन्तन हो । उनीहरुको ज्ञानप्रतिको अतिशय लगाव देखेर आश्चार्यचकित हुन्छु । मलाई विश्वास छ अब यहाँका मित्रहरु रक्सि पिउन मधुशाला होइन पुस्तक पढ्न पुस्तकालय छिर्नेछन् । यस्तो सुन्दर कार्यको लागि युवा नेता मनेश आङ्बो र शान्ति लिम्बुलाई धेरैधेरै नोगेन् भनेर मैले आफ्नो सम्भाषणको बिट मार्दे गर्दा माथि डाँडामा घाम अस्ताउन एकजुवा मात्रै बाँकी थियो । त्यसपछि शान्ती लिम्बुको प्रमुख अतिथिको मन्तव्यले सबैलाई मन्त्रमुग्ध बनायो । वास्तवमा भन्ने हो भने शान्ति लिम्बु नेपाली समाजको उज्यालो तारा हुन् । कार्यक्रमका सभाध्यक्ष तेजबहादुर आङ्बोले आफ्ना गहकिलो मन्तव्यकासाथ औपचारिक कार्यक्रमको समापन गरे । जे होस् फालेलुङ्मा एउटा सुन्दर अघट घटना भयो । एउटा स्वर्णिम इतिहासको शुभारम्भ भयो ।
फर्किने समय भइसकेको थियो । आयोजकले प्रधानाध्यापक कमलकुमार राईको घरमा मेजमानको व्यवस्था गरेका रहेछन् । सुँगुरको मासु र चिउरा मिसाएर अजीर्ण हुनेगरी खाएँ । घाँटीमा अड्कन खोज्दा बियर भिजाउँदै निले । जे होस् “भुँडी अघायो सूर्ता हरायो ।” अँध्यारोले विशाल साम्राज्य फैलाउँदै आइरहेको थियो । हामीलाई निल्न मुख बाउँदै गर्दा हाम्रो बाटो पछ्याउँदै फेदेन फर्कियौँ ।
फालेलुङ् गाउँपालिकालाई बुझ्न बेलायती रेजिडेन्ट हड्सनको हड्सन पाण्डुलिपि र मानवशास्त्री दिलबिक्रम आङ्देम्बेकृत फालेलुङ गाउँपालिकाभित्रका स्थाननामहरु नामक पुस्तक र अन्य वंशावलीहरुको अध्ययन गर्नु आवश्यक छ । यहाँको संस्कृति बुझियो भने मात्रै सबैकुरा बुझ्न सकिन्छ भन्ने लाग्छ । सेवारो


















































