गौतम बुद्ध सामुदायिक खेलमैदान भाजिमानडाँडामा भलिबल प्रतियोगितासहित सोनाम ल्होछार मनाइयो

  युद्धबहादुर बोहोरा
70 Shares

इलामः मञ्जुश्री संवत् २८६२ औँ सोनाम ल्होछारको अवसरमा  फाकफोकथुम २ धार्नेखोपस्थित भाजिमानडाँडाको गौतम बुद्ध सामुदायिक खेलमैदानमा भलिबल प्रतियोगिता सम्पन्न भएको छ । अमर जगत लोकमणि नेपाली संस्कार पर्यटन विकास केन्द्रको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम भव्य र सफल रूपमा सोमबार सम्पन्न भएको हो। तीन दिनसम्म (माघ ३ देखि ५ गतेसम्म) सञ्चालन भएको प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको थियो। फाइनल खेल पिवाइसी फाक्तेप र मिक्लाजुङ ३ आरुबोटेबीच सम्पन्न भएको थियो। बेस्ट अफ फाइभ प्रणालीअन्तर्गत भएको प्रतिस्पर्धामा दुवै टोलीले २–२ सेट बराबरी खेलेपछि निर्णायक सेटमा मिक्लाजुङ–३ आरुबोटेले १५–१३ को साँघुरो अन्तरमा विजय हाँसिल गर्दै उपाधि जित्न सफल भयो।

कार्यक्रमको समापन समारोह आयोजक समिति अध्यक्ष खड्गप्रसाद तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो। समापन कार्यक्रममा फाकफोकथुम २ का वडाध्यक्ष यामबहादुर खत्री प्रमुख अतिथि,विशेष अतिथि वडासदस्य डम्बरबहादुर निरौला, विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन संस्थाका सचिव श्यामबहादुर थिङले गरेका थिए भने स्वागत मन्तव्य याम तामाङ, मनकुमार तामाङ लगायतले शुभकामना मन्तव्य राखे। प्रतियोगितामा प्रथम हुने टोलीलाई अतिथिको हातबाट नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने दोस्रो हुने टोलीलाई नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

आयोजक संस्थाले गौतम बुद्ध सामुदायिक खेलमैदान निर्माणका लागि हालसम्म करिब २२ रोपनी पाँच आना जग्गा संस्थाको नाममा आधिकारिक रूपमा दर्ता गरिसकेको जानकारी दिएको छ। अध्यक्ष खड्गप्रसाद तामाङले व्यक्तिगत रूपमा ५ रोपनी २ आना जग्गा खरिद गरी संस्थालाई निःशुल्क प्रदान गरेको जनाइएको छ । यसैगरी मनी बहादुर तामाङ, स्व. लोक बहादुर तामाङको परिवारबाट ९ रोपनी ३ आना तथा जगत बहादुर तामाङबाट ५ रोपनी जग्गा निःशुल्क प्राप्त भएको आयोजक समितिले जनाएको छ। खेलमैदान निर्माणका लागि प्रदेश सरकारबाट ४ लाख रुपैयाँ सहयोग प्राप्त भएको र स्थानीय सहयोगी महेन्द्र तामाङ ‘झाँक्री साइला’बाट १ लाख रुपैयाँ सहयोग प्राप्त भएको जानकारी दिँदै उहाँलाई विशेष सम्मान गरिएको थियो। साथै कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने समाजसेवी तथा सफल व्यवसायी गौरव राईलाई पनि सम्मान गरिएको थियो।

   

आयोजक समितिका अनुसार अन्य १८ जना दाताबाट १ लाख ५० हजार पाँच रुपैयाँ, प्रदेश सरकारबाट ४ लाख रुपैयाँ गरी जम्मा ५ लाख ५० हजार ५०० रुपैयाँ संकलन भएको छ। साथै ९६ हजार रुपैयाँ बराबरको श्रमदानसमेत गरिएको छ। हालसम्म कुल ६ लाख ४६ हजार ५०० रुपैयाँ बराबरको काम सम्पन्न भइसकेको जानकारी दिइएको छ।

विगत वर्षदेखि मनाउँदै आएको सोनाम ल्होछार पर्वमा यस वर्षदेखि खेलमैदान सञ्चालनसँगै खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू औपचारिक रूपमा सुरु गरिएको आयोजक समितिले जनाएको छ। यद्यपि खेलमैदान पूर्ण रूपमा व्यवस्थित हुन अझै बाँकी रहेको जनाउँदै सडक व्यवस्थापन, खानेपानी, शौचालय, कार्यक्रम स्टेज, कार्यालय भवन, सभाहल, विद्युत् तथा स्थानीय समुदायको धार्मिक आस्थासँग जोडिएको गुम्बा र मन्दिर निर्माणका लागि थप बजेट आवश्यक रहेको बताइएको छ।

अध्यक्ष  तामाङका अनुसार भविष्यमा यस खेलमैदानलाई क्षेत्रीय रंगशालाको रूपमा विकास गर्ने दीर्घकालीन योजना रहेको छ। संस्थाको नेतृत्वमा पर्यटन प्रवर्द्धन, रैथाने खेतीबाली तथा वन्यजन्तु संरक्षण, स्थानीय खानाका परिकार महोत्सव, परम्परागत रीतिरिवाज, बाजागाजा संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यका साथ विविध कार्यक्रम सञ्चालन गर्दै पर्यटन प्रवर्धनमा  महत्वपूर्ण भूमिका खेल्ने संस्थाको मुख्य उदेश्य रहेको जानकारी पनि दिइएको छ। आयोजक समितिले आगामी दिनमा समेत यस्ता सामाजिक, सांस्कृतिक तथा खेलकुद गतिविधिहरू निरन्तर सञ्चालन गर्दै जाने र सबै जातजाति तथा धर्मावलम्बीहरूको संस्कार संरक्षण र संवर्द्धनका लागि सबैको सहयोग अपेक्षा गरेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार