कन्यामको मायाजाल : डाँडै ढाक्ने चिया, मुसुक्क मुस्कुराउने कञ्चनजंघा !

इलाम । पूर्वी इलामको सूर्योदय नगरपालिकामा अवस्थित कन्याम, प्राकृतिक सौन्दर्यताको त्यो अनुपम उपहार हो, जसले हरेक आगन्तुकको मन लोभ्याउँछ । नागबेली सडक, डाँडै ढाक्ने चिया बगान, अनि बाह्रै महिनाको चिसो हावापानी-कन्याम आज नेपालकै एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा उदाएको छ ।

पछिल्लो समय निकै लोकप्रिय बनेको कन्याम, मेची राजमार्गको पहुँचमा रहेकाले यहाँ पुग्न अत्यन्तै सहज छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको झापाको चारआलीबाट देब्रे मोडिएर करिब एक घण्टाको उकालो यात्रापछि कन्याम पुग्न सकिन्छ । चारआलीबाट उकालो लाग्दै गर्दा प्राकृतिक सुन्दरतामा हराउँदै घुमेको सडकमा गरिने यात्रा आफैँमा एक अविस्मरणीय अनुभव हो ।

इलाम सदरमुकामबाट करिब १ घण्टा र पशुपतिनगर बजारबाट फिक्कल हुँदै देब्रे मोडिएर १० मिनेटको यात्रामा पनि यो आकर्षक गन्तव्यमा पुग्न सकिन्छ । कुनै समय “हुरहुरे कमान” नामले चिनिने यो स्थान अहिले बाह्रै महिना पर्यटकको भीडले खचाखच रहने गरेको छ ।

तराईतिर गर्मी बढ्दा शीतल छहारी खोज्दै इलाम आउने पर्यटकहरूका लागि कन्याम एक उत्कृष्ट ‘हट स्पट’ बनेको छ । बिदा मनाउन, बनभोज खान, शैक्षिक भ्रमणका लागि, वा माया प्रेम साट्न आउने जो कोहीलाई पनि कन्यामले निराश पार्दैन । नजिकै रहेको कुटिडाँडाको पाथिभरा देवी मन्दिर दर्शन गर्न आउने भक्तजनहरू पनि यहाँ आएर प्राकृतिक सुन्दरतामा हराउने गर्छन् ।

लहरै मिलेर डाँडै ढाक्ने चिया बगान कन्यामको मुख्य पहिचान हो । बाह्रै महिना रहने चिसोे हावापानीले गर्मी छल्न आउनेहरूलाई विशेष आनन्द दिन्छ भने मौसम सफा हुँदा उत्तरतर्फ मुसुक्क मुस्कुराइरहेको कञ्चनजंघा हिमालको मनमोहक दृश्य देख्न सकिन्छ । दक्षिणतर्फ तराईका विशाल समथर फाँट र नदीनालाका साथै झापा, इलाम र भारतका विभिन्न स्थानहरू अवलोकन गर्न सकिन्छ ।

लभडाँडा, देउराली डाँडा, र हावासँगै सुसाउने सल्ला घारीले पनि पर्यटकलाई लोभ्याउँछ । कन्याममा आउने पर्यटकहरूको प्रमुख रोजाइमा चिया बगानमा फोटो खिच्ने र घोडा चढ्ने काम पनि हो । ग्रामीण परिवेशमा घोडा चढ्नु सहरी र बाह्य पर्यटकका लागि नौलो तथा आकर्षक मनोरञ्जन बनेको छ । पर्यटकको यही आकर्षणका कारण यहाँ होटल व्यवसाय र घोडाचढी व्यवसाय राम्ररी फस्टाउँदै गएको छ । आन्तरिक व्यापारमा समेत वृद्धि भएको छ ।

पर्यटकहरूले इलामको कोशेलीका रूपमा अर्थोडक्स चिया, छुर्पी, ललिपप, बम्बाइसन, र अकबरे खुर्सानी जस्ता स्थानीय परिकारहरू खरिद गर्ने गर्छन् । यी सौन्दर्यतामा लोभिएर इलाम, झापा, पाँचथर, मोरङलगायत देशका विभिन्न भू-भाग, भारतको दार्जिलिङ, सिक्किम, सिलिगुडी तथा तेस्रो देशका पर्यटकहरूको समेत आगमन बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार