लिम्बू भाषालाई कामकाजी भाषा बनाउन फाल्गुनन्दका सरोकारवालासँग परामर्श

  युद्धबहादुर बोहोरा

 

पाँचथरः लिम्बू भाषालाई कामकाजी भाषा बनाउन फाल्गुनन्द गाउँपालिकाका सरोकारवालासंग परामर्श गरिएको छ । आगामी ०८०/८१ देखि लागु गर्नका लागि ऐन तथा कार्यविधी जारी गरी संचालनमा ल्याउने तयारी भएको छ । साथै लिम्बू भाषाविद् तथा सरोकारवालाहरुको उपस्थितिमा परामर्श कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सहभागीहरुले कामकाजीको रुपमा प्रयोग गर्दा भाषिक कठिनाईलाई मध्यनजर गर्दै कतिपय शब्दहरुमा आगन्तुक शब्द प्रयोग गरी सरल र सर्वसाधारणले बुझ्ने गरी प्रयोगमा ल्याउन गाउँपालिकालाई सुझाव समेत दिएका छन् ।

पालिकामा लिम्बू भाषा कामकाज प्रयोजनका लागि भएको परामर्श तथा सुझाव संकलनका लागि आइतवार पालिका अध्यक्ष बृज हाङ आङ्देम्बेको अध्यक्षतामा,उपाध्यक्ष ठाकुर सिं नेम्बाङ,प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोक,वडाध्यक्ष बिष्णु कुमार चेम्जोङ,नारायण प्रसाद आङ्देम्बे,प्रशासन तथा योजना शाखा प्रमुख निर्मल अधिकारी,रोजगार संयोजक बिचार सिं लावतीको उपस्थितिमा एक दिनको परामर्श सम्पन्न भएको हो । उक्त छलफलमा  लिम्बु भाषाविद् मलिसा नेम्बाङ,लिम्बु भाषा विशेषज्ञ तथा सहजकर्ता दिलेन्द्र कुरुम्बाङ, जिल्ला समन्वय समिति पाँचथरका सदस्य लेन्जो याक्पाङ्देन,आदिवासी जनजाती महासंघ फाल्गुनन्द गाउँपालिका अध्यक्ष भगीरथ चेम्जोङ,लिम्बु भाषा शिक्षकहरु,जनप्रतिनिधिलगायतको सहभागीता थियो । २५ हजार जनसंख्या रहेको यस पालिकामा ५५ प्रतिशत लिम्बु,१५ प्रतिशत खसआर्य,१० प्रतिशत राई,१० प्रतिशत तामाङ,५ प्रतिशत दलित र १/१ प्रतिशत सुनुवार,मगर,नेवार तथा २ प्रतिशत (माझी, कुमाल) लगायतका अल्पसङख्यक र अन्य जातीको बसोबास रहेको पालिकाको तथ्यांङ्कमा उल्लेख छ । लिम्बू जातीको बाहुल्यता रहेको यस पालिकामा मातृभाषा पठनपाठन हुँदै आइरहेको छ ।

लिम्बू भाषा कामकाजी भाषाको नीति ऐन जारी गर्ने । उक्त ऐन नेपाली भाषा र लिम्बू भाषामा हुने ।  निवेदन पेश गर्दा लिम्बू भाषा र लिपी दुवै प्रयोग गर्ने सक्ने अर्थात् लिम्बू भाषा भएपनि देवनागरी लिपी प्रयोग गर्ने । सिफारिस,दर्ता प्रमाणपत्र तथा अफिसियल कागजातमा अन्तर्राष्ट्रिय मापद‌ण्ड र प्रयोगको आधारमा लिम्बू भाषा र लिपीसँगै नेपाली वा अंग्रेजी अनुवाद रहेको हुने । कार्यालयको भाषाको रूपमा प्रयोग गर्ने । गाउँपालिकाका सबै वडाहरूमा प्रयोग गर्नेलगायतका सुझाव राखिएको लिम्बु भाषाविद् मलिसा नेम्बाङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार