कतारमा नेपाल तामाङ घेदुङद्वारा वृहत सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम फेब्रुअरी ६ मा

  तिलविक्रम थेवे
511 Shares

दोहा, कतार : नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारले तामाङ समुदायको महान पर्व मञ्जुश्री सम्बत् २८६२ ता ल्हो (घोडा वर्ग) सोनाम ल्होछार अवसरमा वृहत तथा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

आयोजक संस्थाका महासचिव रामबहादुर पाख्रीन तामाङका अनुसार उक्त कार्यक्रम फेब्रुअरी ६, २०२६ शुक्रबार दोहा, कतारस्थित मुन्तजा पार्क नजिक रहेको पर्लिङ स्कुलको सभाहलमा आयोजना गरिनेछ। कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको पनि उनले जानकारी दिए ।

महासचिव पाख्रीनका अनुसार कार्यक्रममा नेपालबाट लोकप्रिय लोक तथा सेलो गायक, गीतकार तथा संगीतकार विश्व दोङ तामाङ र लोकप्रिय म्हेन्दोमाया गायिका मिना लामा विशेष सांगीतिक प्रस्तुति दिन कतार आउनेछन् ।

विगत वर्षहरूमा जस्तै यस वर्ष पनि कतारमा रहेका तामाङ समुदायले आफ्ना मौलिक चाडपर्वलाई संरक्षण र प्रवर्द्धन गर्दै सोनाम ल्होछार भव्य रूपमा मनाउन उत्साहित रहेको बताउँदै महासचिव पाख्रीनले कतारमा रहेका तामाङ समुदाय, गैरतामाङ समुदाय, विभिन्न संघसंस्था, विभिन्न तह र तप्काका प्रतिनिधि, शुभेच्छुक तथा शुभचिन्तक सबैलाई कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन आग्रह गरेका छन् ।

न्यूनतम प्रवेश शुल्कसहित आयोजना हुने उक्त कार्यक्रममा विहान ११ बजेदेखि कार्यक्रमस्थलको गेट खुला रहने आयोजकले जनाएको छ। साथै कतारमा रहेका विभिन्न संघसंस्था तथा प्रतिनिधिहरूलाई कार्यक्रमको औपचारिक निमन्त्रणा पठाइसकिएको पनि जानकारी दिइएको छ ।

कार्यक्रम संयोजकमा दिलकुमार स्याङबो तामाङ र यातायात संयोजकमा बुद्ध तामाङ रहेका छन् ।

सन् २०१८ मा स्थापना भएको नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारले कतारमा कार्यरत तामाङ समुदायको सामाजिक तथा सांस्कृतिक संवाहक संस्थाका रूपमा समुदायको सामाजिक हितका लागि निरन्तर कार्य गर्दै आएको छ। संस्थाले कतारमा स्थापित विभिन्न नेपाली संघसंस्था तथा संगठनहरूसँग समन्वय र सहकार्य गर्दै आइरहेको जनाएको छ ।

यसैबीच, सन् २००५ मा स्थापित तामाङ समुदायको अर्को पुरानो संस्था नेपाल प्रवासी तामाङ समाज कतार ले गत जनवरी २३, २०२६ मा अल दोसरी जु साहानियामा मञ्जुश्री सम्बत् २८६२ ता ल्हो (घोडा वर्ग) सोनाम ल्होछार भव्य रूपमा मनाइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार