
इलाम : इलामको माङसेबुङ गाउँपालिका–३ चिबुवामा जारी प्रथम संस्करणको चिबुवा कप फुटबल प्रतियोगितामा बुधबारदेखि दोस्रो चरणका खेल सुरु हुँदेछ ।
पहिलो खेलमा दशमी एफसी र आयोजक चिवुवा युथ क्लब ‘बी’, दोस्रो खेलमा युथ अफ माङसेबुङ र बतासे एफसी एवम् अन्तिम खेलमा योङहाङ एफसी र कालापानीबीच प्रतिष्पर्धा हुने आयोजक चिबुवा युथ क्लबले जनाएको छ ।
यसअघि मङ्गलबार सम्पन्न दोस्रो चरणका खेलमा जीकेजेआर एफसी र सिङफेरे एफसी विजयी भएका छन् ।
पहिलो खेलमा एनवाइसी बारुङलाई ६-० गोलको फराकिलो अन्तरमा पराजित गर्दै जीकेजेआर विजयी बन्यो । उसको जितामा सन्तोष लिम्बू र विपन लिम्बूले दुई/दुई एवम् अनिस लिम्बू अग्रिन लिम्बूले एक/एक गोल गरे ।
दोश्रो खेलमा हिलिहाङ एफसीलाई २-० गोल अन्तरमा पराजित गर्दै सिङफेरे विजयी बन्यो । सिङफेरेको जितमा दुवै गोल विक्रम लिम्बूले गरेका थिए ।
चिबुवा युथ क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले ४० हजार र उपविजेताले २५ हजार नगदसहित ट्रफि, मेडल र प्रमाणत्र पाउनेछन् ।
स्थानीय जनकल्याण आधारभूत विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताको फाइनल आउँदो कात्तिक १० बजे हुनेछ ।
प्रतियोगितामा इलाम र पाँचथरका २४ टिमको सहभागिता रहेको छ ।



















































