अर्किड एकेडेमी मन्टेस्वरी विद्यालयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर

झापा : झापाको दमकस्थित अर्किड एकेडेमी मन्टेस्वरी विद्यालयमा मङ्गलबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।

विद्यालयमा बढ्दो बालबालिकाको दन्त समस्या र अभिभावकहरूको स्वास्थ्यप्रतिको चासोलाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त शिविरमा ४७५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

विद्यालयको आयोजना र ओम शान्ति डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा २५० जना विद्यार्थी, २०० जना अभिभावक तथा २५ जना शिक्षक र कर्मचारीको स्वास्थ्य परीक्षण गरिएको थियो। दाँतको सघन जाँच, नाक, कान, घाँटीको प्रारम्भिक परीक्षण र मुख स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको थियो ।

ओम शान्ति डेन्टल क्लिनिकका पाँच सदस्यीय चिकित्सक टोलीको सहभागितामा सञ्चालन भएको शिविरमा प्रत्येक बिरामीको विवरण फारममा संकलन गरी अभिभावकलाई रिपोर्ट कार्ड प्रदान गरिएको थियो। परीक्षणमा देखिएका समस्याअनुसार प्राथमिक उपचार सल्लाह र आवश्यक भएमा थप उपचारको सिफारिस गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक लक्ष्मी नेपालले विद्यार्थी र अभिभावक समुदायको स्वास्थ्यप्रतिको जागरूकता अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले अन्य स्वास्थ्य क्षेत्रहरूलाई समेटेर आगामी दिनमा थप शिविर आयोजना गर्ने योजना रहेको जानकारी दिए ।

दन्त चिकित्सक ड कास्मी श्रेष्ठले बालबालिकामा मुख सफाइको सही तरिका सिकाउनुलाई प्राथमिकता दिइएको उल्लेख गर्दै नियमित सरसफाइबाट धेरै दन्त समस्याहरू समाधान गर्न सकिने बताए ।

ओम शान्ति डेन्टल हस्पिटलका सञ्चालक कमल गैरेले यस शिविरको माध्यमबाट विद्यालयका विद्यार्थीहरूलाई दन्त स्वास्थ्यका बारेमा सन्देश फैलाउन मद्दत पुगेको बताए । साथै, हस्पिटलले एक्सरे र ओपिडी सेवामा नि:शुल्क सेवा र अन्य दन्त उपचारमा २५ प्रतिशत छुट उपलब्ध गराइरहेको जानकारी दिएका छन् ।

ओम शान्ति डेन्टल क्लिनिक र अर्किड एकेडेमी मन्टेस्वरी विद्यालयको संयुक्त प्रयासले सम्पन्न स्वास्थ्य शिविरले विद्यालय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ। विद्यालयले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार