पछिल्लो तथ्यांकअनुसार सन् २०२५ को अप्रिल महिनामा एक लाख १६ हजार ४९० जना पर्यटकहरुले नेपालको भ्रमण गरेका छन् । तथ्यांक हेर्दा सन् २०२४ को अप्रिल महिनामा भन्दा पाँच हजार जना बढी संख्या हो । एवम् प्रकारले सन् २०२५ को चार महिनाको तथ्यांक हेर्दा चार लाख १५ हजार ४८ जना पर्यटहरुले नेपाल भ्रमण गरेका छन् । जे होस्, सन् २०२५ को चार महिनमा मासिक एक लाखभन्दा ेकेही बढी संख्यामा विदेशी पर्यटकहरु नेपाल गर्न भ्रमण आई रहेको देखिन्छ ।
यसै सन्दर्भमा भन्नु पर्दा हाम्रो देशको तीनतिर सीमा जोडिएको छिमेकी भारतको पर्यटकको संख्या भने गत वर्षदेखि अपेक्षित रुपमा बढ्न सकेको देखिदैन । पछिल्लो पटक भारतको जनसंख्याको निक्कै ठूलो हिस्सा विदेशमा पर्यटक भई घुम्न लिक्लिरहेका छन् । त्यस्तै गरेर अहिले जनसंख्याको आधारमा विश्वकै ठूलो अर्थात् धेरै जनसंख्या भएको देशका रुपमा पनि रहेको छ, भारत । हुन पनि भारतको जनसंख्या एक अर्ब ४४ करोड चानचुन पुगेको छ । विदेश भ्रमण गर्न जाने भारतीय पर्यटकको वार्षिक तथ्यांक हेर्दाखेरि लगभग १० करोडको संख्यामा विश्वका विभिन्न देशमा पर्यटक भई घुम्न निक्लने गरेका छन् । त्यसैले ती साढे १० करोड भारतीय पर्यटकहरुको एक प्रतिशत अंश मात्रै पर्यटक भई नेपाल भ्रमण गर्न आए नेपाल भ्रमण गर्न आउने भारतीय पर्यटकहरुको संख्या कति पुग्ला ? त्यसैले भारतीय पर्यटकहरुको नेपाल भ्रमण गर्ने संख्या किन बढेको छैन, बढ्नुको सट्टा घटिरहेको छ ? हामीले गम्भीर भएर सोच्नुपर्ने भएको छ । त्यसैले अब हामीले केके गर्दा पुनः नेपाल भ्रमण गर्न आउने भारतीय पर्यटकको संख्या बढ्ला ? तत्कालै अध्ययन–अनुसन्धान गरेर सोहीअनुसारको कदम चाल्नुपर्ने देखिन्छ । किनभने, विश्वका विभिन्न देशमा पर्यटक भई घुम्न जाने भारतीय पर्यटकको संख्या लगातार रुपमा बढी रहेको छ । हुन पनि विश्वका केही देशहरुले त खर्चिला (डिलक्स र लक्जरियस) भारतीय पर्यटकहरु धेरैभन्दा धेरै संख्यामा भित्र्याउन एवम् उनीहरुलाई आकर्षित गर्न विभिन्न अफरसहितको ‘टुर प्याकेज’हरु ल्याएका छन्, ल्याउन थालेका छन् ।
पछिल्लो तथ्यांकअनुसार सन् २०२५ को अप्रिलमा महिनामा नेपाल भ्रमण गर्न आएका भारतीय पर्यटकको संख्या अपेक्षा गरेभन्दा निक्कै कम अर्थात् २५ हजार ९३३ जना मात्रै नेपाल भ्रमण गर्न आए । त्यस्तै गरेर मार्चमा महिनामा पनि केवल २१ हजार ४१२ जना भारतीय पर्यटकहरु मात्रै नेपाल भ्रमण गर्न आएका छन् भने फेब्रुअरी महिनामा पनि केवल १९ हजार १८७ जना भारतीय पर्यटक मात्रै नेपाल भ्रमण गर्न आएका थिए । साथै जनवरी माहिनामा पनि चाहिँ २० हजार ४८५ जना भारतीय पर्यकहरु नेपाल भ्रमण गर्न आएका थिए । तथापि पनि भारतीय नागरिकहरु नै धेरै वर्ष अघिदेखि नेपालमा ठूलो संख्यामा विदेशी पर्यटकको रुपमा भ्रमण गर्न आउने गरेको वास्तविकता तथ्य चाहिँ हामीले स्वीकार्नुपर्ने देखिन्छ, स्वीकार्नुपर्ने हुन्छ ।
यो लेखको शीर्षक ‘किन निरन्तर ओरालो, भारतीय पर्यटक ?’ भन्ने रहेकोले गर्दा यो लेखलाई त्यसैतर्फ फोकस गरौं । हालै आएको अर्को एक तथ्यांकअनुसार पछिल्लो पटक भारतीयहरु ठूलोे संख्यामा पर्यटक भई युरोप महादेशका विभिन्न देशहरु, अष्ट्रेलिया, अफ्रिका, मध्यपूर्व, दक्षिण र उत्तर अमेरिका महादेशका विभिन्न देशहरु, एसिया महादेशको थाईल्यान्ड, हङकङ, भियतनाम, कम्बोडिया, इन्डोनेसिया, मलेसिया, मकाउ, भुटान, लाओस् आदि देश भ्रमण गर्न निक्लन थालेका छन् । जस्तो कि, यहाँ युरोप महादेशको एक देश जर्मनीको उदाहण लिउँ । जर्मनीमा भ्रमण गर्न जाने भारतीय पर्यटकहरुको संख्या सन् २०२१ को तुलनामा सन् २०२३ मा ३०५ प्रतिशतले बढेको थियो । त्यस्तै ‘द इकोनोमिक्स टाइम्स’को ट्राभल सम्बन्धी लेख/फिचर/समाचारअनुसार ‘ट्राभल वर्ल्डस’मा प्रकाशित एक समाचासरअनुसार जर्मनीमा सन् २०२१ को तुलनामा सन् २०२२ मा २०५ प्रतिशतले भारतीय पर्यटक आगमन वृद्धि भएको थियो । जर्मन ट्राभल मार्ट (जीटीएम) र जर्मन नेसनल टुरिज्म बोेर्ड (जेएनटीबी) का अनुसार सन् २०२२ मा छ लाख (६,०००००) भारतीय पर्यटकहरु जर्मनीको विभिन्न पर्यटकीय क्षेत्र पर्यटकीय महत्वका ठाउँहरुमा पर्यटक भई भ्रमण गर्न गएका थिए ।
माथि नै पनि भनियो कि लामो समयदेखि नेपालमा सबैभन्दा धेरै संख्यामा पर्यटक भई घुम्न आउने विदेशी पर्यटकको स्थान भारतीय पर्यटकहरुले नै लिएका छन् । तथ्यांक हेर्दाखेरि सन् १९७४/७५देखि नेपाल आउने विदेशी पर्यटकको संख्या लगातार रुपमा सबैभन्दा धेरै भारतीय रहेको देखिन्छ । मतलब अहिलेसम्म भारतीय पर्यटकलाई अरु देशका पर्यटकहरुले संख्यात्मक हिसावले जित्न सकेका छैनन् र, संभवतः अरु केही वर्ष (एक दशक !?) सम्म नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको पहिलो नम्बरमा भारतय नागरिकहरु नै रहने छन् । किनभने, उनीहरुलाई नेपाल भ्रमण गर्न भिसा शुल्क पनि लाग्दैन । त्यसो त केही वर्षपछि नेपालमा धेरै संख्यामा आउने विदेशी पर्यटको स्थान चिनियाँ पर्यटकले लिने संभावना रहेको देखिन्छ । अहिले नै पनि नेपाल आउने विदेशी पर्यटकको दोस्रो ठूलो संख्या उत्तरको छिमेकी देश चीन रहेको छ । चिनियाँ पर्यटकहरु विगत केही वर्षदेखि विश्वकै पहिलो नम्बर (धेरै संख्यामा पर्यटक भएर विदेश घुम्ने र प्रति व्यक्ति दैनिक धेरै खर्च गर्ने पर्यटकका रुपमा) को रुपमा विदेश घुमी रहेका थिए, अझै पनि घुमी रहेका छन् नै । तर, त्यसरी विश्वकै सबैभन्दा धेरै दैनिक खर्च गरिरहेका त्यही चिनियाँ पर्यटकहरु नेपालमा चाहिँ किन कम संख्यामा आउँछन् त ? अथवा भनौं चिनियाँ पर्यटकहरुले नेपाल भ्रमणमा आउँदा चाहिँ किन कम खर्च गर्छन् ? यस विषयमा पनि हामीले वेलैमा सोच–विचार गर्नुपर्ने देखिन्छ ।
फेरि पनि भारतीय पर्यटककै बारेमा कुरो गर्नु पर्दाखेरि आफ्नो भूगोलको आधा भाग एसिया महादेश र आधा भूगोल भाग युरोप महादेशमा पर्ने भए तापनि आफूलाई आधिकारिक रुपमा युरोप महादेशको देश मान्ने–ठान्ने ‘तुर्किए/टुर्किए’ (टर्की पुरानो नाम) मा भ्रमण गर्ने भारतीय पर्यटकहरुको संख्या सन् २०२४ मा बीस दशमलब सात (२०.७) प्रतिशतले बढेको थियो । यता एसिया महादेशको सानो देश सिंंगापुरमा पनि सन् २०२४ मा विदेशी पर्यटक आगमनको संख्यामा भारतीय पर्यटकहरुको संख्या तेस्रो धेरै संख्या बन्न पुगेको थियो । त्यस्तै सिंगापुर टुरिज्म बोर्ड (एसटीबी) ले जनाएअनुसार सिंंगापुरमा सन् २०२४ मा भ्रमण गर्ने भारतीय पर्यटकको संख्या १२ लाख रहेको थियो । त्यसै गरी सन् २०२४ मा सिंगापुर भ्रमण दोस्रो धेरै पर्यटक चाहिँ इन्डोनेसियन पर्यटकहरु रहेका थिए । स्मरण रहोस्, सन् २०२४ मा २४ लाख ९० हजार इन्डोनेसियन पर्यटकलेसिंगापुर भ्रमण गरेको थिए भने, सन् २०२४ मा ३० लाख ८० हजार चिनियाँ पर्यटकहरु सिंगापुर भ्रमण गर्न गएर पहिलो स्थान बनाउन सफल भएका थिए ।
हो, नेपाल भ्रमण गर्न आउने भारतीय पर्यटकको संख्याको सन्दर्भमा भन्नु पर्दा चाहिँ सन् २०२३ को तुलनामा सन् २०२४ मा शून्य दशमलब सात (०.७) प्रतिशतले घटेको थियो । स्मरणीय छ, सन् २०२३ मा तीन लाख १९ हजार ९३६ जना भारतीय पर्यटकहरु नेपाल भ्रमण गर्न आएका थिए । सन् २०२४ मा चाहिँ तीन लाख १७ हजार ७७२ जना भारतीय पर्यटक नेपाल भ्रमण गर्न आएका थिए । त्यसो त यसको दोष सन् २०२४ मा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुनुलाई दिने गरिन्छ । एवम् प्रकारले साउनको ११र १२ गते लगातार दुई दिन आएको बाढी–पहिरोका कारण अवरुद्ध भएको सडक यातायात (बाटो–घाटो) लामो समयसम्म अवरोध नआएको भए साथै त्यसैको यतउताको समयमा हवाईजहाज र हेलिकप्टर दुर्घटनाहरु नभएको भएदेखि सन् २०२४ मा नेपाल आएका पर्यटकको संख्या शून्य दशमलब सात (०.७) प्रतिशतले घट्नुको सट्टा कम्तिमा पनि ५–६ प्रतिशत देखि १४–१५ प्रतिशतले बढ्ने थियो कि भन्ने अनुमान गर्न सकिन्छ ।
त्यसैले अन्तिममा भन्नु पर्दाखेरि हामीले भारतीेय पर्यटकहरुलाई सक्दो धेरैभन्दा धेरै संख्यामा भित्र्याउने प्रयास गर्नुपर्ने देखिन्छ । त्यसमा पनि बढी खर्च गर्ने खर्चिला भारतीेय पर्यटकलाई नेपाल भित्र्याउनका लागि पहल कदमी लिनुपर्ने देखिन्छ । भगौलिक दुरीका हिसावले हेर्दा हजारौं किलोमिटर टाढाका युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, अफ्रिका एवम् धेरथोर संख्यामा अन्टार्कटीका भ्रमण गर्न जान आकर्षित भई रहेका छिमेकी देश (भारत) का पर्यटकलाई नेपालमा वार्षिक रुपमा कम्तिमा ८–९ लाखदेखि ११–१२ लाखको संख्यामा कसरी भित्र्याउने ? सो सम्बन्धमा हामीले आकर्षक कार्यक्रमहरु ल्याउनुपर्ने देखिन्छ । जस्तै पाँच जनाको समूहमा आएमा एक जनाको शुल्क आधा मात्रै लिने । नौ जनाको समूहमा आएमा एक जनाको पूरै शुल्क मिनाहा गर्ने । र १३ जनाको समूहमा आएमा जनाको पुरै शुल्क मिनाहा र एक जनाको आधा शुल्क मिनाहा गर्ने आदि कार्यक्रम ल्याउन सकिन्छ ।