लामो समयदेखि नेपाल सरकारलाई हिमाल आरोहणबाट प्राप्त हुने आमदानी अर्थात् सलामी दस्तुरमा धेरै योगदान सगरमाथा हिमालको रहेको छ । यसो हुनुको कारण सगरमाथा हिमाल हालसम्म विश्वकै अग्लो हिमालका रुपमा रहेको, भएको हुनाले पनि हो भन्न सकिन्छ । हुन पनि सन् २०२२ देखि यताको तथ्यांक हेर्दा नेपालमा रहेका विभिन्न हिमाल आरोहणका लागि आउने विदेशी र स्वदेशी पर्वतारोहीहरुले तिरेको सलामी दस्तुरको अत्यधिक अंश अर्थात् झण्डै ९० प्रतिशत त केवल सगरमाथा हिमाल एक्लैको रहेको देखिन्छ । सो वर्ष अर्थात् सन् २०२२ को वसन्त ऋतुमा नेपाल आएका विदेशी पर्वतारोहीहरुबाट नेपालमा रहेका विभिन्न हिमाल आरोहणवापत नेपाल सरकारलाई ७१ करोड ४८ लाख बराबर नेपाली रुपैयाँ प्राप्त भएको थियो । त्यसमध्ये ६६ करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा केवल सगरमाथा हिमालको सलामीवापत मात्रै प्राप्त भएको थियो । त्यस्तै सन् २०२३ को वसन्त ऋतुमा पनि नेपालमा रहेका विभिन्न हिमाल आरोहण गर्न आएका विदेशी पर्वतारोहीहरुले ७६ करोड चानचुन रकम सलामी दस्तुर अर्थात् रोयल्टीवापत मात्रै बुझाएका थिए, नेपाल सरकारलाई । उक्त रमकमध्ये ६६ करोड ६४ लाख २० हजार रकम सगरमाथा हिमाल आरोहणका लागि तिरेको रकम मात्रै रहेको थियो । त्यस्तै सन् २०२४ को वसन्त ऋतुमा पनि नेपालमा रहेका विभिन्न हिमाल आरोहण गर्न आएका विदेशी र स्वदेशी पर्वतारोहीहरुले ६७ करोड ४७ लाख १४ हजार सलामीवापत नेपाल सरकारको मातहत रहेको पर्यटन विभागलाई बुझाएका थिए । हो, त्यसरी सलामीवापत उठेको रकममा पनि ५९ करोड २३ लाख पाँच हजार ८४९ रुपैयाँ बराबरको विदेशी मुद्रा त सगरमाथा हिमाल एक्लैले कमाएको थियो । त्यस्तै गरेर पछिल्लो तथ्यांकअनुसार यस वर्ष (सन् २०२५/विसं २०८२) को वसन्त ऋतुमा पनि नेपालका विभिन्न २६ वटा हिमाल आरोहण गर्न आएका विदेशी तथा स्वदेशी पर्वतारोहीहरुले पर्वतारोहीहरुले ७७ रकोड ३५ लाख रुपैयाँ सलामीवापत नेपाल सरकारलाई तिरेका छन् । त्यसमध्ये ६५ करोड ३८ लाख रुपैयाँ त सगरमाथा हिमालबाट मात्रै सलामीवापत रकम कमाइ भएको छ, नेपाल सरकारलाई । पर्यटन विभागले हालै जारी गरेको प्रेस नोट (प्रेस वक्तव्य) अनुसार यस वर्षको वसन्त ऋतुमा विश्वका ७३ देशका एक हजार ९२ जना पर्वतारोहीहरुले नेपालका २६ वटा हिमाल आरोहण गर्न अनुमतिपत्र लिएका छन् । त्यसमा पनि ४५६ जना पर्वतारोहीहरुले केवल सगरमाथा हिमाल आरोहण गर्ने हिसावले अनुमतिपत्र लिएका छन् । स्मरण रहोस्, यो वर्ष सगरमाथा हिमाल आरोहण गर्न अनुमति लिएका ४५६ जना पर्वतारोहीमा ८४ जना महिला र ३७२ जना पुरुष रहेका छन् ।
यसरी हेर्दा समग्रमा नेपाली हिमाल आरोहणबाट नेपाल सरकारलाई हुने आमदानीमा लगभग ८९–९० प्रतिशतदेखि ९२–९३ प्रतिशतसम्म सगरमाथा हिमाल एक्लैको रहने गरेको देखिन्छ । त्यसो भए तापनि त्यसरी विदेशी र स्वदेशी पर्वतारोहीहरुले सगरमाथा हिमाल आरोहण गर्न अनुमति लिए वापत तिरेको राजस्व अर्थात् सलामी दस्तुरको धेरै सानो अंश मात्रै स्थानीय वासिन्दाहरुले उपभोग वा भनौं खर्च गर्न पाएका छन् । जुन कुरो प्राकृतिक न्यायको हिसावले हेर्दा पनि न्यायोचित नभएको हो कि ? भने जस्तो देखिन्छ । त्यसैले गर्दा केन्द्र अर्थात् संघीय सरकारले विदेशी र स्वदेशी पर्वतारोहीले सगरमाथा हिमाल आरोहण गर्न अनुमति लिए वापत तिरेको राजस्व अर्थात् सलामी दस्तुरको धेरै अर्थात् बढी अंश चाहिँ स्थानीय सरकार (गाउँ पालिका र वासिन्दाहरु) ले उपभोग वा भनौं प्रयोग गर्न पाउने गरी संघीय बजेटमै विनियोजन गर्ने हो कि ?
जे जस्तो भए तापनि नेपाली पर्यटन उद्योगमा पर्यटन उद्योगको विभिन्न शाखा तथा प्रशाखा (उपक्षेत्र) बाट जीडीपीमा योदानको कुरो गर्दा नेपालका विभिन्न हिमाल आरोहणबाट नेपाल सरकारले गत पाँच वर्षमा गरेको कमाइको तुलना गरेर यो लेखमा केही लेख्दै छु । जस्तै सन् २०२१ मा नेपालका विभिन्न हिमाल आरोहणबाट नेपाल सरकारले ६३ करोड ५२ लाख ४९ हजार कमाइ गरेको थियो । अर्थात् सो वर्ष नेपालमा विदेशी र स्वदेशी पर्वतारोहीलाई आरोहण गर्न खुल्ला गरिएको विभिन्न हिमाल आरोहणका लागि अनुमति जारी गरेवापत आरोहीबाट लिईएको सलामी रकमवापत नेपाल सरकारले ६३ करोड ५२ लाख ४९ हजार बराबरको विदेशी मुद्रा कमाइ गरेको थियो । त्यस्तै सन् २०२२ मा नेपाल सरकारले ७० करोड ३४ लाख २९ हजार बराबरको विदेशी मुद्रा आर्जन गरेको थियो, विभिन्न हिमाल आरोहणका लागि पर्वतारोहीहरुलाई अनुमतिपत्र जारी गरेवापत भने सन् २०२३ मा चाहिँ ७६ करोड ६९ लाख ३८ हजार बराबरको विदेशी मुद्रा आर्जन गर्न सफल भएको थियो । उता सन् २०२४ मा चाहिँ केही कम अर्थात् ६८ करोड ९९ लाख ३१ हजार बराबरको विदेशी मुद्रा आर्जन गरेको थियो, नेपाल सरकारले । हालको चालू वर्ष (सन् २०२५) को वसन्त ऋतुमा नेपालमा रहेका विभिन्न उचाइका २६ वटा हिमाल आरोहण गर्ने पर्वतारोहीहरुलाई अनुमतिपत्र जारी गरेवापत ७४ करोड ७९ लाख ३५ हजार विदेशी मुद्रा आर्जन गर्न सफल भएको छ । यसरी हेर्दा नेपाली पर्यटन उद्योगबाट नेपाल सरकारले गर्ने आमदानीको राम्रो स्रोतमा पर्वतारोहणबाट प्राप्त हुने सलामी अर्थात् रोयल्टी पनि एक रहेको छ ।
यसरी हेर्दाखेरि नेपालको पर्यटनमा हिमाल आरोहणको मुख्य भूमिका देखिन्छ । खास गरिकन पछिल्लो पटक नेपाल सरकारलाई पर्यटन उद्योगबाट राजस्व प्राप्त हुने विभिन्न स्रोतहरुमध्ये प्रमुख स्रोतका रुपमा पर्वतारोहण पनि एक रहेको मान्न सकिन्छ, मान्नुपर्ने हुन्छ । त्यसमा पनि सगरमाथा हिमाल आरोहण गर्न आउने विभिन्न देश पर्वतारोहीहरुबाट उठ्ने राजस्व अर्थात् आर्थिक योगदानलाई कम आँक्न मिल्दैन । किनभने, माथि नै उल्लेख गरिसकिएको छ कि, सगरमाथा हिमालबाट कति प्रतिशत आमदानी हुन्छ भनेर त्यसैले समग्र हिमाल आरोहणबाट हुने आमदानकिो तथ्य–तथ्यांक हेर्दा नेपालमा हालसम्म पर्वतारोहीहरुले आरोहण गरुन् भनी खुल्ला गरिएका ४७६ वटा हिमालहरुमध्ये सगरमाथा हिमालमा नै धेरै जसो पर्वतारोहीहरुको आकर्षण रहने गरेको छ । यसो हुनु स्वाभाविक पनि रहेको छ । किनभने, सगरमाथा हिमालको उचाइ समुन्द्र सतहलाई आधार मानेर हेर्दा–नाप्दाखेरि अहिलेसम्मकै विश्वकै सबैभन्दा अग्लो हिम चुचुरोका रुपमा रहेको छ । स्मरण रहोस्, सगरमाथा िहमालको उचाइ पछिल्लो पटक ८८४८.८६ मिटर कायम गरिएको छ ।