पाँचथरः नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पार्टीलाई सरकारमा जाने लोभ नभएको र जनतामा फर्किएर कमजोरी सच्याउँने बताएका छन् ।
प्रेस सेन्टर पाँचथरले फिदिममा गरेको पत्रकार सम्मेलनमा बोल्दै पार्टीका संगठन विभाग प्रमुख उपमहासचिव शर्माले पार्टीको केन्द्रीय कमिटीको निर्यण अनुसार यसअघि गरेको विभिन्न गल्ती कमजोरिलाई आत्मालोचना गर्दै जनता माझ गएर पार्टीलाई पहिलाको स्थानमा पुर्याउने अभियानमा लागिएको बताए । शान्ति प्रकृया आएपछि आम पंङ्तीलाई प्रशिक्षण,ट्रेनिङ दिएर उत्पादन र श्रममा लगाएर यो देशमा कायपलट गर्न लाग्नु पर्थ्यो त्यतातिर पाटीले कमजोरी गरेको बताए । पहल र नीति बनाउन पार्टीले थालनी गरेको तर लागू नसकेको उनको भनाई छ ।
राज्य पुनः संरचनाको एजेण्डालाई पार्टीले छोड्न गलत भएको बताउँदै राजनीतिक नेतृत्वले भिजन दिने हो । राज्य संयन्त्रले काम गर्ने हो । त्यो संयन्त्रलाई व्यस्थित गर्ने र पुनः संरचना गर्न आवश्य रहेको बताए । उनले भने ,’ राजनीतिक नेतृत्वले गर्न खोजेको हरेक काम राज्य संयन्त्रले सहि तरीकाले कार्यान्वयन नगर्दा नागरिकले समस्या झेल्नु परेको छ । पार्टीले जनतासँग गरेका बाचा पूरा गर्ने नसकेका कारण नागरिक रिसाएका हुन् ।’
राज्य पुनः संरचनाको एजेण्डालगायत अन्य छोडिएका मुद्धा प्रति पार्टी संवेदनशील हुँदै आगामी दिनमा पार्टीले जनतालाई धोका नदिने र जनताको मुद्धा माओवादी पार्टी वाहेक कसैले साथ दिन नस्कने दावी गरे । सरकारमा जाने लोभ भन्दा पनि जनताको समस्यालाई केन्द्रविन्दु बनाउने पार्टीको लक्ष्य भएको जनाए । अरू राजनीतिक दलको साथमा संगत गर्दा जनतासंग पार्टी सुदृढ भन्दा पनि जनता एकातिर,पार्टी अर्कोतिर जस्तो भएको बताए । सरकारमा अरू दलको हाराहारीमा सरकार संचालन गर्दा धेरै राम्रा काम गरेको भएता पनि स्वामित्व भने अरुले लिएका कारण पार्टीले गरेका महत्वपूर्ण काम चर्चामा नआएको उनको भनाइ छ ।
सरकारमा हुँदा लोड सेडिङ अन्त्य,मिटर व्याजीका विरुद्धमा गरेका काम ,ठुला पूर्वाधारका कामको थालनी,सुशानसनको अभियान,सामाजिक न्यायका क्षेत्रमा गरेका काम लगायतलाई जनताले मुल्याङ्कन गरिरहको उनले बताए । पटकपटक बदलिने अस्थिर सरकार र सरकारले जनभावना अनुसार काम नगरिरहेको औल्याउँदै उनीहरु प्रतिको आक्रोशले हाल राजावादीहरुले टाउको उठाउँदै गणतन्त्रलाई आक्रमण गर्ने प्रयास भइरहेको जनाए । खिचातानीको प्रवृत्तिबाट सबै दल नसच्चिए व्यस्था माथि निरन्तर प्रहार हुने उनको भनाई छ ।
जनताको लामो बलिदानीले प्राप्त गणतन्त्रको रक्षाका लागि दलहरु एकजुट हुनुको विकल्प नरहेको बताउँदै माओवादी पार्टी जनताको हितमा काम गर्न अगुवाईको भूमिका निर्वाह गर्ने संकेत गरे ।