पाँचथरः फिदिममा जारी ११औँ फाल्गुनन्द गोल्डकपमा मच्छिन्द्र फुटबल क्लबले झापा ११ फुटबल क्लबलाई पराजित गर्दै क्वाटर फाइनल खेलमा प्रवेश गरेको छ ।
मच्छिन्द्रसँग ५-० गोलको नतिजाबाट लज्जास्पद हार व्यहोरेको झापा ११ पहिलो चरणबाटै बाहिरिएको छ । आज भएको दोस्रो प्रि क्वाटर फाइनलमा मच्छिन्द्र झापामाथि एकलौटी हाबी बन्यो । पहिलो हाफको १९औँ मिनेटमा बिजु भुजेलको कर्नर किकमार्फत देवेन्द्र तामाङले गोल गर्दै अग्रता बनाएको मच्छिन्द्र पहिलो हाफमा ३-० गोलको अग्रतामा रह्यो । दोस्रो हाफमा थप दुई गोल गर्दै फराकिलो गोलअन्तरको जित दर्ता गरेको हो ।
मच्छिन्द्रको जितको लागि बिजु भुजेलले दुई, देवेन्द्र तामाङ,उत्सव राई र सौरभ सुब्बाको नाममा समान एक-एक गोल रह्यो । खेलको प्लेयर अफ दी म्याच मच्छिन्द्रका बिजु भुजेल भए । उनले नगद दश हजार प्राप्त गरे ।
फाल्गुनन्द गोल्ड कपमा भोलि सोमबार पहिलो क्वाटर फाइनल खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्ने छन् । १० टिम सहभागी रहेको गोल्ड कपको विजेताले १० लाख ५५५ र उपविजेताले ५ लाख ५५५ प्राप्त गर्नेछ ।
फिदिम नगरपालिका प्रवद्धक रहेको गोल्डकपको आयोजना फिदिम स्पोर्टिङ क्लबले गरेको हो ।
हिजो उद्घाटन खेलमा भारतको कर्साङ फुटबल क्लबलाई आयोजक फिदिम स्पोर्टिङ क्लबले पराजित गर्दै विजयी शुरूवात गरेको छ ।
फिदिम माविको खेल मैदानमा शनिबार सम्पन्न उदघाटन खेलमा भारतको कर्साङ फुटबल क्लबलाई पेनाल्टी सुट आउटमा चारका विरूद्ध पॉच गोलले पराजित गर्दै आयोजक गोल्डकपको क्वाटर फाइनल पुगेको हो । अब आयोजकले पहिलो क्वाटर फाइनलमा पुस ८ गते त्रीभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।-गोलनेपालबाट