‘चुलाचुलीबासीलाई साँच्चिकै संघीयताको अनुभूत गराएका छौं’ : अध्यक्ष राई

प्रदीपचन्द राई, अध्यक्ष चुलाचुली गाउँपालिका इलाम

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट इलामको चुलाचुली गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईसँग गाउँपालिकाले गरेका कामका बारेमा नयाँ बुलन्दका लागि सम्पादक राम योङहाङले गरेको संवादको संपादित अंश :

कार्यकालको अन्तिम समयमा हुनुहुन्छ, आफ्नो आफैंले कसरी मूल्यांकन गर्नुभएको छ ?

–निर्वाचित भएर आएपछि बिदा लिने समयसम्म आइपुग्दा जुन परिकल्पनाका साथ आएका थियौँ सोचेजस्तो प्रगति गर्न सकिएन । हामीलाई धेरै कुराहरूको अभाव थियो । २०औँ वर्षसम्म जनप्रतिनिधिको अभावमा कर्मचारीले शासन व्यवस्था सञ्चालन गरेका थिए । थुप्रै ऐन तथा कानुनहरू निर्माणदेखि भौतिक पूर्वाधार निर्माणका कामहरू गर्नुपर्ने भएकाले निकै समस्या हुँदो रहेछ । हामीले थुपै्र जटिलता पार ग¥यौँ । अब आउने जनप्रतिनिधिले त्यो झेल्नु नपार्ला ।

जनताले साँच्चिकै संघीयताको अनुभूत गर्न पाएका छन् त ?
हामीले सकेसम्म चुलाचुलीवासी जनताहरूलाई संघीयताको अनुभूत हुने गरी सेवा प्रवाह गर्न खोज्यौँ । हरेक विषयहरूमा त्यसलाई गम्भीरताका साथ लियौँ । संघीयताको महसुस हुनेगरी नै हामीले पहलकदमी ग¥यौँ । विकासका कामहरूदेखि यावत कुराहरूको सेरोफेरोभित्र हामीले संघीयताको मर्मलाई आत्मासाथ ग¥यौँ । जनताको घरघरमा पुगेर सेवाप्रवाह गरेका छौँ । संघीयता आइसकेपछि अलिकति फरकचाँही पर्दो रहेछ, स्थानीय सरकार पनि अधिकारसम्पन्न हुने र यसले इच्छाशक्तिका साथ ऐनकानुनलाई सर्वोपरी मानेर काम गर्न खोज्यो भने गर्न सकिने रहेछ भन्ने कुरा चुलाचुलीवासीले अनुभूत गरेका छन् ।

शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आधारभूत अधिकारका क्षेत्रमा के के परिवर्तन गर्नुभयो ?
हामी जतिखेर निर्वाचित भएर आएका थियौँ । त्यतिबेला धेरै सामुदायिक विद्यालय भवनविहीन थिए । विद्यार्थीहरू भुइँमा बसेर पढ्नुपर्ने अवस्था थियो । अहिले हामीले विद्यार्थीको अनुपातमा सुविधासम्पन्न भवनहरू बनाएका छौँ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत सात वटा विद्यालयका भवन बनाएका छौँ । त्यसैगरी संघीय सरकारसँगको समन्वयमा पाँच वटा बहुतले भवन बनाएका छौँ । तराई मधेस समृद्धि कार्यक्रमअन्तर्गत पाँच वटा बहुतले भवनहरू निर्माण गरका छौँ ।

यस्तै बालविकास केन्द्रमा कार्पेट बिच्छ्याएर, खेलकुद र मनोरञ्जनका सामग्रीको व्यवस्था गरी बालमैत्री शिक्षामा जोड दिएका छौँ । यहाँ लिम्बू समुदायको बाहुल्यता रहेकाले स्थानीय मातृभाषालाई व्यवस्थित गर्न समिति गठन गरेर स्थानीय भाषाको पाठ्यक्रम निर्माण गरिरहेका छौँ । त्यसको काम अन्तिम चरणमा पुगेको छ । अहिले चार वटा विद्यालयमा आधारभूत तहमा मातृभाषा लिम्बू भाषा पढाइ अध्ययनअध्यापन गरेका छौँ । त्यसका लागि गाउँपालिकाबाट मातृभाषा शिक्षक अनुदान दरबन्दीको व्यवस्था गरी शिक्षक नियुक्त गरका छौँ । त्यस्तै अंग्रेजी माध्यम र कम्प्युटर शिक्षालाई पनि जोड दिएका छौँ । त्यसका लागि पनि अनुदान शिक्षक दरबन्दीको व्यवस्था गरिएको छ । पहिलेभन्दा सामुदायिक विद्यालयमा अध्ययन गर्नेको संख्यामा समेत वृद्धि भएको छ ।

उपचारै नपाएर ज्यान जोखिममा पार्नुपर्ने अवस्था चुलाचुली गाउँपालिकामा छैन । संविधानमा मौलिक हकले व्यवस्था गरेको नागरिकमा आधारभूत स्वास्थ्य सेवाको पहुँच स्थापित गर्न गाउँपालिका लागिपरेको छ । वडा–२ मा १५ शैयाको निर्माणधिन अस्पतालको काम अन्तिम चरणमा पुगेको छ । स्वास्थ्यचौकीलाई स्तरोन्नति गरिएको छ । त्यसैगरी स्वास्थ्यचौकी नभएको सबै वडामा सामुदायिक स्वास्थ्य केन्द्रहरू स्थापना गरी स्थानीय स्तरबाट नै स्वस्थ्य सेवा प्रदान गरिएको छ । त्यसकारण स्वास्थ्य क्षेत्रमा हामी आउनुभन्दा पहिले जुन नियती चुलाचुलीवासीले भोग्नुपरेको थियो, त्यो हटेको छ ।

यस्तै विभिन्न दातृ निकायको सहयोगमा ठूला खानेपानी आयोजना सञ्चालन गरी स्वच्छ पिउने पानीको व्यवस्था गरका छौँ । पानी पिउन नपाएको गुनासो सुन्न परेको छैन । समथर भूभाग भएका कारण जमिनमुनीबाट लिफ्टिङ गरेर खानेपानी व्यवस्थापन गरिएको छ । ठूला योजना सञ्चालन नभएका ठाउँहरूमा समेत वैकल्पिक पम्पको व्यवस्था गरी पिउने पानी र सिंचाइको व्यवस्था गरिएको छ ।

अन्य क्षेत्रमा चाहिँ के के परिवर्तन भएको छ ?
पूर्वाधार विकासअन्तर्गत टोलटोलमा बाटोघाटो र वडावडामा खेलमैदान निर्माण गरेका छौँ । प्रदेश सरकार र चुलाचुली गाउँपलिकाको साझेदारीमा अहिले वडा–४ र २ मा सात किलोमिटर सडक कालोपत्रे गरिएको छ । चालु आर्थिक वर्षमा बाँकी चार वटा वडामा लगभग सात करोडको लगानीमा कालोपत्र गर्न ठेक्का आह्वान गरिसकेका छौँ । सबै वडामा करिब डेढ किलोमिटरका दरले कालोपत्रे हुनेछ । यसलाई बहुवर्षे योजनाअन्तर्गत राखेका छौँ । हामीले छोड्दैगर्दा सबै वडाका जनताले धेरथोर जति भए पनि कालोपत्रे सडकको उपभोग गर्न पाउनेछन् । त्यस्तै हामी आउँदा ट्रयाक मात्र भएको सडकमा ग्राभेल गरिएको छ । अधिकांशमा उच्च ग्राभेल र केही ठाउँमा लुच ग्राभेल गरेका छौँ । नयाँ सडकमा समेत केहीमा बाहेक सबैमा ग्राभेल भइसकेको छ ।

त्यस्तै हामी अध्याँरोमुक्त गाउँपालिकाको तयारीमा छौँ । हामी आउनुभन्दा पहिले नै वडा नम्बर १ देखि ५ सम्मका वडाका अधिकांश टोलमा केन्द्रीय प्रसारणको विद्युत् विस्तार भइसकेको थियो । केही बस्ती तथा टोलमा हामीले विद्युतीकरण गरेका छौँ । अहिले ती वडाको कुनै टोलवस्तीमा बत्ती यसमा गुनासोे छैन । वडा–६ को माथिल्लो भेगमा भने लघुजलविद्युत् र पेल्ट्रिकसेट केही ठाउँमा थियो । अहिले लगभग सबै वडा र टोलमा विद्युतीकरणका लागि पोल गाड्ने काम सम्पन्न भइसकेको छ ।

यता पर्यटन विकासका लागि यहाँको पर्यटकीय विस्तृत सम्भाव्यता अध्ययन गरेर गुरुयोजना निर्माण गरेका छौँ । गुरुयोजनाअनुसार काम अगाडि बढाएका छौँ । शिवपरक मिलनपोखरी, तीनकुने, हाम्रो चपेटी, अन्धराजा, कुँडीबजार, कुइनेटार लगायतको क्षेत्रको विकासका लागि पूर्वाधार विकासमा लगानी गरेका छौँ । उता जाति र भाषिक बाहुल्यताका आधारमा वडा–१ मा ‘लिम्बू’ भाषालाई सरकारी कामकाजी लागू गरिएको छ । गत वर्षदेखि ‘लिम्बू’ भाषा र ‘किरात सिरीजंगा’ लिपीलाई सरकारी कामकाजीको रूपमा प्रयोगमा ल्याइएको छ ।

विद्युतीय शासनको अवस्था कस्तो छ ?
चुलाचुली गाउँपालिकालाई विद्युतीय शासनको रूपमा अगाडी बढाइएको छ । वडा र गाउँपालिकाको काम कम्प्युटर र इन्टरनेटको प्रयोगबाट हुँदै आएको छ । सेवाग्राहीलाई छिटो, छरितो र पारदर्शी सेवा दिने नीति अनुसार सबै काम अनलाइनबाट गर्न थालिएको छ । कहिलेकाँही केन्द्रीय विद्युत् अवरुद्ध भए पनि सबै वडा कार्यालयमा सोलार जडान गरिएको छ । घटना दर्ता र राजस्वलाई अनलाइन प्रणालीमा लागू गरिएको छ । त्यस्तै सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण गर्ने गरिएको छ । यसैगरी स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) मा आधारित लेखा प्रणाली थालनी गरिएको छ । सबै शाखा र वडा कार्यालयमा सिसी क्यामेरा जडान गरि अनुगमन गर्ने प्रणालीको विकास गरिएको छ ।

बेरोजगारी समस्या समाधानका लागि के गर्नुभएको छ ?
कोरोना महामारीका कारण धेरै युवाहरू विदेशबाट फर्किएका छन् । विदेशबाट फर्किएका र स्वदेशमा नै बसेर आयमूलक र व्यावसायिक काममा लाग्नुभएका युवाहरूका लागि कृषिकेन्द्रित कार्यक्रममा सहयोग गरेका छौँ । स्वदेशमा नै बसेर स्वरोजगार बन्न चाहने त्यस्ता युवाहरूका लागि सीपमूलक तालिम, व्यावसायिक तालिम सञ्चालन गरिरहेका छौँ । व्यवसाय नै दर्ता गरेर लाग्नुभएका युवाहरूका लागि गाउँपलिकाले सीप विकास गर्न तालिम प्रदान गरी दक्ष बनाई व्यवसायसँग मिल्ने यान्त्रिक उपकरणहरूर बिउवीजनहरू प्रदान गर्ने गरका छौँ । प्राथमिकताका आधारमा ७५ प्रतिशत गाउँपालिकाको र २५ प्रतिशत कृषकको साझेदारीमा त्यस्ता उपकरणहरू वितरण गरेका छौँ । आजकल माग्न आउन छोडिसके, आफैँ व्यवसायी बनेका छन् ।

स्थानीय सरकार चलाउन खास समस्या के के रहेछन् ?
सुरुमा ऐन तथा कानुन पर्याप्त रूपमा नभएको र आपैmँ बनाउनुपर्ने अवस्था थियो । संविधानले धेरै अधिकारहरू साझा सूचीमा राखेको छ । हाम्रो एकल अधिकारको सूचीमा परेका अधिकारहरूको लागि ऐन तथा कानुनहरू बनाइसकेको अवस्था छ । ऐन तथा कानुनहरू नबन्दासम्म समस्या थियो । बनिसकेपछि त्यसलाई टेकेर अगाडि बढ्न सहज भएको छ । कहिलेकाहीँ साथीहरूबाट सहयोग भन्दा असहयोग हुँदा केही समस्या भोग्नुप¥यो । तैपनि चुलाचुली गाउँपालिकामा अन्यत्रका तुलनामा सहज नै भयो । स्थानीय सरकार बजेट र अधिकारसम्पन्न शक्तिशाली सरकार भएका कारण सञ्चालनमा केही समस्याचाहीँ हुँदोरहेछ ।

स्थानीय प्राकृतिक स्रोतसाधनको उत्खनन् र उपयोग कत्तिको व्यवस्थित गर्नुभएको छ ?
हामीसँग स्थानीय मुख्य प्राकृतिक स्रोतका रूपमा रतुवा र मावा छन् । कानुनी प्रक्रिया पूरा गरेर मात्र त्यस्ता प्राकृतिक स्रोतसाधनको उत्खनन् गर्न दिएका छौँ । वातावरणविद्हरूको सहयोगमा वातावरणीय प्रभाव मूल्यांकन गरेर मात्र उपयोग गरिएको छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत पर्ने भएकाले वातावरणीय मूल्यांकन गरेर त्यसको प्रतिवेदन राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिबाट स्वीकृत गरेर त्यसैको आधारमा तोकिएको निश्चित क्षेत्रलाई ठेक्का आह्वान गरेर प्राकृतिक स्रोतसाधनको उत्खनन् र उपयोग भइरहेको छ ।

आर्थिक पारदर्शिता कसरी गर्ने गर्नुभएको छ ?
–स्थानीय तहको मुख्य चुनौतीमध्ये आर्थिक पारदर्शिता पनि एक हो । त्यसैले आर्थिक पारदर्शितालाई कडाइ गरिएको छ । धेरै आर्थिक चलखेल योजनामा हुने जनगुनासो आएकाले ठूलठूला योजनाहरू ठेक्कामार्फत गर्ने गरेका छौँ । उपाभोक्ता समितिमार्फत हुने काममा सार्वजनिक परिक्षण, सार्वजनिक सुनुवाइ अनिवार्य गरिएको छ । होर्डिङ बोर्ड राख्ने, क्वालिटी र क्वान्टिटीको परिक्षण पश्चात मात्र भुक्तानी गर्ने गरिएको छ । योजनाको विषयमा सम्बन्धित स्थलमा उपभोक्ताहरू नै भेला गरेर नै सार्वजनिक परीक्षण गर्ने र सार्वजनिक सुनुवाइ गर्ने गरिएको छ । सुशासनका लागि कार्यालयबाट भए गरेका विकास निर्माण र सेवा प्रवाहसम्बन्धी त्रैमासिक रूपमा सार्वजनिक सुनुवाइ गर्ने गरिएको छ ।

संघ र प्रदेश सरकारको व्यवहार कस्तो पाउनुभएको छ ?
संघ र प्रदेश सरकारको व्यवहार सम्मानजनक नै पाइएको छ । संघ र प्रदेश सरकारबाट अन्य स्थानीय तहले पाएजस्तै सहयोग पनि राम्रै पाइरहेका छौँ । भएसम्मको साथ सहयोग सहानुभूति पाइएको छ । अधिकारमा कहीँकतै विवाद र समस्या छैन ।

तपाईंले चाहेर पनि गर्न नसकेका काम केही छन् ?
त्यस्तो महत्वकांक्षी योजना बनाएका थिएनौँ । सामान्य रूपमा हामीले गर्न सक्ने कामको मात्र योजना बनाएका थियौँ । त्यो सोचे अनुसार भएकै छ । शतप्रतिशत भएन होला, केही बाँकी रहे होला । तैपनि त्यो पूरा गर्ने गरी फेरि पनि आउने अर्को सरकार बन्छ । त्यो सरकारमा हामी आए पनि अरू कोही आए पनि त्यसले पनि पूरा गर्छ होला । हामी आए पनि नआए पनि दोस्रो कार्यकाललाई हामीले थालेको कतिपय बहुवर्षे र राम्रा तर अपूरा योजनाहरूलाई निरन्तरता दिनुहुन्छ भन्ने आशा छ ।

अन्त्यमा थप केही भन्न चाहानुहुन्छ ?
हामीले जेजति ग¥यौ, गर्न सक्यौँ यो चुलाचुलीवासीले सकारात्मक ढंगले लिनुभएको होला । अहिलेसम्मको अवस्थामा आउनुका लागि चुलाचुलीमा बसोवास गर्नुहुने र विदेशमा बस्नुहुने सम्पूर्णमा चुलाचुलीवासी साथीभाइहरूको सहयोगले पुगेको र यसका लागि उहाँहरूलाई धन्यवाद । चुलाचुलीवासी जनतालाई प्रदेश र संघभन्दा स्थानीय तह अलिकति फरक भएकाले इमानदार, कुशल, अनुभवी, योग्यता, दक्षता, क्षमता भएको जाति, पार्टी र धर्मभन्दा अलि माथि उठेर त्यस्ता व्यक्तिलाई आउँदो निर्वाचनमा मध्यनजर गरेर निर्वाचित गर्न पाए अझ चुलाचुली गाउँपालिका समृद्ध बन्न सार्थक हुनेछ भन्ने अनुरोध र सुझाव छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार