लासमाथिको फूल (कथा)

  भीम राई  195 पटक हेरिएको

भीम राई

‘मम्मी ! बाइ बाइ !’

गोधुँली साँझमा थरर काम्दै उनको मुखबाट निस्केको त्यो अस्पष्ट शब्द हावाको गतिसँगसँगै मिसिरहेको थियो । तिनै शब्दले राम्ररी पुर्णबिराम लिन नपाउदै आफ्नो प्यारी मम्मीको नजिकै पुगेर उनले गर्ल्याम्मै अङ्गालो हाल्यो र एकछिनसम्म अङ्गालोमा बाँधिइरह्यो ।

घरको भुइतलामा काठका ठूल्ठूला फल्याकहरु बिछ्याइएका थिए । तिनै फल्याकहरुमाथि उनले टेकेको टकटक आवाज पर्खालको भित्तासम्म पुगेर प्रतिध्वनिमा परिवर्तन भइरहेका थिए । त्यसरी आएको आवाजहरुसँगै निरजका सुस्तसुस्त कदमहरु घरको मुलढोका नजिकै पुगेको थियो । मूल ढोकामा पुगेर घन्द्रङ्ग ढोका खोलिँदा टकटक एकोहोरो आइरहेको आवाज परिवर्तन भइसकेका थिए । तीनै आवाजसँगसँगै ऊ घरदेखि सरासर बाहिर निस्क्यो । घरदेखि बाहिर निस्किदा उनको दाहिने काँधमा ल्यापटप राख्ने सानो झोला झुन्डिरहेको थियो । यदि त्यो झोलालाई राम्ररी नजर लगाउने हो भने झोला एकाध लिङ्गेपिङझै हल्लिरहेको थियो । खै किन हो किन उनले त्यस झोलालाई खासै वास्ता गरिरहेको देखिएको थिएन तर देब्रे हातले कारको चाँबीलाई कक्रकै समातिरहेको मैले एकदम नजिकदेखि नियालिरहेको थिएँ ।

हाम्रो घरको ठिक बायाँतिर नोराल सडक पर्दथ्यो । तिनै सडक किनारमा निरजको कार गत रातदेखि मज्जाले आराम गरिरहेको थियो । तीनै कारको सहयोगले ऊ बिगत पाँच बर्षदेखि काममा जाने र आउने गरिरहेका थिए । उनले काम सुरु गरेदेखि बचाँएको पहिलो ६ महिनाको तलवले खरिद गरेको त्यो नै उनको जीवनको पहिलो कार थियो । तर, जतिजति उनको टाउकोको केस पाक्दै गइरहेको थियो, कारको उमेर पनि उनको उमेरसँगसँगै ढल्कदै जाँदै थियो ।

घर बाहिर निस्केपछि निरज कछुवा गतिमा हिडेर कारको नजिकै पुग्यो । त्यहाँ पुग्ने बितिक्कै कारको ढोका खोल्यो र थपक्कै झोलालाई उनको बायाँ सिटमा राख्यो । त्यसपछि कर्के नजरले मलाई एकझलक हेर्दै कारभित्र पस्यो । कारको सिटमा राम्ररी बस्न पाउँदा नपाउँदै खट्टट कारलाई स्टार्ट गरिहाल्यो । आफ्नो छोराले घर छाडने बेलामा एकमुरी पिरको भारी बोकेर म तिनै सडकको पेटिमा उभिरहेको थिएँ । र, उनले घर छाडनै लागेको त्यति बिरमाइलो दृश्य राम्ररी नियालीरहेको थिएँ । लिभरपुल सहर छाडेदेखि म्यानचेस्टर, बर्मिङघाम, वुस्टर र कभेन्ट्रिमा ऊ पटकपटक कामको सिलसिलामा डेरा सरिरहेको थियो । ति सबै बिगतका समयलाई औंला भाँचेर गन्ने हो भने पाँचवटा बिरमाइलो हिउँदहरुसँग मिसिएर बितिसकेका थिए तर अझै यसरी कतिवटा हिउँदहरु बिताउनु पर्ने होला भनेर म थोरै भावुक बनिरहेको थिएँ ।

समय बेलुकीको ७ बज्नै लागेको थियो । निरजले कार स्टार्ट गरेपछि खाली सडकमा कारको इन्जिनले कोलाहलमय वाताबरणलाई थोरै चुनौती दिइरहेको थियो । ऊ त्यसबेला ‘जोन रेडक्लिफ अस्पताल, अक्सफोर्डमा’ जानको लागि तयार हुँदै थियो । तर, के गर्ने ? त्यसबेलाको परिस्थिती पहिले पहिलेको जस्तो सहज पटक्कै थिएन, बिलकुल फरक थियो । गत डिसेम्बर महिनादेखि वुहान, चीनमा उत्पन्न भएको कोरोना भाइरसले बेलायत पनि अछुतो रहन सकिरहेको थिएन । र, तीनै भाइरसलाई वशमा ल्याउनको लागि अर्को हप्तादेखि पुरै बेलायत लकडाउनमा जाँदै थियो ।

अझै सबैभन्दा खेदजनक कुरो त के थियो भने तिनै कोरोना भाइरसले स्पेन र इटालीमा मरेका मानिसहरुको लासको पहाडलाई ब्यवस्थित गर्न त्यहाँको सरकारहरुलाई हम्मेहम्मे परिरहेको थियो । तिनै बिरमाइलो समाचारका हेडलाइन्सहरु हरेक बेलुकी टेलिभिजनको पर्दामा देखिँदा मेरो आङ्ग जिरिङ्ग जिरिङ्ग हुने गर्दथे । सारा विश्वभर आक्रन्त फैलाउने त्यस भाइरसले मानब जीवन नै तहसनहस पार्ने हो कि के हो भनेर म भयानक चिन्तामा डुबिरहेको थिएँ । अझै भाइरसले सबैभन्दा बढि असर त चीनदेखि इटालीसम्मको चिकित्सकहरुलाई नै पहिले मृत्युको काखमा पुरयाइरहेका थिए ।

‘अब तिनै कोरोना भाइरसले कस्को आँसु छचल्किएर पहिले पोखिने हो ?’ भन्दै मैले त्यसबेला सडक किनारमा बिछ्याइएका अलकत्रतर्फ निक्कैबेर हेरेर आफुले आफैलाई प्रश्न गरिरहें ।

हामी तिनताका बेलायतको एउटा सानो गाउँ बानबुरीमा बस्दै आएका थियौं । तिनै गाउँ बानबुरीमा गत रात विशाल हावा र हुन्डरी चलेको थियो । ठूल्ठूलो बछिटा सहित घरको चौंघेरामा रातभरी पानी बर्षेको थियो । बेलायतमा बसाइ सरेपछि त्यति धेरै आकास गड्याङगुडुङ्ग गर्दै मेघ गर्जेको त्यस रातभन्दा पहिले कहिले सुनिएको थिएन । वास्तवमा भन्ने हो भने त्यसरातको नरमाइलो मौसमलाई उदेक नै मान्नु पर्छ । तिनै मौसमलाई सोच्दै गर्दा मेरो भित्री हृदयदेखि निस्केका अनुत्तरित प्रश्नहरु त्यसबेलासम्म उथलपुथल नै भइरहेका थिए ।

साच्चै ! समय हामी मानिसहरुको सामु कति बलवान हुनेरहेछ भन्दै म निक्कैबेरसम्म गमिरहेको थिएँ । अनि कुन समयमा कुन दिशाबाट कस्तो प्रकारको हुरी बहन्छ भनेर कसैलाई पत्तै नहुने रहेछ । अझै भनौ, समयले त्यसबेला हामीलाई मानिसहरुदेखि मानिस डराउने समय ल्याइसकेको थियो ।

म त्यस बेलासम्म एकाध सडकको किनारमा उँभिरहेको थिएँ । बेलुकी पखको समय सुस्तरी झिसमिसे अध्याँरोमा परिवर्तन हुन थालिसकेको थियो । सडक किनारमा बिजुली बत्तिका ठूल्ठूला खम्बाहरु समानान्तर रुपले गाँडिएका थिए । बेलुकीको ठीक ७ बज्ने बितिक्कै बिजुलीको स्वचालित बत्तिहरु एउटै समयमा झ्वाप्पै बलेर पुरै गाउँ उज्यालो बनायो । त्यसबेलासम्म रिमरिम अध्याँरोमा लुकिरहेको छोराको मुहार बत्तिको प्रकाशले टलक्कै टल्किएको मैले नजर गरें । अझै तिनै बत्तिको प्रकाशले टल्किएको उनको मुहारलाई मैले निक्कै लामो समयसम्म हेरिरहें किनभने त्यो भन्दा उसो अब भेटन पाइएला कि नपाइएला भनेर म ठूलो पिरको भुँमरीमा डुबिरहेको थिएँ ।

छोराले कारभित्र उनको समानहरु मिलाइ सकेपछि हिडनको लागि तयार भयो । तैपनि कार हिडाउन पूर्व उनका नजरहरु एकचोटि म तर्फ हानिएर आयो । म अमुक दर्शकझैं बनेर सडक किनारमा त्यसबेलासम्म उँभिरहेको थिएँ । त्यसरी छोरालाई अन्तिम चोटी बिदाइ गर्नुपर्दा म पिरमा त यस्सै डुबिरहेको थिएँ, तर कुन शब्दले अन्तिम बिदाई गर्नु पर्नेहोला भनेर झन भयभित बनिरहेको थिएँ । किनभने कोरोना भाइरसको महामारीले फेरि हाम्रो भेट हुने हो कि नहुने हो भनेर मेरो मनभित्र त्राशको ज्वारभाँटा झनझन बेगमा उत्पन्न भइरहेको थियो ।

हुनत स्वभावैले म अति बोलक्कड मान्छे थिएँ । तर, त्यसबेला मलाई जिन्दगीमा शब्दहरुको निक्कै ठूलो खडेरी लागेको महसुस भयो । त्यसरी छोरालाई बिदाइ गर्ने समयमा शब्दहरुको आवश्यक्त्ता खडकिएको सम्भवत त्यो नै मेरो जिन्दगीको पहिलो अनुभव थियो । आखिर म त स्वतः शब्दबिहिन नै थिएँ अझै उनको करुणामय हेराइले मेरो हृदय पुरै क्षतबिक्षत भएर जलिरहेको थियो । तैपनि हामी दुवैजनाको नयनहरु त्यति धेरै लामो समयसम्म सँगै रहन नसकेपछि मैले नै मेरो टाउकोलाई घडीको काँटाझैं सुस्तरी दाहिनेतिर घुमाइ दिएँ ।

हिजो बेलुकीदेखि परेको सिमसिमे पानी मध्यान्हमा रोकिएको थियो । त्यति बिघ्न परेको पानीले बानबुरीको ‘हार्डविक हिल’ मज्जाले भिजेको थियो । पानीले लुथुक्रै भिजेको हार्डविक हिलको चुचुरोमा पूर्ण चन्द्रमा टुप्लुकै उदाइरहेको थियो । अन्य समयमा म चन्द्रमालाई अत्याधिक प्रेम गर्ने गर्दथे । त्यसैले हरेक बेलुकी चन्द्रमा उदाएको बेला एक गिलास इटालियन प्रोसेको वाइनको साथमा बैठक कोठाबाटै उनको रमिता हेर्ने गर्दर्थे । अझै कुनै कुनैदिन त स्कटिस हाइल्याण्डर सिङ्गल माल्टको चुस्कि लिँदै चन्द्रमालाई हेरेर घण्टौ समय बिताइरहेको हुन्थे । मादक पदार्थको सेवनले मदहोस भएपछि तिम्रो सुन्दर बक्षस्थलमा मानवहरुले चुम्वन गरिसकेका छन् भनेर कुकुरझैं एक्लै भुनभुनाएर भुक्ने गर्दथे । तर, त्यसबेलुकी मलाई त्यो पापी चन्द्रमाले किनकिन आकर्षण गर्न सकिरहेको थिएन बरु उनको मुस्कानले उल्टो बितृष्णा पो पैदा गराइरहेको थियो ।

त्यस्तो पापीष्ठ चन्द्रमालाई निक्कैबेर नजर लगाएपछि बोझिलो टाउँकोलाई सर्लक्कै दायाँतर्फ फर्काइ दिएँ । त्यसरी टाउँकोकोसाथमा दायाँ फर्केका मेरा तृप्त नयनहरु भान्साकोठाको झ्यालमा पुगेर ठङलङ्गै ठोकिएको मैले त्यसबेला अनुभूति गरें । भान्साकोठाको झ्यालहरु दुईतिर बङलङ्गै खोलिएका थिए । रात पर्नै लाग्दा आएको फुरुरु हावाले झ्यालको पर्दा सरर पूर्व दिशातर्फ हल्लिरहेका थिए । त्यँही झ्यालदेखि सिम्माले मेरो र छोराको रमिता मज्जाले हेरिरहेकी थिइन । मलाई त्यसबेला सिम्माको टाउको र झ्यालको पर्दा एकअर्कामा लुकामारी खेलिरहेको झैं आभास भइरह्यो । तर, उनको त्यो दर्दनाक हेराईले मलाई कति पिडा दिइरहेकी छिन भन्ने उनलाई के थाहा थियो होला र ?

नोराल सडक किनारमा बलेको बत्तिको प्रकाशले बानबुरी गाउँको मुहार छ्याङ्गै उँज्यालो भइरहेको थियो । म अझै तिनै सडक किनारमा गाडिएको बिजुली खम्बाहरुको एकल साक्षी बनेर एक्लै उभिरहेको थिएँ । अरुबेला खुरुरु साइकल कुदाइ हिडने अङ्ग्रेजका स-साना नानीहरु मार्था, जोन, डेभिड र मिसाइलहरु महामारीको डरले घरदेखि बाहिर निस्कन सकिरहेका थिएनन् । नत्रभने कठङ्ग्रिदो बेलायती हिउँदले बिदा लिएपछि उनीहरुले सडकमा हरेक बेलुकी उधुमै जात्रा मचाउने गर्दथे ।

केहिदिन अगाडिदेखि बेलायती भूमिमा मार्च महिना भित्रिएको थियो । मार्च महिनाले रुखबिरुवा एबम बनस्पतिका कलिला पात र मुनाहरुलाई आत्मियताको साथ स्वागत गरिरहेका यत्रतत्र देख्न सकिन्थ्यो । तर, त्यति राम्रो मौसममा हरेक बर्ष रमाइलो मान्ने बेलायतीहरु बिश्वभरि फैलिरहेको कोरोना महामारीको त्राशदिले नखाउ भने दिनभरिको सिकार तर खाउभने ठेक्कै कान्छा बाबुको अनुहार भइरहेका थिए ।

 “ड्याडी ! आखिर म जानैपर्छ, बरु म गए है ?”

निरजले म तर्फ हेरेर अन्तिम चोटि बिदा माग्यो । खाली सडकमा झनझन साँझ छिप्पिदै गइरहेको थियो । बाहिर सडकमा झलमल्ल बत्ति बलिरहेको भएतापनि कार भित्रका मानिसलाई चिन्न निक्कै कठिन हुन थालिसकेको थियो । तोते बोलिदेखि सुन्दै आएको छोराको त्यो हिमचिमको आवाज मलाई त्यसबेला ज्यादै कर्णपृय लागिरह्यो । त्यसरी बिदाइ गर्नुपर्दा प्रत्युत्तरमा म त्यति धेरै बोल्न सकिरहेको थिइन । तैपनि जबरजस्ती दाहिने हात उठाएर मैले, ‘छोरा ! आफु बाँच्नु र अरुलाई पनि बँचाउनु है ?’ सम्म भन्न सकें ।

मैले छाडेका तिनै शब्दहरु हावामा बिलिन हुन नपाउदै फोर्ड, फिएस्टाको दाहिनेपट्टिको सङ्केत बत्ति बल्न थाल्यो । सङ्केत बत्ति बल्ने बितिक्कै बिस्तारै कारको चक्का गुड्यो र कारले क्रमश: आफ्नो गति अगाडि बढाउँदै लग्यो । मैले एकचोटी लामो सास तानेर छाडन पाउँदा नपाउँदै कार साउथाम पश्चिम सडकमा मिसिन पुग्यो । केहिबेर अगाडिसम्म पापीष्ठ चन्द्रमा भन्दै चन्द्रमालाई असह्य गाली गरिरहेको थिएँ तर तिनै चन्द्रमाको सहायताले त्यसबेला फोर्ड, फिएस्टालाई अनबरत नियाली रहें । हुनत ऊ गएको रमिता हेर्न सिबाए म अन्य के नै पो गर्न सक्थे र ?

चाँदी रङ्गको त्यो फिएस्टा निमेषभरमा बानबुरी बजारभित्र बिलय भयो । त्यसरी थोत्रो फिएस्टाले मलाई सडक किनारमा एक्लै छाडि राख्दा मेरा नयनहरु तरलतरल बनेका थिएँ । अझै आफ्नै घरबाहिर बाटो हराएको एउटा अर्ध पागलझै बनेर निक्कैबेर एक्लै उँभिरहें । म त्यँही सडक किनारमा लगातार उँभिरहेको बेला चहकिलो बत्तिको प्रकाश छर्दै एउटा कालो मटर मेरो सामुन्ने आएर टक्क रोकियो । मटर मेरै अगाडी रोकिएतापनि बत्तिको चहकिलो प्रकाशले चालकलाई राम्ररी चिन्न सकिरहेको थिइन । जब चालकले मटर रोकेर झ्याल खोल्न सुरु गरयो त्यसपछि मात्रै मैले उनलाई राम्ररी चिन्न सकें । तर, उनले मटरको झ्याल खोल्ने बितिक्कै मलाई हेरेर बोल्न थाल्यो ।

‘मेरो मित्र ! वर्तमान अबस्था मानिसहरुले सोचेको भन्दा निक्कै नाजुक रहेको छ । किनभने कोभिड १९ को बिमारीहरुले हर्टन अस्पताल, बानबुरीको बिस्ताराहरु पुरै भरिसकिएका छन् । अस्पतालमा भएको जम्मा २ सय ३६ बेडहरु मध्य एउटा बेड पनि खाली छैनन् ।’

एकदम निक्खर कालो तर नयाँ बेलायती रेन्जरोभरमा आएको डा. जोन फ्रान्सिस मेरो पल्लो घरको अशल छिमेकी मानिस हुन् । र, उनी हर्टन अस्पतालको अपरेसन बिभागमा सिनियर कन्सल्टेन्टको पदमा काम गर्दछन् । उनको मुखबाट निस्केको तिनै करुणामय शब्दहरुले मेरो मनभित्रको सागरमा ठुलो ज्वारभाटा मच्चिन थाल्यो । किनभने मैले भर्खरभर्खरै आफ्नो डाक्टर छोरोलाई बिदाइ गरेर उनको कर्तब्यपथमा लम्किरहनको लागि जोन रेडक्लिफ अस्पताल, अक्सफोर्डमा पठाएको थिएँ ।

त्यति अशुभ खबर बाँडी राखेर डा. फ्रान्सिस म बाट बिदा मागेर हिड्यो । समयले नेटो काटिरहेको थियो, ‘घरभित्र पस्ने होइन ?’

अचानक सिम्माले छाडेकी उँराठिलो स्वर बरालिदै मेरो कानको जाली नजिक आएर ठोकियो । म त्यसबेला भयानक ठूलो त्रासदिको भुँमरीमा चुर्लुम्मै डुबिरहेको थिएँ । उनकी स्वर सुनेपछि थोरै आत्मबिश्वासको साथ घरभित्र पस्न थाले । घर भित्र पस्दै गर्दा मनमनै सोचे, ‘आखिर यो संसारमा भएका सबै चिजहरु क्षणिक हुन, कुनै न कुनै दिन कोरोनाको पनि कसो अन्त्य नहोला र ?’

निश्चित गन्तब्य लिएर सुस्तरी घरभित्र छिरेका मेरा पयरहरु सिम्माको नजिक पुगेर थपक्कै बिश्राम गरे । मेरा पयरहरु निशब्द त्यहाँ पुगेर सिम्माको खुट्टामा ठोकिएपछि उनको थकित, शिथिल एबम क्लान्त अनुहारलाई मैले राम्ररी पढन थालें । फुङ्गै उडेर खरानी रङ्गमा परिणत भइसकेको उनको अनुहारलाई हेरेर मलाई केहि बोल्न मन लागिरहेको थिएन । तैपनि मैले मेरो मुखलाई धेरैबेरसम्म निषेध राखिरहन सक्त्तै सकिन त्यसैले मलिन स्वरमा बोल्न थालें ।

‘खै ! अब हाम्रो छोरासँग भेट हुने हो कि नहुने हो ?’

तर, मेरा शब्दहरुको अन्त्येष्ठी हुन पाउँदा नपाउँदै उनकी आँखाका नानीहरु पुरै पाकेका गोलभेडा जस्ता राताराता हुन थाले । उनका आँखाहरु मात्र त्यसबेला राताराता भएका थिएनन्, ओष्ठहरु थरर कापिरहेका थिए तैपनि जबरजस्ति उनले सानो स्वरमा मुख खोलिन ।

‘खै ! म पनि के नै भन्न सक्छु र ?’

बिना सहानुभूति आएको प्रतिउत्तरले मेरो बायाँ छाँतीमा धनुषबाँण प्रहार गरेको जस्तो अनुभूति भयो । हुनत मैले जस्तो प्रश्न गरेको थिएँ, त्यस्तै जबाफ फर्केर आएको थियो । लिभरपुल विश्व बिधालयदेखि जुन दिन छोरा चिकित्सक भएको थियो । त्यस दिन सबैभन्दा बढि प्रसन्न त उनी नै भएकी थिइन । तर, हरेक सुखको अन्त्यमा पीडा लुकेको हुन्छ भन्ने उनलाई त्यसबेला के थाहा थियो र ?

त्यसबेला, हामी दुवैजना भान्सा कोठामा बसिरहेको थियौ । छोराले घर छाडेर हिडेपछि मलाई सिम्मासँग त्यति धेरै गलबाजी गरिरहन मन लागिरहेको थिएन । त्यसैले उनलाई एक्लै छाडिराखेर म सुस्तरी बैठक कोठामा पुगें । बैठक कोठा एउटा भूतबङ्गला जस्तै निसबन्द अँध्यारो थियो । तैपनि कोठाभित्र छिर्ने बितिक्कै पर्खालको भित्तामा रहेको बिजुलीको बटमलाई टक्क थिचेर बत्ति बालें र आलिशान सोफामा बसेर दुवैहात थपक्कै गालामा राखें ।

बैठक कोठाको बायापट्टि कुनामा डेनम कम्पनीको एउटा पुरानो अमेरिकन रेडियो थियो । आक्कल झुक्कल बज्ने त्यो रेडियोमा मेण्डरिन भाषाकी बहुचर्चित गायिका टेरेसा वङ्गको सुमधुर प्रेम गित, ‘म तिमीलाई अशाध्यै माया गर्छु,’ भन्ने बजाएर छोराको आकर्षक अनुहारलाई मज्जाले सम्झन थालें । रेडियोको ठिक सामन्ने एउटा ठुलो तस्विर सङ्ग्रहको पुस्तिका थियो । सुस्तरी त्यसलाई खोलेर त्यसको हरेक पानामा मज्जाले नजर लगाउन थालें । जुन तस्विर सङ्ग्रहमा निरज जन्मेदेखि तीसौ बार्षिकी मनाइन्जेल सम्मको तस्बिरहरु कैद गरिएर राखिएका थिएँ ।

हुनत मैले त्यसरात मादक पदार्थलाई छुँदै छोएको थिइन । तैपनि मदहोस बनेर लामो समयसम्म उनको तस्बिरहरु मज्जाले नियालि रहें । बानबुरी गाउँको कोलाहलमय रात क्रमशः छिपिदै जाँदै थियो । तस्बिरले छियाछिया बनाएका दुखि आत्मा लिएर आराम गर्नको लागि बिस्तारै तलामाथि चढँन थालें । किनभने, ‘आखिर तस्बिर तस्बिर नै हुन्छ, त्यो जतिसुकै पृय भएपनि आवाज बिहिन हुन्छन्,’ भन्ने मेरो मनमा लागिसकेको थियो ।

निरजले घर छाडेको दुईहप्ता पुग्दा भाइरसले दिन दुई गुणा, रात चौ गुणा मानिसहरु मृत्युको सिकार बनिरहेका थिए । चिकित्सक छोराको अत्याधिक मायाले सिम्मा बाटो भुलेको एउटा निमुखो जनावरको बच्चा झै बनिरहेकी थिइन । अनि मैले त्यो खङरङ्ग परेको उनको निर्बल, निष्कृय र मधुरो अनुहारलाई हरेक साँझबिहान जल चढाँएर जीवन दिइरहनु परिरहेको थियो ।

अर्को हप्ता घरको मूल ढोकामा बृहस्पतिबारको दिन टुप्लुक्क झुल्कियो । सोहि दिन बेलुकीको ठीक ८ बजे हामी घरको मुलढोका बाहिर निस्केका थियौं । ढोकाबाट बाहिर निस्केपछि बेलायती ‘राष्ट्रिय स्वस्थ सेवाका’ कर्मचारीहरुलाई सम्झेर ताली बजाउन थाल्यौं । त्यसदिनदेखि हरेक बिहिबार बेलुकीको ८ बजे सबै छिमेकिहरुसँग मिलेर एनएचएसका कर्मचारीहरुले उनीहरुको जीवनलाई जोखिम मोलेर राष्ट्रको सेवा गरिरहेकोमा ताली बजाएर उच्च सम्मान गर्दथ्यौं ।

बानबुरी गाउँमा दिन, रात, हप्ता र महिना क्रमश: बित्दै गयो । चार महिना जति समय बितेपछि हरेक दिन सिम्माले आफ्नो पृय छोरालाई भेटने असाध्यै रहर गर्न थालिन । त्यसैले जुलाई महिनाको पहिलो सप्ताहन्तमा हामी छोरालाई भेटनको लागि अक्सफोर्डतर्फ लाग्यौ । आफ्नो घर बानबुरी छाडेको केहिबेरमा बेलायती ठूलोबाटो ‘एम ४०’ मा पुगेका थियौं । हामी त्यहाँ पुग्दा बाटोमा मोटरले किच्याएर मारेको एउटा फ्याउराको बच्चालाई देख्यौं । अनायसै मरेका फ्याउराको बच्चा देखेर उनले अनुहार कच्याककुचुक बनाउदै बोल्न थालिन ।

‘बुढो ! मानिस र जनावरको जिन्दगी कति फरक छ हगि ?’

म एकसुरमा मटर हाँकिरहेको थिएँ तर अचानक उनको मुखदेखि फ्याट्ट निस्केको त्यो शब्दले मेरो हृदय थोरै बिक्षिप्त भयो । किनभने तिनै फ्याउराको बच्चा जस्तै हाम्रो पनि एउटा हुर्किसकेको बच्चा थियो । अझ तिनै हुर्किसकेको बच्चा हाम्रो आशाको सिङ्गो धरहरा पनि हो । उनैलाई भेटनको लागि हामी समयको बिरुध्द बाटोमा तुफान बेग मारिरहेका थियौ ।

बाटोको मौसम ज्यादै सफा थियो । वर्किङ्हामसायरको चिल्टर्न पर्बतदेखि उदाएको सूर्यले अक्सफोर्डसायरको आकाशमा दुईटाङ्गो यात्रा गरिसकेको थियो । तिनै सूर्यको गतीसँगसँगै हामीले ठूलो मटरबाटोमा ४५ मिनेट जति यात्रा पुरा गरिसकेको थियौ । त्यसपछि अक्सफोर्ड सहरमा रहेको एउटा घर १० नोवल सडकको सामुन्ने पुगेका थियौं । अक्सफोर्डको तिनै घरमा इटालियन डा. पाब्लो पियानो र ग्रिक नर्स उरानिय हाटसिउसँगसँगै हाम्रो छोरोले पनि डेरागरेर बसेका थिए ।

मैले निरज बसेको डेरा अगाडि पुगेर आफ्नो मोटरलाई घग्रक रोकें । मटर रोकिने बितिक्कै सिम्माले छोराको लागि बनाई दिएकी चाउमिन, मोमो र सिन्कीको अचारको पोको उनको कोठाको अगाडि लगेर थपक्कै राखिदिइन । त्यसपछि उनी फर्केर मोटरभित्र आउने बितिक्कै हामी केहि पछाडि फर्क्यौ र कारदेखि छोरालाई फोन गर्न थाल्यौ । बेलायती लकडाउनले चार महिनासम्म बढेर बसिष्ठ ऋषीको जस्तो केस, नाक र मुख जम्मै ढाकेका सर्जिकल मास्क र हातमा एकजोर निलो पन्जा लगाएर छोरा उनको डेरादेखि बाहिर निस्क्यो । शरिरको मासु सकिएर खङरङ्ग घटेर लुते भएको छोरोले त्यँही ढोकाको नजिकै उभिएर हामीसँग फोनमा कुरो गर्न थाल्यो ।

“छोरा ! यस्तो दिन पनि आउने रहेछ हगि ?”

हतारहतार मलाई उछिन्दै सिम्मा नै पहिले बोलिन । हामीले त्यसबेला कारको स्पिकर फोन प्रयोग गरिरहेका थियौ । आफ्नै छोरासँग प्रत्यक्ष भेटेर बोल्न नपाउँदा सिम्माको अनुहारमा कालो बादल मडारी रहेको स्पष्ट देख्न सकिन्थ्यो । त्यसरी छोरासँग बोल्ने क्रममा उनले पटकपटक आँखाका ढकनीहरु बन्द गर्दै खोल्दै गरिरहेकी मैले नजिकबाट राम्ररी नियालीरहेको थिएँ । उनको गहभरि आँसु देखिन्थे र उनले छाडदै गरेकी हरेक शब्दहरुसँग आँसुका थोपाहरु मिसिरहेको हुन्थ्यो । मैले केहिबेरपछि तरल पदार्थमा परिणत भएका उनको नयनहरु रगताम्य देख्न थालिसकेको थिएँ । अनि क्रमश: छचल्कियर पोखिएका उनकी आँसुका थोपाहरु गलाको पछ्यौरीसम्म पुगेर सुस्तरी बिश्राम गरिरहेका थिएँ ।

अन्तमा, “ड्याडी ! मलाई घर आउन एकदम रहर लागिरहेको थियो । अनि सुन्नोस न म हप्तामा दुई-तीन चोटि फोसकोट निजी अस्पताल बानबुरी जाने र आउने गरिरहेको छु । त्यो अस्पतालमा जाँदा हाम्रो घरको अगाडिदेखि कार चलाएर बिहान जान्छु र बेलुकी फिर्छु । त्यसरी घरको अगाडिदेखि जाँदा घरको ढोका ढकढक्याउन मन लागिरहेको हुन्छ । तर, तपाईहरु म सँग डराउनु हुन्छ होला भनेर कहिले घरभित्र पस्ने कोशिस गर्दिन । तैपनि मम्मिले बनाउनु भएको खानेकुराको बासनासँगसँगै हार्डविक हिलको बाटो काटेर अक्सफोर्ड आउने जाने गरिरहेको छु । अब म कहिले घर आउनु पाउँछु होला ?”

निरजको पिडादायक त्यो प्रश्नले मलाई चिकित्सकको बाबु हुनु जतिको पिर अन्य समयमा कहिले परेको थिएन । त्यसबेलासम्म जिवितै रहेका मेरा शरिरका अस्थिपन्जरले साठीवटा हिउँदहरु पार गरिसकेका थिए । तर, त्यतिको बृहत दर्द पहिले कहिले भोगेको थिइन । त्यसैले छोरासँग बाँकी प्रश्नहरुको अपेक्षा गर्न छाडें र उनको तिनै शब्दहरुलाई अन्तिम शब्द बनाउने निर्णय लिएँ । त्यसपछि, केहि नबोलि टिटटिट हर्न बजाँउदै हामी हतारहतार बाटो लागिहाल्यौ । केहि अगाडी पुगेपछि बिँचको ऐना प्रयोग गरेर अन्तिम चोटी उनलाई एकझलक हेरे । उनले त्यसबेलासम्म हामीलाई एकोहोरो क्वारक्वार्ती हेरिरहेकै थियो र उनले दाहिने हात माथीमाथी आकासतिर उँठाएर बिदाइ गरिरहेको थियो ।

अक्सफोर्ड छाडेको अर्को घण्टा हामी बानबुरी गाउँको ठूलो गोलघुम्तिमा पुगेका थियौ । सधै ब्यस्त रहने त्यो घुम्तिमा त्यसबेला एउटै गाडिहरु देखापरेका थिएनन् । तर, साउथम रोडको ट्राफिक बत्तिमा मैले मोटर रोक्दा हाम्रो अगाडि एउटा र पछाडी अर्को कालो मर्सिडिज शबबाहनहरु देख्यौं । अरुबेला शवबाहनको पछीपछि मलामीहरु बोक्ने पुच्छ्रे मोटर गुडिरहेका हुन्थे । तर, त्यसदिन पुच्छ्रे मोटर बिना शवबाहनहरुको बीचँमा हामी परेको थियौं ।

“बुढो ! कोरोना भाइरसले कुनदिन कस्लाई यस धर्तीदेखि सँधैको लागि बिदा गर्ने होला ? अनि यसरी नै शवबाहनमा पहिले को चढनु पर्ने होला ? हुनत त्यस्तो दिन नआएपनि हुन्थ्यो ? यदि त्यो दिन आयो भने के गर्ने होला ?”

साउथम सडकको मध्यान्हमा त्यति राम्रो मौसम भएतापनि हाम्रो अगाडि र पछाडि गुडिरहेका शवबाहनहरुको बीचँमा रहँदा सिम्माको मुखबाट निस्केको त्यो पिडादायक प्रश्नले म निक्कै लामो समयसम्म नाजबाफ बनिरहें ।

अर्को महिना, निरजलाई कोरोना भाइरस लागेको हामीलाई टेलिफोन मार्फत जानकारी दियो । त्यस्तो दुःखद खबर सुनेर हामी उनलाई भेटन चाँहन्थ्यौं तर हामीले चाहेर मात्र हुदैनथ्यो । उनी भ्यान्टिलेटरबाट कृतिम सास लिइरहेको छ भन्ने खवर सुन्यौं तर हामीले केही गर्न सकेनौं । अझै हामीले आफ्नो प्यारो छोरालाई त्यस्तो दुःखद अवस्थामा पनि भेटन पनि पाएनौ । आखिर जे सोचेको थियौं, अन्तमा त्यँही घटना घट्यो । गतराती छोराको मृत्यु भएको खबर डा. पाब्लो पियानोले फोनबाट हामीलाई जानकारी गरायो ।

डा. पियानोको त्यस्तो बिषादी खबर सुन्ने बितिक्कै सिम्मा एक्कासी बेहोस भइन । मैले ९९९ मा टेलिफोन सम्पर्ग गरेर एउटा एम्बुलेन्स बोलाए । एक्कैछिनमा ठूल्ठूलो साइरन बजाउँदै एउटा एम्बुलेन्स आयो र उनलाई हर्टन अस्पतालको सघन उपचार केन्द्रमा पुरयाइयो । एकल छोराको मृत्यु भएको एक हप्तापछि जुलियन फ्युनरल डाइरेक्टरले उनको शबलाई हानवेल समाधिस्थलमा ल्यायो ।

सिम्मा त्यसबेलासम्म हर्टन अस्पतालको मृत्युशैयामा छटपट्टी रहेकी थिइन । तर छोराको अन्त्येष्ठि गर्ने दिन उनको पनि असामयिक देहान्त भयो । हाम्रो परिवारमा तीनजना सदश्य थियौ, आखिरमा म पापी मात्र बाँचें । यदि म पनि मरेको भए हाम्रो पारिवारिक इतिहास नै समाप्त हुन्थ्यो होला तर त्यसो नभएकोले म एक्लै हानवेल चिहान डाँडामा पुगेको थिएँ । कोरोना भाइरसको महामारीले त्यहाँ कोही मलामीहरु उपस्थित भएका थिएनन् । छोराको शरिर जमिन गाडिने समयमा त्यहाँ शोकका धुनहरु बज्न सकेनन् र कोही फूल चढाँउन उपस्थित भएनन् । हातमा एउटा फूलको बुके लिएर चिकित्सक छोराको अन्तिम सन्मानको साथ मट्टी दिन म एक्लै हानवेल समाधिस्थलमा उपस्थित भएको थिएँ । आफुभन्दा अगाडि एकल छोरालाई जमिनमा गाडनु पर्दा चिकित्सकको बाबु हुनुजतिको पिडा यो जिन्दगीमा मलाई कहिलै परेको थिएन ।

त्यति प्यारो छोरा सँधैको लागि जमिनमा गाडिएपछि फ्युनरल डाइरेक्टर जुलियनले उनको शिरमा, “डा. निरज राई एमएमइ वारविक एमआरसिएस लण्डन” भन्ने समाधिस्थलको पथ्थर (हेड स्टोन) राखिदियो । तर के गर्ने ? उनले जिन्दगीभरी मेहनत गरेर कमाएको उपाधि उनी आफैसँग लाँदै थिए । म प्रकृतिपुजक थिएँ । त्यसैले जुलियनले म तिर सङ्केत गरेपछि छोरालाई अन्तिम श्रदान्जली दिने क्रममा मैले दाहिने हात छाँतीमा राखेर पूर्वबाट उदाइरहेको घामलाई एकझलक हेरे । त्यसपछि अन्तिम पटक निरजको लासमाथि एउटा गुलाफको फूल चडाउँदै मनमनै गुनगुनाए ।

“छोरा ! स्वर्गमा तिमीलाई आराम रहोस है, बाइ बाइ ।”    

अक्सफोर्डसायर ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार