आँशु पिएर बाँचीरहेको सहरनि-कोशिया (संस्मरण)

भीम राई

‘पुर्वी युगोस्लाभियमा हुँदै गरेको युध्ददेखि सुरक्षित हुन हवाइमार्ग परिवर्तन गर्दा हामी ८० नट्टिकल माईल हराइरहेका छौ ।’ लकहिड मार्टिन सी-१३० हर्कुलिस बिमानका कप्तान जस्टिन थोमसले भुमध्य सागरमा अबस्थित क्रेट टापु सिधै माथिको आकासमा उडदै गर्दा त्यस्तो उदघोषण गरेका थिएँ । कप्तानको उदघोषणले बिमानमा सवार यात्रृहरुको मनमा त्राश उत्पन्न भयो वा भएन भनेर मैले कसैसँग जानकारी लिन खोजिन । तर मैले पहिरन गरिरहेको बेलायती सैनिक सुरुवाल भित्र मज्जाले लुकिरहेका एकजोडी फिलाहरु थरर काँपिरहेका थिएँ ।

हामी त्यसबेला बेलायतको ‘ब्राइज नोर्टन’ सैनिक बिमानस्थलदेखि ‘आक्राटिरी’ सैनिक बिमानस्थल, साइप्रस जादै थियौ । र, सुनसान खाली आकासमा अन्धधुन्द हराइरहेको सि-१३० हर्कुलिस बिमान केहिबेरमा इजरायलको आकास नजिकै उडिरहेको चाल पायौ । हामी त्यसरी इजरायल नजिकैको आकासमा एक रफ्तारले उँडिरहदा मुनी जमिनमा इजरायल र पेलेस्टाइनको घमसान युध्द भइरहेको थियो ।

त्यसरी द्वन्दग्रस्त युगोस्लाभियको आकास पार गरेतापनि इजरायल र पेलेस्टाइनको युध्दले मलाई थोरै त्राश उत्पन्न गराइरहेको थियो । तर ती देशहरुको युध्द त्यति खतराजनक नभएतापनि भूमध्यसागरको वरीपरीका देशहरु मध्ये लिबिया सबैभन्दा खतरा लागिरहेको थियो । किनभने लिबिया साइप्रसको दक्षिण दिशामा पर्दथ्यो । र, त्यसबेला निरङ्कुश शासक कर्णेल ममहर गद्दाफिले लिबियामा शासन गरिरहेका थिएँ ।

लिबियाले त्यसैताका हिथ्रोदेखि उडेको पानएम बिमान लकर्बी, स्कटल्याण्डमा बिष्फोट गराइदिएका थिएँ । अझै हामी साइप्रस लागेको अघिल्लो हप्तामात्रै लिबियादेखि उडेर आएको ‘रकेटलन्चर’ साइप्रसको दक्षिणी सहर लिमासोल नजिक खसेको थियो । त्यस्तो भयाबह स्थितिमा हराइरहेको हर्कुलिस बिमानका कप्तानले केहिबेरमा, ‘अब कुनै सुर्ता गर्नु पर्दैन, किनभने हाम्रो सुरक्षाको लागि बिमानको दायाँ र बायाँ एक-एकवटा बेलायती बायु सेवाका लडाकु बिमानहरु ‘टोर्नाटो’ आइसकेका छन्,’ ध्वनि प्रशारक यन्त्रद्वारा त्यसो भनिएको सुनिएपछि मन ढुक्क बनाएर मैले शान्तिको सास फेरे ।

नभन्दै कप्तानको उदघोषण सकिने बितिक्कै बिमानको सानो झ्यालबाट बाहिर नजर लगाउँन थाले । सुनसान निलो आकासमा लडाकु बिमानहरु हामी सँगसँगै समानान्तर उडिरहेका रमाइलो दृश्य देखिएका थिएँ । केहिबेरमा एउटा लडाकु बिमान हामीभन्दा अगाडी त्यसपछि हाम्रो बिमान र अन्तमा अर्को लडाकु बिमानले आक्राटिरी बिमानस्थलमा अबतरण गर्यो । त्यस्तो खतरा परिस्थितिमा बेलायती सैनिक लडाकु बिमानले संरक्षण गरेर आक्राटिरी बिमानस्थलमा अबतरण भएको त्यो नै मेरो पहिलो अनुभव थियो ।

कुरो सन् १९८९ ताकाको हो । म त्यसबेला ‘रोयल मिलिटरी एकेडेमी साण्डहर्स्टमा’ सैनिक ट्रक चालकको मामुली काम गर्दथे । चालक मात्र नभएर बेलाबेलामा शिरदेखि भुईसम्म लत्रिहिडने खाकीको ‘कभरअल’ लगाएर झाडुले मटरपार्क सफा गर्नु पर्थ्यो । अझ भएन कुनैबेला एउटा हातमा बुरुस र अर्को हातमा सेतो रङ्गको भाँडो लिएर गाउँघरको सम्झनामा ‘लै बरीलाई लै बरिलाई,’ भन्ने गित गाउँदै मटर पार्किङ स्थल पेन्टिङ गर्दथे ।

हुनत मेरा पाठकहरुलाई अबगत भएकै कुरो हो । सन् १७४१ मा स्थापना भएको रोयल मिलिटरी एकेडेमी साण्डहर्स्ट बिश्व बिख्यात बेलायती उपसेनानी तालिम केन्द्र हो । तीनै तालिम केन्द्रभित्र गोर्खाली सिपाहीहरु बस्ने एउटा पुरानो घर पनि थियो । सबै मानिसहरुले त्यस घरलाई, ‘नेपाल लाइन्स’ भनेर चिन्दथे । त्यस घरलाई किन नेपाल लाइन्स भनियो भनेर म त्यतातिर जान चाहन्न । तर त्यस घरभित्र मूस्किलले केहि मानिसहरु अटाउन सक्ने क्षमता भएको एउटा मामुली गोर्खा भट्टीपशल थियो । हरेक बेलुकी भट्टीपशल खोलेपछि पेय पदार्थ पिउने पियक्कडहरुले त्यहाँ बसेर ‘खुसिमा पिएँ, दुःखमा पिएँ, भन्दै नेपालको बेस्सरी याद गर्दथे ।

हामी त्यसघरको तलामुनि बियर पिउथ्यौ । र, तलामाथि बास बस्थ्यौ । अनि हरेकरात काटेर सुनौला बिहान भएपछि उपसेनानी तालिम लिदै गरेका बिधार्थीहरुको तालिममा सहयोग गर्दथ्यौ । अहिले दिमागको ठेडिलाई पुरै एक चक्कर घुमाइदिएर तिनै पुरानो कुरोहरु सम्झने हो भने तिनताका हाम्रा कामहरु पनि कति अचम्मका थिएँ । उनीहरुलाई एक ठाउँदेखि अर्को ठाउँ लानको लागि मटर चलाउने, खाना खाएका जुठोभाँडा गर्ने त्यति मात्रै नभएर सैनिक अभ्यासको बेला दुश्मनको भूमिका निभाइ दिनु पर्दथ्यो । र, अन्तमा उनीहरुको सुरक्षाको लागि सैनिक छाउनीमा रातभरी पहरेदार गर्नु पर्दथ्यो ।

साण्डहर्स्ट तालिम केन्द्रमा उपसेनानीहरुको तालिम बर्षैभरी चलिरहन्थ्यो । तालिमको अबधिमा सान्डहर्स्टको वरिपरि क्षेत्रमा मात्र नभएर अभ्यासका लागि मध्य इङ्ल्याण्डदेखि पश्चिमी वेल्ससम्म पुग्नु पर्दथ्यो । तर त्यसबर्ष तालिम केन्द्रको एउटा कलेज ‘भिक्ट्री कलेजको’ बिधार्थीहरुसँग अन्तिम सैनिक अभ्यासको लागि हामी साइप्रस पुगेका थियौ ।

आक्राटिरि बिमानस्थलदेखि बाहिर निस्केपछि आरामदायी कोच चढेर बेलायती सैनिक रेडियो ‘बिएफबिएस’ साइप्रसको अङ्ग्रेजी सेवा सुन्दैसुन्दै सैनिक छाउनी एपिसकोपि ग्यारिजन पुगेका थियौ । मेरो अङ्ग्रेजी भाषामा अहिलेको जस्तो त्यति दखल थिएन तै पनि सङ्गित भनेपछि टुक्रापरेका मुटुको औषधी नै भन्ने मेरो ठम्याइ थियो । जे होस एपिसकोपी पुगेर  केहिबेर कोच रोकिएपछि हामी बेलुकी बास बस्नका लागि त्यँही नजिकै रहेको ब्लड हाउण्ड क्याम्पमा पुगेका थियौ ।

कोच ब्लड हाउण्ड क्याम्पमा पुग्दा समय बेलुकीको ५ बजिसकेको थियो । वरिपरी दमसाइलो जमिन भएको र बीचँमा ठुस्सै उठेर थोरै समथर भागमा बनेको ब्लड हाउण्ड क्याम्प बेलुकीपख अति रमाइलो देखिएको थियो । क्याम्प पुग्ने बितिक्कै सार्जन्ट मेजरले क्याम्पको वरीपरी हिडाएर हामीलाई घुमाएका थिएँ । बेलुकीको मौसम ज्यादै राम्रो थियो । र, क्याम्पदेखि सिधैमुनी टलक्कै टल्किरहेका सेता बालुवा र निलो पानीको आकर्षक सामुन्द्रिक तटले मेरो मन बेस्सरी लोभिरहेका थिएँ । अझै बेलुकीको सूर्य गाँढा रङ्गमा परीवर्तन भएर भूमध्य सागरमा डुब्नै लागेको दृश्य देख्दा दुईसाल अगाडी बिहे गरेर गाउँमा छाडी राखेकी ताराको यादले मेरो मुटु भतभती जलाइरहेको थियो ।

पूर्बी भूमध्यसागरमा अबस्थित साइप्रसले आफ्नो इतिहासको काल खण्डहरुमा धेरै नराम्रो युध्दहरुको मार खेपेका छन् । त्यति नराम्रो समय पारगर्दै आएको साइप्रसको इतिहासको बिषयमा त्यति धेरै गहिरिएर जान चाहन्न । तैपनि सन् १५७१ अट्टोमान साम्रज्यले त्यहाँ शासन गरेका थिएँ । त्यसपछि अट्टोमानहरुसँग गहिरो सम्बन्ध गाँसेर सन् १८७८ साइप्रसलाई बेलायती साम्रज्यले हात पारेका थिएँ । अन्तमा टर्कीले कब्जा गर्दा सुरु भएको युध्दले सन् १९७४ मा साइप्रसलाई तीन भागमा बिभाजन गरिएको थियो । जस्को मूख्य भूमीको उत्तरमा टर्क सिप्रिइट र दक्षिणमा ग्रिक सिप्रिइटको बस्तिहरु रहेका छन् । तर एपिस्कोपी र दखेलिया क्षेत्रहरुमा चाँही बेलायती सैनिक राखेर अहिलेसम्म बेलायती सार्बभौमिक्त्ता नै कायम गरिएका छन् ।

उत्तर र दक्षिणमा धृबिकरण भएको साइप्रस राजनैतिक रुपले अहिलेसम्म समश्यमा अल्झिरहेको छ । सयुक्त राष्ट्र सँघको तत्कालिन महासचिब उ थान्टको पहलमा सन् १९६४ देखि अहिलेसम्म दुईदेशको सिमानामा मध्यबर्ती क्षेत्र (बफर जोन) खडा भएर रहेकाछन् । सुरक्षाको दृष्टिकोणले ज्यादै खतरा भएपनि साइप्रस मलाई असाध्यै मनपर्ने देशहरु मध्येको एउटा प्रमुख देश हो । त्यसैले म साइप्रसमा चारचोटी पुगिसकेको थिएँ ।

पहिलो पटक सैनिक अभ्यासको लागि साइप्रस पुगे । त्यसबेला एक महिना समय बिताएका थिएँ । दोश्रोपटक संयुक्त्त राष्ट्र सँघको सेना बनेर ६ महिना त्यतै बसेको थिएँ । तेश्रो चोटी आयानाप्पा सामुन्द्रिक तटमा पुगेर एकहप्ता ऐश आराम लिदा त्यहाँ देखापरेका बिभिन्न आकार प्रकारका आकर्षक स्कानडेनिभियन बक्षस्थलहरुको छाप मेरा मस्तिष्कदेखि अहिलेसम्म निस्कन मानिरहेका छैनन् ।

अन्तिम चोटी साइप्रस पुग्दा अचम्मै भएको थियो । पाफोस बिमानस्थलमा अबतरण भएको बिमानदेखि उत्रेर सिधै लिमासोल बन्दरगाह पुगेको थिएँ । त्यहाँदेखि एउटा इटालीयन पानीजहाज ‘क्रुज’ समातेर पिरामिड भ्रमणको लागि इजिप्टको पोर्टसेड बन्दरगाह हिडेको मानिस बिरमाइलो मान्दै भुमध्य सागरको बीचमा रहेको क्रेट टापु पुगेको थिएँ । त्यसबेलादेखि अहिलेसम्म म पिरामिड पुग्न शफल भएको छैन । यदी त्यो क्षणलाई यदाकदा सम्झिरहने हो भने मेरो मन र मस्तिष्क अहिलेसम्म पनि छियाँछियाँ हुने गर्दछ ।

खास गरेर पानीजहाज यात्राको सबैभन्दा नराम्रो पक्ष भनेको नै अन्तिम समयमा आएर स्थान परिबर्तन हुनु हो । त्यसरी एक ठाँउ हिडेको मानिस अर्को ठाँउमा पुग्दा जो कोहिलाई हल्का बिरमाइलो त यस्सै लाग्ने गर्दछ । तर पटक पटक त्यस्तो अनुभब गरिसकेको हुनाले मलाई कुनै अन्यथा लागेन । जोन लकले भने झै मानिसको लागि सबैभन्दा मूख्यकुरो त जीवन, स्वतन्त्रता र सम्पती नै हो । त्यसैले हामी दोश्रोचोटीको प्रयत्नमा पनि पिरामिड घुम्न अशफल भएपछि मुसाको जत्रो मन बनाइरहेकी तारालाई ‘जीवन’ रहेमा अन्य कुरो त हुदैगर्छ भनेर राम्ररी सम्झाइ बुझाइ गरेको थिएँ ।

इजिप्टमा त्यसबेला अचानक गृहयुध्द सुरु भएको थियो । र, यात्रृहरुको सुरक्षाको लागि पानीजहाज हेराकिलिन, क्रेट टापु लगिएको थियो । आ…आखिर एकदिन क्रेट पनि जानु नै पर्थ्यो, मनमनै भने । तैपनि तारासँग हेराकिलिनको जैतुन बगैचालाई सरसर्ती चक्कर लगाउदा पुरानो कुरोलाई तिलान्जली दिदै हाम्रो मनहरु फुरुङ्ग भएका थिएँ । तर त्यो भन्दा अझ बढि खुशिको कुरोचाँही त्यस दिनदेखि हाम्रो गन्तब्य राम्ररी सोझिएको थियो । त्यसपछि हामीले क्रमशः इजरायलको जेरुसेलम, तेल अभिब र मृत सागर पेलेस्टाइनको बेत्लेहेम टर्कीको आलन्य, मारमरिस र खुशादशि र ग्रिसको राजधानी एथेन्सको यात्रा पुरा गरेपछि अन्तमा पुनः लिमासोल, साइप्रस फिरेर दुईदिन समय बिताएका थियौ ।

पटक पटक म साइप्रसमा बरालि हिडदा उत्तरमा रहेको टर्कीको नियन्त्रित क्षेत्र क्यारिनिया र फामागुस्टा जिल्लाहरु लगायत दक्षिणमा रहेको ग्रिक क्षेत्रको लारनाका, पाफोस, लिमासोलदेखि ट्रोडोस पर्वतमा राम्रै कवाज खेलिसकेको छु । अझै बेलायती सैनिक अखडाहरु एपिस्कोपी र दखेलियाको त कुरै नगरौ । म धेरै चोटी पुगिसकेको थिएँ । तर मैले यहाँ थोरै चर्चा गर्न लागेको बिषयचाँही दोश्रोचोटी साइप्रस पुग्दाको स्मंरण नै हो । किनभने तिसबर्ष अगाडीका ती दिनहरु मेरा लागि एउटा अचम्मैको उर्जाशिल दिनहरु थिएँ ।

सन् १९९० मा अलिक कलिलै र पल्टन घरको एकजना भुसुने सिपाही जस्तै थिएँ । तैपनि प्रथम खाँडी युध्दकोबेला एकजना कुशल योध्दा भइ टोपलेका थिएँ । त्यसबेला साउदी अरब, कुवेत र इराकमा गरेर जम्मा ६ महिना लडाइ लडेका थिएँ । त्यस लडाईमा मैले कतिजना दुश्मनलाई नाङ्गो खुकुरीले छपक्कै छप्क्याए वा समाते भन्ने ठूलो कुरो होइन । सबैभन्दा ठूलो कुरो त टन्न पेटभरी खान नपाएर भोकले मर्न लागेको अनि निन्द्राले आकुल ब्याकुल भएर शिथिल भएको शरिरलाई पुर्बवत जिन्दगीमा कसरी फर्काउन सकिन्छ भन्ने नै मेरो लागि मूलकुरो भइरहेको थियो । किनभने ६ महिनाभित्र मेरा शरिर त्यति जिर्ण अबस्थामा पुगेका थिएकी मलाई यहाँ शब्दमा बर्णन गर्न पनि अति कठिन परिरहेको छ । त्यसैले लडाई सकिने बितिक्कै हतारहतार दुःखका कथाहरु तारासँग बाडँनका लागि नेपाल पुगिसकेको थिएँ ।

नेपालमा एक महिना बसेपछि फेरी हङकङ पुगे । तर त्यहाँ पुग्ने बितिक्कै, ‘आफ्नो झोलितुम्बि तयार गर्नु र बेलायत जानको लागि हुकुम पर्खेर बस्नु,’ भन्ने माथीदेखि आदेश जारी भयो । लगभग ५५ किलोग्रामको एउटा फट्याङ्ग्रा झै सानो शरिर थियो । जाबो तिनै मेरो फटेङ्ग्रे शरिरलाई ३ सय ६० डिग्री जता फर्काइ दिएपनि पल्टन घरको सैनिक नियमले कच्याककुचुक निमोठेर ल्याइहाल्दथ्यो ।

जे होस अग्रिम जानकारी भएअनुसार हुकुम आयो । पल्टन घरको हुकुमलाई शिरोधार्य गर्दै एक बेलुकी काइतक अन्तराष्ट्रिय बिमानस्थलतर्फ हुइकिएँ । क्याथे प्यासिफिकको एउटा भिमकाया बिमानमा १३ घण्टा बिरमाइलो समय बिताउदै बेलायत पुगे । त्यस बेलासम्म निन्द्रा मिलिरहेको थिएन । तैपनि बेलायत पुगेको भोलिपल्टदेखि इन्धन बोक्ने सैनिक ट्रकको तालिम लिन थालिहाले । तालिम बिहानको ८ बजेदेखि सुरु हुन्थ्यो र बेलुकी ५ बजे सकिन्थ्यो । र, हामीलाई तालिम गराउने गुरुजी उत्तरी आएरल्याण्डको बासिन्दा सार्जन्ट चार्ल्स मर्फी थिएँ ।

गाउँमा बाख्रा गोठालो गर्दा स्वअध्यान गरेको मानिसले रानीको अङ्ग्रेजी त बुझ्न धेरै कठिन थियो । तै माथी आइरिस नागरिकले बोलेको अङ्ग्रेजी के बुझ्थे होला र ? त्यसैले दिनभरी उनले कसरी मुख चलाउँछ भन्ने हेरेर छक्क परिरहन्थे । हुन त केहीबर्ष अगाडीदेखि नै सैनिक ट्रक चालकको काम गरिरहेको थिएँ । तैपनि इन्धन बोक्ने ट्रक चलाइ हालेको थिइन । हुनपनि इन्धन उत्पादन नहुने मुलुकमा जन्मेका थिएँ । त्यसैले इन्धन सम्बन्धी ज्ञान कहाँदेखि पाउन सक्थे होला र ? अझै सबैभन्दा महत्पुर्ण कुरो त इन्धन अत्याधिक ज्वलनशील पदार्थ भएको हुनाले उँच्च साबधानी पुर्बक बोक्नुपर्ने कडा नियमहरु त्यसबेला पढनु परेको थियो ।

एउटै कामलाई शुगा रटाइ गर्दै मुश्किलले तालिम पुरा गर्न सके । तालिम प्राप्त भएको अर्कोहप्ता सिधै साइप्रस तर्फ रमाना गरे । त्यहाँ पुगेपछि संयुक्त्त राष्ट्र सँघिय शान्ति सेना भएर युध्दमा क्षतबिक्षत भएका बिनाश सहर निकोशियाको अप्रयोग निकोशिया बिमानस्थल नजिकै बस्न थाले ।

त्यहाँ पुग्दा शान्ति सेनाका जम्मै चालकहरु बस्ने झुपडीहरु अति नै दयनिय एबम रुग्न अबस्थाका थिएँ । तीनै बित्यास लाग्ने झुपडीहरुमा पानी परेको बेला पानी चुहिन्थ्यो भने घाम लागेको बेला गर्मीले उखरमौलो काढने गर्दथ्यो । हरेक कोठाहरुमा ४ देखि ६ जनासम्म सिपाहीहरु सुत्न मिल्दथ्यो । झुपडीका कोठाहरु बाट हरेक बिहान सिपाहीहरु जरयाकजुरुक उँठदथे । त्यसपछि हतार हतार सरकारी पोशाक उनिहाल्थे । र, छाउनीको मूख्य भान्सा घरको बाटोदेखि ट्रक पार्कमा जान्थे । त्यसरी बाटोमा जाँदैगर्दा एक हातमा तातोतातो बेकन र ससेज च्यापेको दुईपात रोटी र अर्को हातले ट्रकको चक्का नाप्ने यन्त्र, पेचकस र एउटा स्पानर आटने झोला बोकिरहेका हुन्थे ।

अन्य चालकहरु झै म पनि हरेक बिहान ट्रक पार्कमा पुगेर चारैवटा चक्काको हावा नाप्ने गर्दथे । ट्रकको स्टेरिङ्ग नजिकै राखिछाडेका थोत्रो तौलिया निकालेर अगाडीको शिसा र दायाँ बायाँको ऐनाहरु पुछद्थे । केहिबेरमा ७ नम्बर जङ्गी पोशाकमा ठाँटिएर दाहिने पाखुरामा बर्खायाममा पानीपर्दा ओढने घुमजत्रो बिल्ला देखाउदै कर्पोरल गुरुजी ट्रक नजिक आउनु हुन्थ्यो । तर उहाँ आउनु अगाबै मैले इन्जिनको तेलपानी जाँच गरिसकेर ट्रकको हेन्डब्रेक खोल्नको लागि तयार भएर बसेको हुन्थे ।

‘लु अब जाउ,’ गुरुजीको आगमन सँगसँगै मुखदेखी पहिलो शब्द छुट्थ्यो । हेन्डब्रेक खोल्ने बितिक्कै टायरहरु गुडन थाल्थ्यो र नजिकै रहेको ‘ब्लु बेरेट’ भन्ने क्याम्पमा पुग्थ्यौ । किनभने त्यहाँ तेल भर्ने एउटा ठूलो अड्डा थियो । तिनै अड्डामा पुगेर ट्रकमा ४ हजार लिटर तेल भर्दथ्यौ । त्यसपछी पुनः ट्रकको टायरहरु सुस्तरी गुडन थाल्थ्यो । र, संयुक्त्त राष्ट्र सँघिय सेनाको बिभिन्न सैनिक अखडाहरुमा पुगेर तेल बाडने काम गर्दथ्यौ ।

मलाई तेल बोक्ने काम सौचालयको पानी तान्ने काम भन्दा धेरै सहज लाग्ने गर्दथ्यो । किनभने दिनभरी सौचालयको पानी तान्ने ट्रक चालकको शरिर दशमिटर टाढादेखि नै गन्हाउने गर्दथ्यो । त्यसैले उनीहरुलाई छुट्याइएर फाल्टै झुपडीमा राखिएको थियो । कसोकसो भाग्यले साथदिएर साइप्रसमा धन्न त्यो कामगर्न चाँही परेन ।

साइप्रसको मौसम जहिले पनि ज्यादै राम्रो हुन्थ्यो । त्यति राम्रो मौसमको साथमा मलाई ट्रक चालकको काम पनि रमाइलो नै लागिरहेको थियो । अझ सबैभन्दा मनोरन्जन त टर्क सिप्रियट क्षेत्रमा पुग्दा लाग्ने गर्दथ्यो । किनभने त्यतातिर मनै लोभ्याउने भिरालो जमिनहरु, हरिया डाँडाकाडाहरु, स-साना घरहरु, खेतबारीहरु र तिनै खेतबारीमा लटरम्म फलिरहेका फलफूलहरु देखिन्थे ।

तिनै आँखा लोभ्याउने आकर्षक बगैचाहरु पारगर्दै ट्रक हाक्नुको मज्जा नै फरक हुने गर्दथ्यो । अझै कुनैबेला बगैचाको छेउछाउँ पुगेपछि, ‘एकछिन है गुरुजी,’ भन्दै ट्रक रोकेर ताजाताजा अङ्गुर र सुन्तालाहरु टिपेर हतारहतार खाइहाल्थे । हुनत जाबो दुईदिने जिन्दगीमा लगभग पुरै युरोपियन राष्ट्रहरुको यात्रा गर्न शफल भएको थिएँ । तर मैले साइप्रसमा पाएको अङ्गुर र सुन्तलाको स्वाद जस्तो अन्य स्थानमा अहिलेसम्म कदाचित पाउन सकेको छैन ।

अ, निकोशियामा हामीसँग तेल बोक्नको लागी दुईवटा सैनिक ट्रकहरु थिएँ । ती ट्रकहरु मध्ये एउटाले पेट्रोल र अर्कोले डिजेल बोक्ने गर्दथे । तेल सेक्सनको नेत्रृत्व तिनै कर्पोरल गुरुजीले गर्नुभएको थियो । मैले यो स्मंरण लेख्त्तैगर्दा उहाँको नाम किटान गरिहाल्न थोरै अफ्ठ्यारो महसुस गरेको छु । किनभने उहाँले मन पराउनु हुन्छ वा हुदैन । तैपनि ढुक्क मनले यतिसम्म भन्नसक्छु कि उहाँ आँखामा राख्दा नबिझाउने असाध्यै मिलनसार एबम मृदुभाषी गुरुजी हुनुहुन्थ्यो । नत्रभने पल्टन घरमा भेटिने कुनैकुनै गुरुजीहरुको अनुहार देख्न त परै जावस नाम सुन्ने बितिक्कै आङ जिररिङ्गै हुने गर्दछ । तर उहाँजस्तो कुशल गुरुजीको नेत्रृत्वमा हामी ३ जना चालकहरु अति खुशि थियौ । र, तिनै खुशि सँगसँगै हरेक बिहान रगत र आँशु पिएर बाँचिरहेको मानिसहरुको बिभाजित सहर निकोशिया क्षेत्रमा तेल बाँडीरहेका हुन्थ्यौ ।

हरेक ६ महिनामा फेरिने बेलायती यातायात स्क्वाड्रनले निकोशिया बिमानस्थललाई सन् १९७४ देखि आफ्नो गृहनगर बनाइरहेको छ । त्यस स्क्वाड्रनको मूख्य भूमिका भनेको त्यहाँ अधिपत्य जमाइरहेको संयुक्त्त राष्ट्र सँघिय सैनिकहरुलाई मदत गर्नु नै हो । तत्कालिन समयमा अष्ट्रियन, ब्रिटिश, स्वेडीस, फिनिस, डेनिश र क्यानेडीयन सैनिकहरुको मजबुत इन्फेन्ट्री बट्टालियनहरु त्यहाँ तैनाथ गरिएर राखिएका थिएँ । बफर जोनदेखि बाहेक दक्षिणी भागमा ग्रिस र उत्तरमा टर्किस सैनिकहरुले आ-आफ्ना सिमा सुरक्षा गरिरहेका अहिलेपनि देख्न सकिन्छ ।

ती दुवै शक्त्तिशाली राष्ट्रहरु उत्तर एटलान्टिक सन्धि सँगठन ‘नेटोका’ सदश्यहरु भएतापनि साइप्रसको हकमा एकअर्कामा गम्भिर दुश्मनहरु कहलिएका छन् । उनीहरु एकअर्कामा दुश्मन भएको हुनाले दक्षिणदेखि उत्तर र उत्तरदेखि दक्षिण जान प्रतिबन्ध लागेको छ । त्यसैले सयुंक्त्त राष्ट्र सँघिय फौजले दुवै देशको भू-भागमा आवत जावत गर्ने गर्दछन । तर हामी तेल चालकहरुले चाँही अलिक फरक नियम बनाएका थियौ । अनी हामी जुनसुकै सैनिक क्याम्पमा पुगेको भएतापनि त्यसदिनको घडीको सुईलाई सर्लक्कै घुमाएर ठिक बार्ह बजाउने हो भने क्यानेडियन क्याम्पको भोजनघरमा अग्रपङ्त्तिमा लामबध्द भइसकेका हुन्थ्यौ । किनभने त्यहाँ जतिको सुबिधा सम्पन्न र मिठामिठा भोजन अन्य राष्ट्रहरुको सैनिक क्याम्पमा कहिले खाएको थिएनौ ।

साइप्रसको समयले हामीलाई एक रफ्तारले घुमाउदै सन् १९९० को महान चाँड बडादशैको नजिक ल्याइपुरयाएको थियो । तर दुर्भाग्यबश हामी सबै चालकहरु अति ब्यस्त हुन्थ्यौ । त्यसैले हङकङमा जस्तो धुमधामको साथ दशैंपार्टी मनाउने स्थिती त्यहाँ पटक्कै थिएन । ठूल्ठूलो कर्कश ध्वनी र हर्षोल्लाशको साथ दशै नमानेपनि क्याम्पको सार्जन्ट मेजरले हामी बस्ने झुँपडीहरुको बीचमा हिन्दु धार्मिक परम्परा अनुसार मार काटेर भोगदिने एउटा गतिलो काठको ‘मौला’ गाडेका थिएँ । त्यहाँ मारकाट गर्न चाँही मिल्दैनथ्यो । मौला भन्ने शब्द मेरो लागी बिलकुल नयाँ शब्द थियो । सेनामा भर्ती हुनभन्दा पहिले त्यो शब्द कहिलेपनि सुनेको थिइन । जे होस निकोशियामा मौला गाडिएको भोलिपल्ट संयुक्त्त राष्ट्र सँघिय सेना ‘अनफिसिपका फोर्स कमाण्डर’ क्यानेडियन जनरल रिचार्ड डेभिसको आतिथ्यमा मौलामा आजापुजा भयो ।

मौला पुजाको भोलिपल्ट दशैको छुट्टि थियो । छुट्टिको समय सदुपयोग गर्दै हामी एउटै समयमा भर्ती भएका नम्बरीहरुले कमान्डेरिया वाइनसँग मासु पोलेर खाँदै थियौ । पल्टनघरमा एक्कै ब्याचमा भर्ती भएकाहरुलाई ‘नम्बरी’ भन्ने चलन रहि आएकोछ भनेर मेरा पाठकहरुलाई यहाँ सगौरब जानकारी गराउन चाहन्छु । कमान्डेरिय वा कामन्ड्रिया ग्रिक भाषामा उत्पत्ति भएका उक्त्त शब्दलाई तपाइले जेसुकै उच्चाँरण गरेपनि त्यो वाइन बिश्वको सबैभन्दा पुरानो र अहिलेसम्म क्रमशः उत्पादन भइरहेको वाइन हो भन्नेमा वाइन पारखिहरु दुईमत हुन सक्तैनन् ।

आजभन्दा लगभग २८ सयबर्ष पहिले अथवा इसापुर्व ८ सयदेखि उत्पादन हुन सुरुभएको कमान्डेरिय वाइन लगातार सोहि कम्पनीले अहिलेसम्म उत्पादन गरिरहेको छ । ट्रोडोस पर्वतको फेदीमा फल्ने अङ्गुरदेखि उत्पादन हुने कामन्डेरिय वाइनलाई राजा रिचार्डले आफ्नो बिहेको बेला ‘वाइनहरुको पनि राजा’ भनेका कुरो मैले त्यसबेला पटकपटक सम्झेका थिएँ । हो, हामीले त्यस दिनभरी तिनै वाइन मात्र पिएका थिएनौ । ‘सन् १९९० को दशै साइप्रसमा मानियो, जुन सम्झना आजीबन रहिरहने छ,’ भनेर बुर्कुसि मार्ने बाख्राको पाठो झै रौसिदै वाइनको साथमा सस्तो बियरको भस्मे खोलो बगाएको थियौ ।

अझै सबैभन्दा बढि त म नै हर्षले बिभोर भएको थिएँ । किनभने त्यो दशैको अघिल्लो महिना मैले छोराको बाबु बनेका पत्र हात पारेको थिएँ । तीसबर्ष अगाडी अथवा सन् १९९० मा जन्मेको मेरो छोरो लिभरपुल युनिभर्सिटीदेखि चिकित्सक बनेर अहिले अक्सफोर्ड युनिभर्सिटी अस्पतालमा ६ बर्षे ‘सर्जन’ तालिम गरिरहेका छन् । त्यसबेला जन्मेको छोरोले मलाई आक्कल झुक्कल, ‘मादक पदार्थ स्वास्थको लागी हानिकारक छ,’ भनेको अहिले सुन्दा तीसबर्ष पहिले अत्याधिक मदिरापानको सेवनले निकोशियाको नालीमा छाद्दै सुत्दै गरेको त्यो याद अहिलेपनि यदाकदा सम्झने गरिरहेकै छु ।

हाम्रो नम्बरी पार्टी क्रमशः चलिरहेको भएतापनि हामीले दिनको समयलाई त्यसबेला बिदा गरिसकेका थियौ । पुर्वी फामागुस्टा पर्वतदेखी बेलुकीको चन्द्रमा सुस्तरी झुल्कन थालेको थियो । खै किन हो किन ? त्यसबेला चन्द्रमा आफै झुल्किन सकेको थिएन । चन्द्रमाको उदय सँगसँगै एउटा थोत्रो ल्याण्डरोभरमा दुईजना गोर्खा अधिकृतहरु पनि अचानक हाम्रो सामु झुल्किएँका थिएँ । उहाँहरु मध्ये एकजना सिनियर गोर्खा अधिकृत क्याप्टेन र अर्को लेप्टिनेन्ट हुनहुन्थ्यो ।

निकोशियामा सुस्तरी रात छिपिदै गइरहेको थियो । उहाँहरुको एक्कासी आगमनमा नम्बरीहरुले बियरका क्यानहरु खोल्न तछाँड मछाँड गरिहाले । मैले त्यस रमितालाई एउटा कुनामा थपक्कै बसेर बिरमाइलो मान्दै हेरिरहेको थिएँ । अधिकृतहरुको सामु बियर खोलेर मोलमाल गर्नु पल्टन घरको सबैभन्दा राम्रो पक्ष थियो । तर जसले त्यो कार्य गर्छ, उसले लेनिनको एउटा अति महत्वपुर्ण पुस्तक ‘एक कदम अगाडी, दुई कदम पछाडी’ पढेको छैनन् भन्ने मलाई लागिरहेको थियो । किनभने उनले सन् १९०४ मा लेखेका त्यस पुस्तकमा मिन्सेभिकलाई ‘अबसरबादीहरु’ भन्ने सज्ञाँ दिएका थिएँ । खयर जेसुकै होस आफुलाई देह लागेको कुरो अरुलाई मन नपर्न पनि सक्छन् । त्यसलाई केही अन्यथा लिन हुदैन भन्ने मेरो मनभित्र लागिरह्यो । तर मुलभुत कुरो त सन् १९८४ मा सँगसँगै सेनामा भर्ती भएकाहरुले दशैपार्टी गरेका थिए भन्ने नै हुन्थ्यो ।

त्यसबेला उहाँहरु निकोशिया नजिकै रहेको तलाउमा दिनभरी माछा मारेर आउनु भएको रहेछ । केहिबेरमा ठूलो प्लास्टिकका झोलामा एकझोला माछा ल्याएर हामीलाई देखाउनु भयो । त्यति धेरै माछालाई हेरेर मैले तीन त्रिलोक चौध भूवन देखे । धेरैजसो नम्बरीहरु मातेर तोते मैनाको झै स्वर निकाल्न थालिसकेका थिएँ । तैपनि नम्बरीहरुले त्यति लोभलाग्दो ताजामाछा देखेपछि, ‘लु पकाएर खानुपर्छ,’ भनेर ठूल्ठूला होहल्ला गर्नथाले । कसैकसैले चाँही दाउरा साउरा केहि छैन भनेर कुरा टार्न खोजे ।

‘साइप्रस जस्तो सुख्खा देशमा जाबो दाउराको के सुर्ता गर्ने ?’ हुलमुलदेखि हावामा मिसिएर एउटा ठूलो आवाज आयो । उनको त्यति ठूलो आवाज आएपछि हामी सबैजना चुपचाप बस्यौ । माछा खाने सल्लाह पारित भएपछि कसैले भाडाँकुडाँको जोहो मिलाएँ । र, कसैकसैले आगो फुक्न थालिहाले । नभन्दै दाउराको जिम्मेवारी लिने नम्बरी अध्याँरोमा केहिबेर हराएका मात्रै के थिएँ । एक अङ्गालो दाउरा काटेर ल्याइहाले । तिनै दाउराले माछा पकाएर रातको अबेलासम्म बियरसँग मिसायर खाइरह्यौ ।

टेबल घडीको सहाराले भोलिपल्ट ब्युझँदा टाउको दुखिरहेकै थियो । ‘रातभरी पिएको मादक पदार्थले मातेर बिमारी भएको छु,’ भनेर मृदुभाषी गुरुजीलाई सुनाउन मलाई निक्कै मुश्किल पर्दथ्यो । एकदम कठिन भइरहेको थियो तैपनि शरिरले नचाँहदा नचाँहदै सुस्तरी उँठेर ट्रकको स्टेरियङ बटार्न लागिहाले । निकोशियाको मौसम सदा झै राम्रो भएतापनि एउटा असजिलो दिन पारगरेर एकबजे क्याम्पमा आइपुगेको थिएँ । कोठामा छिर्ने बितिक्कै, ‘हिजोराती दशैपार्टी खाने १९८४ वालाको दुईबजे पार्टीस्थलमा सार्जन्ट मेजरको भेला छ,’ भन्ने दुःखद हुकुम पाएँ । ‘अब कोठामा पुगेर बङलङ्गै आराम गर्छु,’ भन्ने लागिरहेको थियो । तर त्यो हुकुम सुनेर झन टाउको फुलिएर आयो ।

समय दिउसोको ठिक दुईबज्दा गतराति पार्टीखाने सबैजना नम्बरीहरु पार्टीस्थलमा भेला भइसकेका थियौ । १९८४ सालमा सँगसँगै भर्ती भएतापनि जस्ले अगाडी नम्बर पाएका थिएँ, ऊ नै सिनियर हुने चलन थियो । तीनै नियमलाई पछ्याउँदै सिनियर नम्बरीले सबैलाई सतर्क पोजिसनमा राखेर सार्जन्ट मेजरलाई रिपोर्ट गर्न गएँ । तर सार्जन्ट मेजरले जानिजानि हाम्रो सामु आउन निक्कै समय लगाएको जस्तो मलाई बोध भयो । गतरातको मापसे र अनिदोले थरथरी कम्पन सहित दुवै खुट्टाहरु जोडेर हामी निरन्तर त्यहाँ उँभिरहेका थियौ । अझै हाम्रा मजबुत हातहरु मुठ्ठि बनेर कम्बरमा सर्लक्कै च्यापिरहेका थिएँ ।

निक्कै लामो समयपछि हातमा कालो बेतको लौरी र रक्त्तिम अनुहारको साथमा सार्जन्ट मेजर हाम्रो सामु नरमाईलो गरेर झुल्किएँ । उनी झुल्किने बितिक्कै आगोको ज्वाला झै बनेर – ‘एकदिन अगाडी मात्र पुजा गरेको मौलालाई पोलेर खाइदिने तहरु को हस ?’ थरर काम्दै गर्जिएँ । उनको भनाई सुनेर म तीनछक्क परे । ‘जाबो साइप्रसमा दाउराको के फिकर गर्ने ?’ गतराति एकजना नम्बरीले भनेको त्यो कुरो सम्झदा त्यसबेला झसङ्गै झस्के । सार्जन्ट मेजरको बिष बमन अगाडी कसैको मुखदेखि एकशब्द फुत्कन सकेन । त्यहाँ जाबो १२ जना नम्बरीहरु थियौ । तर हाम्रा बिचारहरु कति फरकफरक रहेछन् भन्ने मैले त्यसबेला चाल पाएँ । किनभने नम्बरी पार्टीको समयमा कसैलाई मोलमाल गर्ने, कसैलाई नाँच्ने र कसैलाई मौला पोल्ने रहर लागिरहेको रहेछ । त्यसैले ‘कसलाई के को पिर, घर जुवाइलाई खानेको पिर,’ भन्ने युक्त्ति सम्झेर त्यसबेला म एक्लै फिस्सै हासे ।

हामी त्यस बेलासम्म सतर्क पोजिसनमा नै थियौ । कतै मेजरको हृदय पग्लेर खुट्टा खोल्ने आदेश पाएइला कि भनेर एक झलक आँखा जुधाउने प्रयत्न गरिहेरे । तर मेरो आँखाका नानीहरु लथ्रक्कै गलेर भूईमा झरयो । उनले जोन लकको जादुमय शब्द स्वतन्त्रता ‘लिबर्टी’ लाई त्यसबेला ठूलै चुनौति दिएँ । तर मलाई त्यसबेला लक भन्दा मार्क्स र एङ्गेल्सले भनेको एउटा कुरोको खुबै याद आइरह्यो ।

‘कुनैपनि पदार्थ त्यतिक्कै सकिदैन, केबल रुप मात्रै परिबर्तन गरिरहन्छ ।’ जस्तै हिजो त्यो जाबो एउटा रुख थियो, कालान्तरमा गएर मुढा भयो । त्यसपछि मुढाले मौलाको रुप लियो । बिचरा मौला अहिन्दुको शिकार भएर दाउरामा परिबर्तन भयो । दाउरा जलेर खरानीमा अनि यस्तै माटो या बिभिन्न पदार्थमा रुप परिबर्तन भइरह्यो । तर कुनै पदार्थको रुप परिबर्तन हुँदैमा बिनासित्ती हामीले किन दुःख पाइरहेका छौ भनेर मार्क्सलाई मनमनै प्रश्न गरिरहे ।

निकोशियामा त्यसदिन प्रचण्ड गर्मी थियो । हामी निक्कै लामो समयसम्म एउटा रुख झै सुरिलो पोजिसनमा उँभिरहेका थियौ । त्यसरी निरन्तर उँभिदा पशिनाले भित्रीबश्त्र लुथुक्रै भिजिसकेका थिएँ । धाराबाहिक रुपमा शरिरमा बहिरहेका पसिनाको गति कतिसम्म हुन्छ होला भनेर मनमनै हिसाब गरिरहे । हामी जहाँ उँभिरहेका थियौ, त्यसको सिधै अगाडी भग्नाबशेष बिमानस्थलको कुरुप अनुहार देखा परिरहेको थियो । तीनै बिमानस्थलमा युध्दले घाइते बनाएको साइप्रस एअरवेजको एउटा रुग्न ‘ट्राइडेन्ट जेट’ बर्षौदेखि पार्क भएर बसिरहेका थिएँ ।

दशकौ पहिले जीवन नष्ट गरिसकेको खोक्रो त्यो बिमानभित्र शान्तिका दुत सेतो परेवाहरुले गुँड लगाउने गरेका थिएँ । तीनै बिमानदेखि भुरुरु उडेर एकजोडी परेवाहरु त्यसबेला हाम्रो ठीक सामु आइपुग्यो । जब परेवाहरु हाम्रा सामु आएँ तब निस्फिक्रीसँग सार्जन्ट मेजरको चर्तिकला हेर्न थालिहाले । हामीले त्यसबेला सामुहिक सजाँय भोगिरहेका थियौ । तर त्यो सजाँयमा हातखुट्टा चलाउन नपाए पनि सुस्तरी सासफेर्न र सामुन्ने देखिएका परेवाहरुसँग मन बहकाउन राम्रैसँग पाएका थियौ ।

आगोको राप जतिकै पोल्ने कडा घाम, इजिप्ट र लिबियादेखि बहदै आएको तातोतातो हावा र घरिघरि किराँतीको थेप्चे नाकको वरिपरि अन्धधुन्ध घुमिरहेको सार्जन्ट मेजरको बेतको लौरी देखेर मलाई मनमनै यस्तो लागिरहेको थियो । ‘एकजना बुढो सिपाही कहिले मर्दैन, बिस्तारै बिलाउदै जान्छ ।’ दोश्रो बिश्वयुध्दको महानायक जनरल डगलस म्याकार्थरको भनाइलाई सम्झदै म सुस्तरी सुस्तरी बिलिन हुँदै गइरहेको थिएँ ।

तर सबैभन्दा खेदको कुरो त मलाई के लागिरहेको थियो भने पृथ्वी साँच्चै गोलो रहेछ । किनभने म अरुबेला थोत्रो बिमानभित्र पसेर तीनै परेवाहरुको गुँडहरुलाई राम्ररी हेर्ने गर्दथे । त्यसबेला परेवाहरुले मलाई उल्टो हेरेर कुरीकुरी गर्दै जिस्क्याई रहेको जस्तो अनूभुति भइरहेको थियो ।

हाल : अक्सफोर्ड, इङ्ल्याण्ड  

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार