गोर्खा भर्ती भएको दिन (संस्मरण)

  भीम राई  116 पटक हेरिएको

भीम राई

तीनताका म फुसको छानो भित्र हुर्कदै गरेको सानो बबुँरो जस्तै थिएँ । मलाई सुस्तरी उमेरले डोर्याएर भर्खर अठार बर्षमा टेकाएको थियो । जुङ्गाको रेखी बस्नै लागेको त्यो समय मेरो मस्तिष्कमा अझै पनि ताजै रहेकाछन् । अति बिपन्न परिवारमा जन्मेको हुनाले ‘मलाया भर्ती’ भन्ने बिषय कुनै एउटा अजिव चिजको पहाड होला भन्ने झै सोचिरहेको थिएँ । त्यसबेला तिनै मलाया भर्ती हुनको लागि हामी गाउँदेखि धरान घोपा क्याम्प सम्म जानु पर्दथ्यो । मैले धरान पुगेपछि बल्ल चाल पाएको थिएँ । तिनै अपरिचित र अनिश्चित स्थान मलाया भर्ती मलायामा नभएर हङकङ जान पर्ने रहेछ ।

मलाया भर्तीको लागि सबैभन्दा पहिले गाउँमा गल्लावालसँग नाम दर्ता गर्ने चलन थियो । बत्तिस इन्चदेखि ऊँभोउँभो फुलिदै गरेको छाँती लिएर म एकदिन गल्लावालको सामुन्ने हाजिर हुनपुगेको थिएँ । उनले मेरो नजिक आएर, ‘यति कलिलै रहेछ । अझै यस्को तल्लो ओठँमा निचोर्यो भने भर्खर चुस्दै गरेको आमाको दुध पनि आउँछ होला ?’ भनेको तिनै कर्णपृय शब्द मेरो कानमा अहिलेसम्म गुन्जिरहेकै छ । तैपनि उहाँले मेरो छाँती, तौल र उचाँई नापीसकेपछि भर्ती हुनको लागि नाम लेखिदिएका थिएँ ।

म खोटाङको बुईपा भन्ने गाउँमा जन्मेको थिएँ । गाउँमा हरेक पटकको मनसुनले बिदा लिएपछि लरबरिदै लरबरिदै हिउँदे मौसम आउने गर्दछ । हिउँदमा पर्ने पुस र माघ महिनाहरु अति जाडो महिनाहरुमा बिकशित हुँदै जाने गर्दछन् । त्यसबेला तीनै हिउँदे महिनाहरुले ल्याउने कठङ्ग्रिने जाँडो मात्र नभएर सारा गाउँ नै उजाँड देखिने गर्दछन ।

२०४० सालको निर्मम हिउँद सुरु भएर माघ महिना बित्दै गइरहेको थियो । मध्य माघ महिनाको एकदिन मेरी ममतामयी आमाले अलिकति दाल, चामल र थोरै गुन्द्रुकको झ्याम्टा एउटा झोलामा तयार गरिदिनु भएको थियो । त्यसको भोलिपल्ट जमिनमा मिरमिरे उज्यालो नखस्तै हामी सम्भावित भर्तीवाल साथिहरु सँगसँगै घर छाडेको थियौ । घर छाडेर हिडेपछि बसेरी जङ्गलमा मानिस हिडने स-साना गोरेटो बाटोहरु एउटा खाली कागजमा कोरिएका बक्ररेखा झै लमटन्न टाङ्गिएका देखिएका थिएँ । र, हामी तिनै गोरेटो बाटोहरुमा जिन्दगीका अशख्याँ आशाका सपनाहरु बोकेर निरन्तर अगाडी बढिरहेका थियौ ।

बसेरी जङ्गलमा भेटिएका धुले गोरेटोलाई रातभरि परेको हिउँदे शितले मज्जाले भिजाएका थिएँ । तिनै धुले गोरेटो माथि चालिएका हाम्रा पाइतालाहरुले प्रत्यक कदम कदममा निर्लज्ज डोबहरु बनाइरहेका थिएँ । तर पाइतालाले निर्माण गरेका हरेक डोबहरुलाई त्यसरी बिर्सदै अगाडी बढने क्रममा कहाँसम्म पुगिने होला भनेर मेरो हृदयभरी अनुत्तरित प्रश्नहरु बर्षिरहेका थिएँ । जिन्दगीको सुनौला भबिष्य निर्माण गर्न क्रमशः अगाडी बढिरहदा आफ्ना आमा बाबु र सारा आफन्तहरुलाई गाउँमा छाडेर जान पर्दा स्खलित मन झन बिचलित र हलचल भइरहेकै थिएँ ।

बिहानको झिसमिसेमा सुरु भएको त्यसदिनको यात्रा बेलुकी साँझमा रसुवा घाट पुगेर अन्त भएको थियो । कोशीको किनारमा रहेको त्यो घाट नै मेरो जिन्दगीले घर छाडेको पहिलो रात थियो । बाँसको भकारीले छाएको पुरानो गोठभित्र सुमधुर रातलाई बिदा गर्दे बिहान अबेला सम्म भुईमा तन्किरहेको अहिलेसम्म संस्मरण गरिरहेकै छु । लगातार बार्हघण्टा सम्मको अघिल्लो दिनको हिडाइले दिईरहेको दर्दनाक पिडा सामना गर्दै भोलिपल्ट बेलटार बजार झरिपुगेको थियौ । आजको मिती भन्दा ठीक सैतिस बर्ष अगाडीको तिनै यादलाई निकोशिया, साइप्रसमा बसेर झलझली संस्मरण गरिरहेको थिएँ ।

त्यसबेला मेरा मन अति नै चन्चल थिएँ । र, मेरो गाउँघरको अबस्था अहिलेको जस्तो पटक्कै थिएन । गाउँदेखी मटर बाटो पुग्नको लागि टाउकोले टेकैर भएपनि फत्तेपुरसम्म पुग्न पर्दथ्यो । मैले गाउँ छाडेको तेश्रो दिनमा फत्तेपुर पुगेर जिन्दगीको पहिलो पटक ‘बिजय बस’ चढेको थिएँ । तिनै बसदेखि धरान जाने क्रममा देखिएका तराईका समथर भु-बनोट र चारकोशे झाडीलाई मन्त्रमुग्ध भएर यात्राका क्रमभरी हेरीरहेको थिएँ ।

त्यसदिन जनवरी १, १९८४ को दिन थियो । बिहानीको उज्यालो भुईमा खस्तैगर्दा म धरानको घोपा क्याम्प भित्र पसेको थिएँ । म अहिले मेरो दिमागलाई राम्ररी खियाएर तीनै दिनहरु सम्झिरहेको छु । अनि मैले त्यसबेला भोगेका तिनै यादहरु मेरा मानसपटलमा अहिलेसम्म नाँचीरहेकै छन् । थोरै कौतुहल र हलचल मन लिएर क्याम्प भित्र पसेपछि हामीलाई भर्ति गराउने गुरुजीहरुले हिडाएर समथर जमिनमा रहेको खाली चउरमा पुर्याइएको थियो ।

म त्यहाँ पुगेर चउर वरिपरी देखिएका ठूल्ठूला रुखहरुका मनोरम दृश्यहरु देख्न थालिसकेका थिएँ । बिभिन्न चराचुरुङगीहरुले मधुर सङ्गित भरिरहेको तिनै रूखहरु मुनी लहरै मिलाएर तम्बुहरुको सहर ‘टेन्ट सिटी’ निर्माण गरिएको थियो । मैले तम्बुहरुको सहरलाई दिग्भ्रमित हुँदै निक्कै लामो समयसम्म हेरिरहेको थिएँ । हरेक तम्बुहरुमा १०-१२ जना सम्भावित रिक्रुटहरुलाई बास बस्नको लागि सुखिलो स्थान बनाइएका थिएँ । जस्लाई देखेर हामी सबैजना युबाहरु हर्षले आमोदी भएका थियौ ।

त्यस बेलुकी सम्ममा सबै युबाहरुले को कहाँ सुत्ने भनेर तम्बुमा आ-आफ्ना स्थानहरु पाइसकेका थियौ । तर सबैजनाले सुत्ने ठाँउ पाएको भएतापनि हामी एकअर्काको अनुहार बिलकुलै फरक फरक देखिरहेका थिएँ । अब कस्लाई के भनेर सम्बोधन गर्नेहोला भनेर मेरो मनभरी काउँकुति खेलिरहेको अबस्था थियो । किनभने तम्बुभित्र भेटिएका हरेक युबाहरुको पृष्ठभुमी फरक फरक धरातलदेखि आएका थिएँ । अझ भनौ, मैले जिन्दगीमा पहिलो चोटी लिम्बु, सुनुवार, शेर्पा र तामाङहरुलाई भेटेको (देखेको) थिएँ ।

कसोकसो अरु जातीका युबाहरु भन्दा लिम्बुहरुसँग म थोरै त्रशित पनि भइरहेका थिएँ । कुनैकुनै लिम्बु युबाहरुले निक्कै अग्ला अग्ला टोपीहरु पहिरन गरेका थिएँ । उनीहरुले लगाएका टोपी र बोलेको भाषा सुनेर म यदाकदा तर्सेको बाख्रा झै छट्पट्टि गरिरहेको हुन्थे । गाउँमा सानो छँदा सुङ्गुरको रौ किन्ने र चुरा बेच्ने लिम्बुहरुले बोक्ने खुकुरीको बिषयमा भयङ्कर डरलाग्दो कथाहरु सुनेको थिएँ । यदी उनीहरुसगँ नराम्रो ब्यबहार गरियो भने शरिर र टाउको दुईटुक्रा पार्छन भन्ने सुनेको हुनाले मेरा मन र मस्तिष्क थरङ्गै भइरहेका थिएँ । त्यसैले उनीहरुसँगको प्रत्यक्ष भेटघाटमा भित्रभित्रै कट्टुमा छुलछुली पिशाब फेरीरहेको अहिले सम्म याद गरिरहेकै छु ।

तर तम्बु सहरमा भेटिएका धेरैजसो युबाहरुले खस भाषा भन्दा पनि आ-आफ्ना जातिय भाषा एबम उपभाषाहरु बोलिरहेको सुन्दा मलाई बिछट्टै अफठ्यारो महसुस भइरहेको थियो । अनि उनीहरुले लगाएका बिभिन्न प्रकारका भेषभुषाले म निश्चय नै अचम्मित भइरहेको थिएँ । अझै सबैभन्दा बढि अचम्म त म त्यसबेला भएको थिएँ । जतिबेला मैले सोच्तै नसोचेका त्यति धेरै उपभाषा बोल्ने राईहरुका उपथरीहरुसँग पहिलोचोटी घोपा क्याम्पमा भेट भएको थियो ।

धरानमा रहेको बेलायती सैनिक क्याम्प भित्र लगभग एक हप्तासम्म रिक्रुट छान्ने काम भएको थियो । सम्भावित रिक्रुटहरुको शारिरिक, मानसिक, भौतिक, शैक्षिक र चिकित्सा सम्बन्धि सम्पुर्ण परिक्षाहरु भएका थिएँ । सबै परिक्षाहरु सकिएको अन्तिम दिन क्याम्प भित्रको बिशाल फुटबल खेल मैदानमा युबाहरुलाई एक्कैठाउँ भेला गरिएको थियो । रिक्रुट परिक्षण कालभरी हामी सबै युबाहरुको छातीमा अल्पकालिन नम्बर दिइएको थियो । र, मध्यान्हको समयमा युबाहरुको छाँतीमा लेखिएको तिनै नम्बर बोलाएर हामी सबैजनालाई दुई भागमा बिभाजन गर्न थालिएका थिएँ ।

हामी त्यसबेला सम्म भर्ती हुने सुन्दर सपना साँचेर बाँचीरहेका थियौ । त्यसैले निषध्यान लगाएर आ-आफ्नो नम्बर आउने प्रतिक्षा गरेर बसिरहेका थियौ । भर्ती लागेका हरेक युबाहरुको छाँती नम्बर नजिकै रहेको तीनकुने जङ्गल थर्कने गरेर पुकारी रहेको थियो । केहिबेरमा मेरो छाँती नम्बर पनि हावामा बरालिदै आएर कानसम्म पुगेर बज्रिएको थियो । त्यसरी आएको नम्बर हावामा बिलिन हुन पाउँदा नपाउदै म भर्ती लागेका युबाहरुको नजिकै पुगेर थपक्कै बसेको थिएँ ।

दुर्भाग्यबश ! छाँती नम्बर आउन नसकेकाहरुलाई अर्को बर्ष प्रयत्न गर्नु है भनेर क्याम्पबाट बिदाइ गरेर पठाइएको थियो । भर्ती हुने सपना टुटेपछि उनीहरुका अनुहार अति मलिन मलिन भएका थिएँ । त्यति मात्रै नभएर जिन्दगीको उज्वल भबिष्य बनाउने सपना तुहिएपछि कसैकसैले आँखाभरी आँशु बनाएर घोपा क्याम्प छाडेको दृश्य देख्दा मलाई सार्है बिरमाईलो लागिरहेको थियो ।

भर्ती हुन नसकेकाहरुले क्याम्पदेखि बिदा लिएपछि भर्ती भएकाहरु चउरको बिचौबिचँ भागमा झुरुप्पै बसिरहेका थियौ । केहिबेर पछि हामी सबैको ध्यानाकर्षण गराउदै नेपाली भाषामा, ‘ल केटा हो, तहरु आजदेखि भर्ती भइस,’ क्याम्पका कमाण्डर ब्रिग्रेडियर जनरल हन्ट डेभिसले नजिकै रहेको तीनकुने जङ्गल गर्जने गरि आवाज निकालेर बधाई तथा शुभ-कामना दिएका थिएँ । पुर्व सातौ गोर्खा राइफल्सका दक्ष नेपाली भाषी बेलायती सैनिक अधिकृतदेखि मैले त्यसबेला प्रथम चोटि नेपाली ब्याकरणमा प्रयोग गरिएको ‘एकबचन’ शब्दलाई ‘बहुबचन पुच्छर’ झुन्डाउने गरेको ‘ब्रिग्रेड अफ गोर्खाजको’ चलन चल्तीको भाषालाई सुनेका थिएँ ।

सन् १९५९ देखि धरान घोपा क्याम्पमा पहिलो पटक पुर्व नेपालका नेपालीहरु बेलायती सेनामा भर्ती हुन थालेका थिएँ । त्यसको ठिक पच्चिस बर्षपछि ७ फेब्रुवरी १९८४ का दिन मैले बेलायती सैनिकमा भर्ती भएर सैनिक नम्बर ‘२११६६५३४’ हात पारेको थिएँ । भर्ती हुँदा पाएको त्यस नम्बरसँग औधि खुशि भएतापनि त्यस नम्बरलाई कण्ठस्त बनाउनको लागि मलाई फलामको च्युरा चपाउन झै चर्को परेको थियो । अझै त्यसबेला मेरो सैनिक नम्बर मात्र नभएर आफु जन्मेको र भर्ती भएको मिती अङ्ग्रेजी पंचाङग अनुसार जान्न पर्ने भएकोले निक्कै हम्मेहम्मे परेको याद अहिलेसम्म सम्झिरहेको छु ।

त्यसबर्ष हामी धरानदेखि २३५ जना कलिला युबाहरु बेलायती गोर्खा सैनिकमा भर्ती भएका थियौ । र, पश्चिम नेपालका हकमा भने पोखरामा भर्ती हुने चलन रहि आएको थियो । त्यो भन्दा पहिले बेलायती सेनामा भर्ती हुनको लागि पक्लिहवा क्याम्प पुग्नुपर्छ भन्ने मैले सुनेको थिएँ । हामी भर्ती भएको त्यसदिन मध्यान्हको टण्टलापुर घाम सँगसँगै ब्रिग्रेडियर जनरलको भाषण पनि सकिएको थियो । ब्रिग्रेडियर जनरलले भर्ती भएको आधिकारिक जानकारी दिएपछि खुशिले उफ्रदैउफ्रदै हामी आ-आफ्नो तम्बुमा फर्केका थियौ । तर हामीलाई त्यसबेला आफु बसिरहेको तम्बुदेखि नयाँ तम्बुमा सारिएको रहेछ । नयाँ तम्बुमा सरेपछि नयाँ साथिहरुसँग चिनजान गर्न मलाई झन चुनौतीको पहाड थपिइरहेको थियो ।

तै पनि भर्ती भएपछिको गोधुलि साँझले मलाई खुबै आकर्षण गरिरहेको थियो । भेडेटारदेखि बहदै झरेका चिसो बतासले मलाई मात्र होइन, हरेक रिक्रुटहरुको भौतिक शरिरलाई शान्त बनाइरहेको थियो । त्यति शान्तमय बातावरणमा सँगसँगै भर्ती भएका नयाँ साथिहरुसँग हाम्रो सुस्तरी परिचय हुन थालिसकेका थिएँ । चारैतर्फ फलामे तारले बारेको जालिभित्र एउटै समयमा भर्ती भएका साथिहरुलाई पल्टने साइनो अनुसार ‘नम्बरी’ भनेर बोलाउन पर्ने चलन थियो ।

भर्ती भएका भोलिपल्ट नम्बरीहरुलाई भेटन धरान वरिपरिका आफन्तहरु क्याम्पभित्र आउन थालेका थिएँ । आफन्तहरु क्याम्प भित्र आउँदा उनीहरुको हातहातमा सुन्दर सयपत्री फूलका मालाहरु पनि लिएर आउँदथे । तर त्यति ठूलो धरान सहरमा मेरा कुनै आफन्तहरु चाँही छँदै थिएनन् । किनभने म गाउँदेखि आएको बिलकुल एक्लो ठेटँना थिएँ । त्यसैले मैले कुनै सयपत्री फूलका माला लगाउन पाइन र पाउने आशा पनि गरेको थिइन । तर झ्याम्मै टुक्रेर फुटेका शिसाझै दिल लिएर तम्बुको एउटा कुनामा बसिरहेको थिएँ । अनि नम्बरीहरुले गालाभरी गर्लम्मै सयपत्री फूलका माला उनेका दृश्य बितृष्णा सहित निक्कै लामो समयसम्म हेरिरहेको थिएँ ।

नयाँदिनको नयाँ ब्रेकफास्टपछि हामी सैनिक बर्दिहरु लिनको लागि मूख्य गोदामको कार्यलयमा पुगेका थियौ । हामीले त्यहाँ एउटा सुरिलो प्लाष्टिकको झोलाभरी खाकिबाट बनेका बिभिन्न प्रकारका पोशाकहरु पाएका थियौ । तिनै झोलामा तयार भएका एकभारी कपडाहरु लिएर आ-आफ्ना तम्बुमा फिर्यौ । दशैताका गाउँमा मुश्किलले एकजोर कपडा फेर्ने चलन थियो । अब त्यती धेरै सैनिक पोशाकहरु कुनकुन समयमा पहिरन गर्नुपर्ने होला भनेर म रनभूलमा परिरहेको थिएँ ।

भोलिपल्टको झुल्केघाम सँगसँगै तम्बुमा गुरुजीहरुको अनुहार देखापरेका थिएँ । त्यसपछि उहाँहरुले कुन समयमा कुन पोशाक लगाउने भनेर हामीलाई सिकाउन थाल्नु भएका थिएँ । त्यस दिनदेखि हामीले सैनिक पोशाक पहिरन गर्न मात्र नसिकेर अनुशासनको साथसाथमा खान, पिउन, हिडन र बोल्न पनि सिक्न सुरु गरिसकेका थियौ । हुन त धेरै नम्बरीहरु म जस्तै गाउँको एउटा अनकन्टर कुनादेखि आएको थिएँ । त्यसैले खाना खादाँ प्रयोग गरिने साधनहरु चम्ची, काँटा र छुरिको प्रयोग कसरि गर्ने भनेर गुरुजीहरुले प्रर्दशन गरेको दृश्य रमाइलो मान्दै हेरेका थियौ ।

त्यसदिनदेखि फित्तावाल चप्पलले मेरो पयर पडकाउन छाडेका थिएँ । जिन्दगीमा पहिलो पटक जुत्ताधारण गर्दा हृदय औधि हल्का भएका थिएँ । अझ त्यसदिनको रमाईलो क्षण चाँही त्यतिबेला भएको थियो, जतिबेला एकजना भुक्त्तभोगि नम्बरीले भैसीको पुँठो आकारका टोपी पहिरण गरेर हामी सबैलाई देखाउदै ख्यालठट्टा गरिरहेका थिएँ । तर बिधिको बिडम्बना र समय कति बलवान रहेछ । तिनै बिनम्र, मिलनसार, फरासिला र मृदुभाषी मेरा नम्बरी केहिबर्ष अगाडी इश्वरको प्यारो भइसकेका थिएँ । अहिले यी हरपहरु कोर्दैगर्दा तिनै पृय नम्बरीको आत्मालाई चिरशान्ती मिलोस भन्ने कामना ब्याक्त्त गर्न चाहन्छु ।

हरेक बिहानीको नित्यकर्मदेखि बेलायती सैनिक जीवनमा आबश्यक पर्ने सम्पुर्ण काम सिक्दै गरेको भएतापनि त्यसबेला ‘कसम खाने कवाज’ हाम्रो लागि सबैभन्दा महत्वपुर्ण कार्य थियो । त्यसैले तिनै कवाजलाई सफल बनाउन क्याम्पमा सबैभन्दा धेरै प्राथमिक्त्ता दिइएको थियो । त्यस बिहानदेखि हामीले कसम खाने कवाजको अभ्यास पनि सुरु गरिसकेको थियौ । तर भर्खरभर्खरै पहाडदेखि मधेश झरेका ठिटाहरुलाई धराने गर्मिले सात्तो लिइरहेका थिएँ ।

परेड मैदानमा बिस्तारै बिस्तारै कसम खाने कवाजको तालिम आरम्भ भएको थियो । कवाज सुरुभएको हरेक ४५ मिनेटमा रिक्रुटहरुलाई एउटा सानो बिश्राम मिल्ने गरेको थियो । त्यो बिश्राम केबल दश मिनेटको लागि मात्र हुन्थ्यो । म पहिलो पटक गाउँदेखि सहर झरेको आलाकाँचा एउटा युबा थिएँ । अनि उनीको मोजा लगाएर कवाजको अभ्यास गर्दा खुट्टाका औलाहरू पशिनै पशिना भएर रोइरहेको भित्रभित्रै आभाष गरिरहेको थिएँ । त्यसैले तिनै दस मिनेट बिश्रामको फाइदा लिदै जुत्ता र मोजा खोलेर आपको रुख मुनि शितल तापेर बसेको थिएँ ।

‘रिक्रुट ! परेडको समयमा जुत्ता खोल्छस ?’

निक्कै टाढाबाट गिध्दे दृष्टि लगाइरहेका गुरुजीले अचानक कराएर मेरो सात्तो खाइदिएका थिएँ । उनले केबल मेरो सात्तो मात्र खाएका थिएनन् । नजिकै रहेको फोहोर पानी बग्ने नालीको वारपार सुतेर पुल बन्न पनि सिकाएका थिएँ । अहिले सम्झदा सम्भवत त्यो नै मेरो सैनिक जीवनको सबैभन्दा पहिलो पटकको सजाय थियो । सैनिक जीवनमा बिताएको त्यसपछिको सजायहरुलाई संस्मरण गर्ने हो भने प्रशान्त महासागरको पानी भन्दा धेरै भएका छन् । अझै त्यस्तो सनकी गुरुजीले हङकङको तालिम केन्द्रमा पुगेपछि लामालामा जुङ्गा पालेका गुरुजीहरुले गर्ने अमानबिय ब्यबहार चाल पाउने छस भनेको सुन्दा मेरा आङ जिरिङ्गै भएका थिएँ । जे होस, सैनिक कवाजको बेला जुत्ताखोल्न नपाइने रहेछ भनेर पहिलो पाठ मैले धरानको घोपा क्याम्पमा सिकेको थिएँ ।

जलमार्ग, बायुमार्ग र स्थलमार्ग कुनैपनि ठाँउदेखि आएको दुश्मनलाई दुईटुक्रा पार्छु भन्दै बेलायती झण्डा छोएर ठूलो तामझामको साथ अर्को हप्ता मैले कसम खाएको थिएँ । त्यसपछि धरानदेखि काठमाण्डौ हुँदै हङकङ जानको लागि हामीलाई बिभिन्न समुहहरुमा छुट्याइन थालिएको थियो । त्यसबेलासम्म मैले घर छाडेको पुरै तीन हप्ता भइसकेको थियो । मलाया भर्ती मेरो लागि सोखको बिषय नभएर दरिद्रताको उपज रहेको थियो ।

तर हङकङ जाने समय जतिजति नजिकिदै थियो । नयाँनयाँ ठाँउहरु के कस्तो हुने होला भनेर मेरा हृदयभित्र केहि असहज उत्पन्न भइरहेको थियो । कताकता अनेकन भावहरु सलबलाई रहेका जस्ता अनुभव गरिरहेको थिएँ । अझै त्यति कलिलो उमेरमा आफ्नो परिवारलाई छाडेर हिडनुको पिडाले कताकता सताइरहेको जस्तो अनुभूति हुन्थ्यो । किनभने भर्ती भइसकेपछि आफ्नो जन्मघर फर्केर आउन टन्नै तीनबर्ष कुर्नु पर्दथ्यो । अझै त्यो समयभित्र जिन्दगीले डोर्याएर कहाँकहाँ पुग्नु पर्ने होला ? र, के के अनुभव गर्नुपर्ने होला भनेर झन हृदयमा अशङ्ख्या हलचल पैदा भइरहेका अबस्था थियो ।

त्यसदिन फेब्रुवरी १४, १९८४ को दिन थियो । बिहानीको नास्ता खाइसकेपछि हामी आ-आफ्नो कुम्लो कुटुरो बोकेर कवाज खेल्ने मैदानमा पुगेको थियौ । घडीले बिहानीको समय दश बजाएपछि गुरुजीले सबै रिक्रुटहरुको नाम र नम्बर बोलाएर हाजिरी गरेका थिएँ । सबैको नाम आएपछि धरान छाडेर काठमाण्डौ जानका लागि हामी तयार भएका थियौ । हाम्रा सिधै अगाडी कवाज खेल्ने मैदानमा चारवटा कोचहरु लहरै मिलाएर रोकिएका थिएँ । गुरुजीले हाजिरी गरिसकेपछि हामीलाई कोचमा चढने आदेश दिएका थिएँ । त्यसपछि कमिलाको पङ्त्ति झै मिलेर हामी कोचभित्र पसेका थियौ ।

हामी कोचमा पसेको केहिबेरमा कोचको चक्का सुस्तरी गुडन थाल्यो । घोपा क्याम्पको पिछाडी ढोकादेखि निस्केको कोचले बिस्तारै तिनकुनेलाई सँधैसँधैको लागि छाडदै गयो । थोरै भत्केको गाउँले मन र मुटु लिएर म कोचको सबैभन्दा पछाडी सिटमा आसन गरिरहेको थिएँ । त्यति आरामले कोचभित्र बसेतापनि मेरा हृदयभित्र अनेकन प्रश्न र जिज्ञासाहरु सुस्तसुस्त गतिमा सलबलाई रहेकानै थिएँ । मैले बिस्तारै कोचको झ्याल खोलेर चारकोशे झाँडीलाई निक्कै लामो समयसम्म नियालि रहे । त्यसपछि झ्यालदेखि मुन्टो फर्काएर कोचको अगाडी हेर्दा गुरुजीको इसारामा हामी सन् १९८४ सालको रिक्रुटहरुले, ‘नैनी ताल नैनी ताल, घुमि आयो रेल……,’ भन्ने गित सुरु गरिसकेका थियौ ।

दिउसोको एकबजे बिराटनगर बिमानस्थलदेखि आरएनएसीको एभ्रो बिमानले बिराटनगर सहरमाथि धुवा छाडदै गर्दा मेरा अनुहार बिरमाइलो मान्दै कालो बादलमा परिणत भइसकेका थिएँ । बिमानले सुस्तरीसुस्तरी खुला आकाशलाई चुम्नको लागि सिधै माथि आकासिदा मैले आफ्नो सिधै अगाडीको सिटलाई मज्जाले समाति रहेको थिएँ । बिना बादलको त्यस मध्यान्हको मौसम अतिनै आकर्षक रहेको थियो । तिनै आकर्षक मौसमको बेला मेरा पापी नयनहरुले दुरदृष्टिमा रहेका हिमालय श्रृखँलाको क्रमशः नजर लगाइरहेका थिएँ ।

केहिबेरमा निक्कै टाढा क्षितिजमा देखिएको ‘सगरमाथाको’ लोभलाग्दो दृश्यमा मेरा नजर मज्जाले गाँढीरहेका थिएँ । मैले सगरमाथादेखि पटकपटक नजरलाई हटाउन प्रयत्न गरेतापनि मेरो दिल पटक्कै मानिरहेको थिएन ।

लेखक बुईपा, खोटाङ्का हुन् हाल अक्सफोर्ड, बेलायतमा बस्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार