कुन देशले के गर्दैछन् कोरोनाको महामारी रोक्न ?

काठमाडौं :कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिँदै गएपछि विश्वभर यसलाई नियन्त्रणको कदम शुरु गरिएको छ ।

बिहीबार मात्र विश्वभर यो भाइरसका ६ हजार ७२९ नयाँ संक्रमित पाइएका छन् भने ३ सय ५१ जनाको मृत्यु भएको छ । प्रकोप बढ्दै गएपछि विभिन्न देशले यसलाई नियन्त्रणको योजना पनि अघि सारेका छन् ।

चीनपछि सबैभन्दा बढी प्रभावित भएको मुलुक इटालीले रोमका नौ सय भन्दा बढी क्याथोलिक चर्च तीन सातासम्मका लागि बन्द गरेको छ । बुधबार पनि इटालीले फार्मेसी, खाना पसल र अन्य आवश्यक स्टोरबाहेकका पसल बन्द गराएको थियो ।

त्यस्तै फ्रान्स, आयरल्याण्ड, अष्ट्रेलिया, अष्ट्रिया, टर्की र नर्वेले विद्यालय र विश्वविद्यालय बन्द गर्ने निर्णय गरेका छन् । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले सोमबारदेखि कोभिड–१९ विरुद्ध लड्न विभिन्न कदम कार्यान्वयनमा आउने बताएका छन् ।

अमेरिकाले बेलायतबाहेकको यूरोप भ्रमणमा पनि रोक लगाउने निर्णय गरेको छ भने न्युयोर्क राज्यमा स्वास्थ्य आपतकालको घोषणा गरिएको छ । क्यालिफोर्नियाले पनि २५० भन्दा बढी मानिसको भेलामा रोक लगाएको छ ।

त्यस्तै भारतले पनि विश्वका सबै मुलुकबाट आउने मानिसको लागि भिसा निलम्बन गर्ने निर्णय गरिसकेको छ ।

बेलायतले भने अहिलेसम्म आपतकालीन कदम अघि सारेको छैन । बेलायती प्रधानमन्त्रीले कोरोना भाइरसको लक्षण देखिए आफैं क्वारेन्टाइनमा बस्न सबै नागरिकलाई आग्रह गरेका छन् । उनले विद्यालय भने बन्द नहुने बताइसकेका छन् ।

बेलायत पनि उल्लेख्य मात्रामा भाइरसको प्रकोप बढिरहेको मुलुक हो । अहिलेसम्म यो भाइरसबाट मर्नेको संख्या १० पुगिसकेको छ ।

चीनले कोभिड–१९ को महामारीलाई नियन्त्रणमा लिन बाहिरबाट आउने सबै मानिसलाई १४ दिनको क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । जसमध्ये इटाली, इरान, दक्षिण कोरिया र जापानबाट आएका मानिसलाई विशेष निगरानीमा राखिने बताइएको छ ।

जापानले पनि गत सोमबार भाइरसको प्रकोप नियन्त्रणको लागि चीन र दक्षिण कोरियाबाट आउने यात्रुमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बेल्जियमले कोरोना भाइरसको कुनै लक्षण देखिए आफ्नै घरमा क्वारेन्टाइनमा बस्न नागरिकलाई आग्रह गरेको छ । बेल्जिमले मुलुकको सबै विद्यालय बन्द गराउने निर्णय गरेको छ । साथै मानिसहरुलाई घरबाट नै काम गर्न सुझाइएको छ ।

आयरल्याण्डले मुलुकका सबै स्कुल, कलेज, शिशु स्याहार केन्द्र र सांस्कृतिक संस्थाहरु सबै दुई साताको लागि बन्द गर्ने निर्णय गरेको छ ।

जर्मनीले पनि मुलुकमा १ हजारभन्दा बढी मानिसको भेलामा प्रतिबन्ध लगाएको छ । केही फुटबल क्लबले पहिलोपटक विना दर्शकको खेलको घोषणा गरेका छन् भने सरकारले कोरोना भाइरसको कारण सुस्ताएको अर्थतन्त्रमा सुधारको लागि केही योजना अघि सारेको छ ।

स्पेनले पनि भाइरसविरुद्ध लड्न सबै विद्यालय, विश्वविद्यालय र दिवा स्याहार केन्द्र बन्द गरेको छ । स्पेनको ला लिगा स्थगित गरिएको छ ।

फ्रान्सले पनि १ हजारभन्दा बढी मानिसको भेलामा प्रतिबन्ध लगाएको छ । साथै, सोमबारदेखि मुलुकको सबै विद्यालय र विश्वविद्यालय बन्द हुनेछन् । बिहीबार उनले यस्तो घोषणा गरेका हुन् । साथै केही खेलकुदका कार्यक्रम पनि बन्द गरिएको छ ।

सोमबारदेखि डेनमार्कमा पनि सबै विद्यालय बन्द हुनेछन् । यसअघि नै डेनमार्कमा विद्यार्थी घरमा नै रहँदै आएका छन् । युरोपका अन्य मुलुकमा नर्वेले पनि सबै विद्यालय र विश्वविद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

मध्यपूर्वमा कतारले सबै सिनेमा, थिएटर, जिम र बालबालिकाको क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । साथै साउदी अरेबियाले पनि सामाजिक जमघट र विवाह तथा होटलहरु बन्द गर्ने निर्णय गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार