‘नमरी स्वर्ग देखिन्‍न भन्नेहरू इलाम पुगेका रहेनछन्’

असोज ५ गते, इलाम

‘अब यहाँदेखि चाहिँ पिच बाटो सकियो,’ कवि बिमल वैद्यले मोटरसाइकल घ्याच्च रोक्दै भने।

म मोटरसाइकलबाट ओर्लिएँ र खुट्टा तन्क्याउन थालेँ। हामी इलामको प्रख्यात माइपोखरी जान लागेको थियौं। आधाउधि बाटो काटिसकिएको थियो। मौसम अनौठो थियो। छिनमा पानी पर्ने–छिनमा रोकिने।

मैले चारैतिर आँखा डुलाएँ। दायाँ छेउमा एउटा सुन्दर कटेज थियो, हरियो रंगको छानो हालेको। कवि बिमलका लागि त पानीपँधेरो भैसकेको ठाउँ। मानिसको स्वभावै हो, आँखा अभ्यस्त भइसकेपछि जतिसुकै सुन्दर कुराहरु पनि साधारण नै लाग्छन्। मेरा लागि भने इलामका हरेक कुना काप्चा र चारैतिर देखिने प्राकृतिक छटा नयाँ थिए। त्यसैले आँखाभरी अघाउन्जेल म तिनीहरुलाई समेटिरहेको थिएँ। मोबाइल फोनको क्यामरा पनि जिल्ल परिरहेको हुनुपर्छ–किन अचानक यसले मलाई ओभरटाइम काम गराइरहेका होला भनेर।

हुन त म धेरै वर्ष अघि ‘मंगोलियन हार्ट’को एउटा म्यूजिक भिडिओ बनाउने क्रममा दार्जिलिङ जाँदा कन्याम, फिक्कल र पशुपतिनगर पुगेको थिएँ। ‘तिमीलाई देखेर हिमाल हाँसेको।’ तर त्यति बेला इलाम बजार जाने अवसर जुरेन। त्यसको केही समयपछि ‘नेपथ्य’को सिलोंगमा भएको कन्सर्ट र मैले सञ्चालन गर्ने टेलिभिजन कार्यक्रम ‘म्यूजिक म्याजिक’को छायांकनपछि फर्किँदा साथीहरुसँग इलाम पनि घुम्ने योजना बनेको थियो। त्यस पटक पनि चेरापुञ्जीमा खुट्टा मर्काएको हुनाले म भद्रपुरबाट उडेर काठमाडौं आउनु परेको थियो।

साथीहरूले पछि इलामका फोटा देखाउँदा म चुक्चुकाएको थिएँ। इलाम टेक्ने अवसर नै जुर्दैन थियो। यस पटक बिमल वैद्यले त्यो जुराइदिए, ‘इलाम साहित्य महोत्सव’मा सहभागी हुने अवसरका रुपमा।

कोहीकोही मान्छे एकै भेटमा आत्मीय हुन्छन्। केही महिनाअघि सिलिगुडीमा सम्पन्न ‘दार्जिलिङ नेपाल साहित्य महोत्सव’मा भेटिएर परिचय भएका कवि बिमल त्यसको उदाहरण हुन्। त्यहाँ हाम्रो खासै उठबस हुन नपाए पनि एउटा अनौठो र अदृश्य धागोले हामीलाई बाँधेको रहेछ। बीचमा एक पटक उनी काम विशेषले काठमाडौं आएका बेला आगो लिन जसरी भेटेर कफी खाएका थियौं। ह्वाट्सएप्मा बेलाबेला छास्सछुस्स संवाद हुन्थ्यो।

त्यही क्रममा उनले इलाममा हुन लागेको साहित्य महोत्सवको निम्तो दिएका थिए। उनको निम्तो पाउनासाथ मन इलाम पुगिहाल्यो। इलामको सुन्दरताबारे सुनेर लोभिइरहेको मन फुरुंग भएर बादलको भुवा बनेर उड्नु अनौठो कुरा भएन। मनभन्दा छिटो यात्रा गर्ने कुनै कुरा कहाँ छ र? मानिसहरू प्रकाशको कुरा गर्छन्। मन त एकै निमेषमा अरबौं प्रकाशवर्षको गतिमा यात्रा गर्छ। मानिसहरू ‘टाइम ट्राभल’लाई मिथक भन्छन्, मन भने आँखा झिमिक्क नगर्दै इतिहासको पहिलो घटनाबाट भविष्यको अन्तिम पलसम्म पुग्न भ्याउँछ।

अहिले चाहिँ पहिले नै यता पुगेको मेरो मनलाई पच्छ्याउँदै मेरो तन पनि इलाम आइपुगेको तेश्रो दिन भएको छ।

असोज २ गते, काठमाडौं–भद्रपुर–करफोक

इलाम साहित्य महोत्सवमा सहभागी हुन काठमाडौंबाट भद्रपुर ओर्लनेहरू सबै एउटै उडानमा थिएनौं। त्यसैले उता सँगै भेटिएर एउटै गाडीमा इलाम चढ्ने योजना थियो। म पहिलो उडानमा परेको थिएँ। दोश्रोमा कवि भूपाल राई र श्रवण मुकारुङ थिए अनि तेश्रोमा कवि मोमिला। म केही घण्टा अघि भएँ। मलाई विमानस्थलमै अरुलाई कुरौं कि चारआलीतिर आएर कुनै रेस्तोराँमा अल्मलिऊँ भन्ने दोधार भइरहेको थियो।

त्यही बेला थाहा भयो, अग्रज श्रष्टा कृष्ण धरावासी भद्रपुरमा छन्। उनले प्रेमपूर्वक आफ्नो घरमा बोलाए। मैले पनि उनको आँगन टेक्ने अवसरलाई उम्किन दिइनँ। सञ्जीव उप्रेति पनि त्यहीँ रहेछन्, मेरो त हंस नै प्रसन्न भइहाल्यो। भाउजू मञ्जु बिमलीले बडो आत्मीयतापूर्वक दहीचिउरा खुवाउनु भयो। उहाँहरू पनि एक दिनअघि मात्र झापा घर पुग्नुभएको रहेछ।

अप्ठ्यारो मान्दै उहाँले भन्नुभयो, ‘हामी पनि यहाँ नभएकोले अरु केही बन्दोवस्त छैन। राम्ररी खुवाउन सकेनौं, अन्यथा नलिनु होला।’

मैले त्यतिखेर अग्निपथ भन्ने हिन्दी सिनेमामा अमिताभ बच्चनले बोलेको एउटा संवाद सम्झिएँ, ‘आदमीका भूख रोटी से नहीं भरता। भूख मरता है रोटी में लिपटी हुई प्यार से। मालूम?’

हुन त यो बबूरोले आजसम्म चौरासी व्यञ्जनबारे सुनेको मात्र छ, खाएको छैन। तर पनि तपाईंले प्रेमपूर्वक खुवाएको दहीचिउरा मेरा लागि चौरासी व्यञ्जनभन्दा कम थिएन मञ्जु भाउजू।

हवाइ सेवाको गौरवशाली परम्परा कायमै रहेको कारण भनेको समयभन्दा निकै ढिला सबै जना एकै ठाउँमा भेला हुन सकियो। साढे चार नाघिसकेपछि मात्र हामी झापाबाट इलामतिर लाग्यौं। झापाको हप्प परेको गर्मी बर्नेको उकालोमा कोल्बुङसम्म हामीलाई पुर्‍याउन आयो र इलामको चिसोसँग ‘पल्टी मारेर’ बिदा माग्दै फर्कियो। (यात्रुहरूलाई गन्तव्यको बीचमै ओरालेर अर्को गाडीको जिम्मा लगाउनुलाई यातायात व्यवसायीहरू पल्टी मार्नु भन्दा रहेछन्।)

वरिष्ठ कवि र साहित्यकारहरूको सान्निध्यमा रमाउँदै फिक्कल र कन्याम हुँदै अघि बढ्दा म पन्ध्र–सोह्र वर्ष अघिका सम्झनाहरूमा रमाइरहेको थिएँं। इलाम पुग्ने आधा बाटो छिचोलिई सकेको थियो। अब मलाई भने करफोकमा ओर्लनु थियो।

काठमाडौंमा तीन दशकभन्दा बढी बिताएर सात वर्षअघि आफ्नै थलोमा फर्केका प्रिय दाइ केदार शर्माका घरमा मलाई बास बस्नु थियो। केदार दाइ र म भोलिपल्ट बिहानै सँगै साहित्य महोत्सवका लागि इलाम पुग्ने योजना बनेको थियो। उनले एउटा सानो तर न्यानो होमस्टे पनि चलाएका छन्। केदार दाइ दम्पत्ति आजकल देशभरका स्थानीय परिकार र तिनको आफ्नोपन खोज्दै खाद्य संस्कारको जगेर्ना गर्न मेची-महाकाली भौंतारिन पल्केका छन्। ‘लोक-परिकार’ भन्ने नाम दिएर उनले तिनकाबारे निरन्तर कलम पनि चलाइरहेका छन्।

धेरै अघिदेखि उनको घरमा पाइला टेक्ने योजना पनि छेपाराको उखान नै भइरहेको थियो। त्यहाँ पुगेर आएका अरू मित्रको बयान सुन्दा गतिलै कुरा गुमाइएको छ भन्ने लाग्थ्यो। त्यसैले म यस पटक त्यो मौका नछोड्न लालायित थिएँ। करफोक स्कुलको गेटैनिर मूल सडकमा म सहयात्रीहरूसँग बिदावारी भएँ। अँध्यारो हुन थालिसकेको थियो।

करफोक स्कुलको आफ्नै इतिहास छ। बिक्रम सम्वत् २००९ मा नै महानन्द सापकोटाको संयोजनमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, लेखनाथ पौड्याल, पारसमणि प्रधान, धरणीधर कोइराला, शंकर लामिछाने तथा पुण्यप्रभा ढुंगाना लगायत वरिष्ठ साधकहरूको उपस्थितिमा त्यहाँ पाँच दिने वृहत साहित्य महोत्सव भएको थियो। यस अर्थमा इलामलाई साहित्य महोत्सवको जन्मथलो भनिदिए पनि हुन्छ।

मूल बाटोबाट बाँकटे हानेर केहीबेर अघि बढेपछि ऐतिहासिक करफोक स्कुलको भवन देखियो। त्यही भवनलाई बायाँ पारेर फेरि केही बेर ओरालो लागेपछि तलतिर झर्ने एउटा गोरेटो बाटोको मुखमा पुगियो। उकालोको मुखमा पुग्दा पारि कतैबाट केदार दाइ कराएको आवाज आयो। यताबाट म पनि कराएँ। उताबाट केदार दाइ बाटोको निर्देशन दिन थाले। म मनमनै फिस्स हाँसे।

मोबाइल फोनको युगमा हामी दुवै सञ्चारको पुरानो नेपाली गाउँले प्रविधि प्रयोग गरिरहेका थियौं। त्यो अनुभव आफैंमा बडो रमाइलो थियो। म ओरालो झर्न थालेँ। अँध्यारो र पानी परेको चिप्लो हुनाले म सावधानीपूर्वक तल झर्दै थिएँ। उताबाट केदार दाइ कराउँदै दिशानिर्देश दिँदै थिए। तल पुगेर केही बेर समथर हिँडेपछि फेरि उकालो चढ्नुपर्ने रहेछ।

माथि टुप्पोमा पुगेपछि केदार दाइ भेटिए। त्यहाँबाट फेरि हामी केहीबेर बारीका कान्लैकान्ला तेर्सो हिँडेर माटो ताछेर बनाइएका दश-बाह्र खुड्किला ओर्लेर उनको घरमा पुग्यौं। भित्र पस्नासाथ किरण भाउजूको उज्यालो र स्नेहिल मुस्कानले बाटोभरिको सबै थकाइ भगाइदियो।

त्यही बेला काठमाडौंबाट एक प्रिय मित्र, पदयात्राविद्, चित्रकार तथा अनुवादक सुरज शाक्यको सन्देश मोबाइलमा प्राप्त भयो, ‘केदार दाइलाई जसरी भए पनि फकाएर चियाको धुँवाले सेकाएको कुखुरा चाहिँ चाख्नु होला है?’

मैले मुसुक्क हाँस्दै उत्तर पठाएँ, ‘सोह्रश्राद्धको बेला छ। सबै बाहुन कहाँ म जस्तो बिग्रेका हुन्छन् र?’

लोभी जिब्रोको रसायन त सुरजले सक्रिय बनाइदिसकेका थिए। मैले एउटा षड्यन्त्र गरेँ, सुरजसितको त्यो वार्ता दाइ-भाउजूलाई सुनाएँ। फर्किँदा एक रात फेरि त्यहाँ बस्ने हो भने चिया धुँवाएको कुखुरा खुवाउने वचन पाएँ। म जस्तो खञ्चुवाको लागि त्यो त गज्जबको कुरा भइहाल्यो। दुई पटक पनि नसोची मैले हुन्छ भनिहालेँ।

हुन त त्यस रात हामीसँग धेरै समय थिएन। तै पनि दाइको हल्काफुल्का सहयोगका साथ भाउजूले बनाएको खाना उहाँहरूको आत्मीयता जत्तिकै स्वादिलो थियो। खैरो चामलको भात, गट्टाको तरकारी, करेला भुटेका तरकारी र गुन्द्रुकको झोल। साथमा साग हालेको कडी।

लोक-परिकारका पारखी दाइले गफ दिए, ‘हेर, यो कडी देशैभर खाइन्छ। यता पूर्वमा हामी सोल्लर भन्छौं, सुदुरपश्चिममा पलेउ भन्छन् र अन्त धेरैतिर कडी। यो चाहिँ सुप पाराले साग हालेर बनाएको पलेउ हो, हामीले भोजन भ्रमणमा सिकेको। यसमा हालेको साग जरिङ्गोको हो।’

अनि टेबलमा थियो प्रशस्त लसुन फुराइएको, तात्तातो घिउ। दाइले थपे, ‘यो चाहिँ मेरा हजुरबाले खाने खालको घिउ। उहाँ यसरी टन्नै लसुन फुराएरको घिउले सर्दी जान्छ भन्नुहुन्थ्यो।’

मैले सोचेँ, सर्दी त के गर्छ कुन्नि, त्यो घिउले पाहुनालाई चाहिँ नजाऊँ-नजाऊँ पार्दो रहेछ। अँ, घरमै बनाएको ‘जिन्जर एल’को स्वाद त अझै जिब्रोमै छ। त्यसलाई उनीहरू ‘अदुवाह्’ भन्दा रहेछन्। वाह नै थियो त्यसको स्वाद।

असोज ३ र ४, करफोक–इलाम

करफोकबाट बिहानै हामी एउटा सुमोमा खाँदिएर इलामतिर लाग्यौं। त्यो बाटोमा चल्ने सुमो र बोलेरोले दश जना अटाउने गरी सिट बनाएका हुँदा रहेछन्। अगाडि बस्नेबाहेक अरूका लागि घुमाउरो उकालो बाटोमा यात्रा कष्टप्रद हुनेरहेछ। पर्यटकीय दृष्टिले हेर्ने हो भने त्यति सुन्दर थलोमा पुग्ने यात्रालाई पनि अलि आरामदायी बनाउन सके कति गज्जब होला भन्ने लागिरह्यो।

हामी चढेको बोलेरोका चालक बीस-बाइस वर्ष हाराहारीका थिए। आधाजसो समय त उनको ध्यान बाटोमाभन्दा फोनमा हुन्थ्यो। पहिलो पटक रिङ बजेर उनले खल्तीबाट फोन निकालेर हेर्दा मैले उताबाट कल गर्ने कुनै युवतीको फोटो झिलिक्क देखेको थिएँ। नेटवर्कको कारण दुवै जनाको सहज कुराकानी हुन सकिरहेको थिएन। पटकपटक उनीहरू सम्पर्क गर्न खोजिरहे। तर नेटवर्क खलनायक भइरहेको थियो।

त्यसको झोंकमा उनले म्यूजिक प्लेयरको कान बेस्मारी निमोठे। एक त बिग्रेको स्पीकर, त्यसमाथि कर्णकटु टुङटुङ ढिस्वाला संगीत अनि गीतको नाममा कुनै गायकको चित्कार। हाम्रो कानको जाली चिर्रचिर्र गरेर चर्किन थाल्यो। यस्तो लाग्थ्यो, नर्कमा यमराजले तातो तेलको कराहीमा चोपलेको पीडामा कोही रोइरहेको छ।

सहन नसकेर केदार दाइले भने, ‘भाइ, आवाज अलि सानो बनाऊ न।’

चालकले नसुनेको जस्तो गरे। केदार दाइ किन छोड्थे, राहू जसरी पछि लागिरहे। धेरै पटक कचकच गरेपछि चालकले मुर्मुरिँदै गीत बन्दै गरिदिए। हाम्रो कान तै पनि र्‍वाइँ-र्‍वाइँ गरिरहेको थियो।

चालकले गीत सुन्न नपाएको तोडमा हामीसँग बदला लिए जसरी अचानक गाडीको गति बढाए। उनी खाल्डाखुल्डीमा पनि ग्वाम्मै गाडी हालेर उफारिदिन्थे। साहूको गाडी राहूको ज्यान !

त्यति साँघुरो र घुमाउरो बाटोमा दायाँबायाँ हल्लाउँदै हुइँक्याउँदा ठाउँठाउँमा त जस्तै नास्तिकले पनि इश्वरको नाम नपुकारी बस्न सक्दैन थियो। सम्भवतः त्यति बेला हामी सबैको आन्द्रा र भुँडीले स्थानान्तरण गरिसकेको हुनुपर्छ। सम्भवतः त्यही कारण विदेशका कतिपय मुलुकमा सार्वजनिक सवारी चलाउनेहरूको उमेर पैंतीस वर्ष हुनैपर्ने नियम हुन्छ। उनीहरू अलि जिम्मेवार हुन्छन् भनेर होला। जे होस्, ती चालक भाइले हामीलाई इलाम चाहिँ पुर्‍याए।

इलाममा कवि बिमल वैद्य र आयोजकका तर्फबाट प्रकाश थामसुहाङ्ग लगायतले न्यानो स्वागत गरे। उल्लेख्य सहभागिताका साथ निकै भव्य ढंगले दुई दिनको इलाम साहित्य महोत्सव सम्पन्न भयो। आयोजकहरूले काठमाडौं, झापा, बिराटनगर, हेटौंडा लगायत थुप्रै स्थानबाट आएका पाहुनाहरूको इलाम बसाइ बडो व्यवस्थित बनाएका थिए। त्यसका लागि पनि इलामलाई आभार प्रकट नगरी हुँदैन। मैले मनभरि मिठा सम्झनाहरुको पोकोपन्तुरो कसेँ।

असोज ५, इलाम

४ गते कार्यक्रम सकिए पनि बिमल वैद्यले मलाई एक दिन सप्रेम आफ्नै घरमा राख्ने भए। मायाले गरेको जिद्दी टार्न सकिन्न रहेछ। सुरूमा घरमा अलि अप्ठ्यारो होला भन्ने सोचेको थिएँ तर उनकी पत्नी रजनी भाउजूको आत्मीयता त झनै यति स्नेहिल थियो, त्यसका लागि म इलामबाट आजन्म आभारी भएर फर्केको छु। रिन लगाएको भए कुनै दिन तिर्थेँ, तर गुन लगाउनुभयो भाउजू, तिरेर सकिन्नँ। त्यसैले प्रयास नै गर्दिनँ, माफी चाहन्छु।

इलामको ‘चप्पाचप्पा’ नघुमाइ पठाउन्न भन्ने हठ लिएर बिमल वैद्यले मलाई त्यहाँका सबै हेर्नपर्ने ठाउँ पुर्‍याए, चखाउनुपर्ने कुरा चखाए। त्यही क्रममा हामी उनको मोटरसाइकलमा माइपोखरीतिर लागिरहेका थियौं।

बादलले इलामलाई कति धेरै माया गर्दो रहेछ। अलिकति मौका पाए कि गम्लंग अँगालो मारिहाल्ने, छोपिहाल्ने– सुम्सुम्याइहाल्ने। झन् यसपटक ढिलो मनसुनका कारण पानी रोकिएको थिएन। यस्तो लाग्थ्यो, मानौं इलाम आफ्नो यौवनको चरम उत्कर्षमा थियो। आकाश र इलामको प्रेम साह्रै लोभलाग्दो थियो। म त्यसको साक्षी हुन पाइरहेको थिएँ।

पिच सकिएर उकालो लागेपछि बाटो ठाउँठाउँमा निकै बिग्रेको थियो। त्यसमाथि अहोरात्र परेको पानी। मोटरसाइकलको चेन अलि खुकुलो भएको आवाज आइरहेको थियो। चेन खुकुलो भए पनि अठोट दह्रो भएपछि त्यसले केही फरक नपार्ने रहेछ।

तै पनि मैले शंका प्रकट गर्दै भनेँ, ‘टाढै छ जस्तो छ अझै। फर्किँदा अँध्यारो पनि होला। कि यतैबाट फर्कौं?’

फर्किने भन्ने कुरा त उनको शब्दकोषमा हुँदैन रहेछ।

उनले भने, ‘ह्या….ढुक्क हुनुस् न। जसरी पनि पुर्‍याउँछु म। पाँच मिनेटमा पुगिन्छ।’

उनले साँच्चै भनेका रहेछन्। तर फरक कति मात्र भने, उनको एक मिनेटमा साठी सेकेण्डभन्दा निकै बढी हुँदो रहेछ। त्यसैले हामी माइपोखरी पुग्दा साँझ परिसकेको थियो। नौ कुना भएको माइपोखरीको ऐतिहासिक, धार्मिक र साँस्कृति महत्व त छँदैछ– सम्पदा सूचीमा सिमसारको रुपमा पनि सूचिकृत भएको रहेछ। पानी परिरहेकै थियो। डम्म कुइरो लागिरहेकोले परसम्म स्पष्ट देख्न सकिन्नथ्यो।

बिमलले थक्कथक्क मान्दै भने, ‘मौसमले अलि धोका दियो।’

मैले भनेँ, ‘यस रुपमा माइपोखरी देख्न पाउनु पनि त अर्कै रमाइलो हो नि।’

साँच्चै कुहिरोको अँगालोमा लुकेर लजाइरहेको माइ पोखरी झलमल्ल उज्यालोमा सायद त्यति आकर्षक देखिँदैन थियो होला।

पोखरीको वरिपरि एक चक्कर लगाएर हामी भटभटे राखेको ठाउँमा फर्कियौं। त्यहाँ स्थानीय एक शेर्पाको पसलमा दुर्लभ जिनिस पाइने रहेछ, पदमचाल भन्ने जडीबुटीको जराबाट बनेको टिन्चु पानी। स्वास्थ्यवर्धक पनि हुने त्यो तरल पदार्थ अलिकति चाख्ने मौका पाइयो, छोड्ने कुरै भएन। मैले अलिकति घुट्क्याएँ। भटभटे चलाउने भएकाले बिमलले चाहिँ मलाई हेर्दै घुटुघुटु थुक मात्र निले। साथमा उच्च रक्तचापलाई फाइदा हुने नकिमा भन्ने फूलजस्तो वनस्पतिको तरकारी र सुकुटी चपाइयो।

हामी अँध्यारोमा ओरालो बाटो झर्न थाल्यौं। बाटो अझै बढी चिप्लो र हिलो भएको थियो। बेलाबेला म कतै ओर्लिनुपर्छ कि भनेर सोध्थेँ। आफैं पनि भटभटे चलाउन भएकोले पछाडि बस्नेले यो प्रश्न कहिल्यै गर्न हुन्न भन्ने थाहा छ। इगोमै हान्छ ढ्याङ्ग। उनलाई पनि त्यस्तै किन नहोस्। ‘पर्दैन’ भन्दै सम्पूर्ण दक्षताको प्रदर्शन गर्दै उनले हामी दुबैलाई सग्लो र एक टुक्रामै इलाम ल्याइ पुर्‍याए।

रजनी भाउजूले सन्तोकको सास फेर्दै भनिन्, ‘फोन पनि लागेन, पीर लागिरहेको थियो।’

कोहीकोही मानिसहरु असाध्यै आफ्ना हुन्छन्।

असोज ६, इलाम–करफोक

बिहानै वरिपरिका रहेसहेका भालुढुंगा, भ्यू टावर, लभर्स प्वाइण्ट र चिया बगानहरू घुमाइसकेपछि मासुभात खुवाएर वैद्य दम्पत्तिले मलाई करफोक जाने गाडी चढाइदिए। त्यस दिन केदार दाइले पशुपतिनगर फाटकसम्म घुमाए। फाटकपारि गएर हामीले ठट्टा गर्‍यौं, ‘लौ विदेश भ्रमण पनि भयो।’

त्यहीँ एउटा होटलमा हामीले कुखुरोको मःम मगायौं। आठ टुक्रा भए पनि त्यसको आकार हेर्दा यस्तो लाग्थ्यो प्रत्येक डल्लोमा एकएक वटा चल्ला नै अटाएको छ। तर खाँदा थाहा भयो, चल्ला त हैन–कुखुराको गन्धसम्म चाहिँ थियो त्यो प्याजको मःममा। त्यहाँबाट लकी डेरीमा विभिन्न स्वादका चीजहरू चखाउँदै केदार दाइले मलाई गोर्खा चिया बगानमा पुर्‍याए।

सात सय रोपनीमा फैलिएको त्यो बगानको पूर्ण अर्ग्यानिक चिया जर्मनी निर्यात हुँदो रहेछ। त्यसको मालिक उदय चापागाईंको न्यानो आतिथ्य र मिठो चियाको चुस्कीसँगै साँझ बास बस्न म फेरि केदार दाइको सुन्दर घर पुगेँ। चिया धुँवाएको कुखुराको पालो थियो। मनमनै सोचेँ भोलिदेखि सुरज शाक्यलाई मसंग फूर्ति लगाउन एउटा कुरा कम हुने छ।

नभन्दै ‘टी स्मोक्ड चिकन’को स्वाद अद्वितीय नै थियो। मैले त्यही भनेँ। केदार दाइ गमक्क परे र भने, ‘आज हतारमा बनाएकोले अझ भनेको जस्तो भएको छैन।’

गल्ती गरे केदार दाइले। भनेको जस्तो कस्तो होला भनेर कुनै दिन फेरि म टुप्लुक्क उनको आँगनमा पुग्न सक्छु।

असोज ७, करफोक–भद्रपुर–काठमाडौं

भोलिपल्ट सखारै केदार दाइ र किरण भाउजूसँग बिदा भएर म करफोकबाट भद्रपुर झरेँ। म सोच्दै थिएँ, दसैंको बिदामा देशभित्रै घुम्न जाने हो भने इलाम एउटा गतिलो स्थान हो। तर पर्यटकीय हिसाबले इलामले आफ्नो सौन्दर्य, अनुकूल मौसम र सहजताको सक्ने जति लाभ उठाउन नसकेको हो कि भन्ने प्रश्न मनमा आइरह्यो।

हुन त त्यहाँका मानिसहरू बौद्धिक, राजनैतिक र प्रशासनिक हिसाबले पनि निकै नै प्रभावशाली स्थानमा पुगेको छन्। दार्जिलिङ र सिक्किमभन्दा इलाम कुनै पनि कुरामा कम छैन, बरु बढी नै सुन्दर होला। कोल्बुङ आइपुग्दा उकालैमा फेरि झापाको गर्मी ङिच्च हाँस्दै पल्टी मार्न कुरिरहेको थियो। मलाई चन्द्रगढी विमानस्थल पुगेर दिउँसोको उडानबाट काठमाडौं फर्किनु थियो। तर नढाँटी भन्दा मलाई इलाम छाडेर फर्किन साह्रै नरमाइलो लागिरहेको थियो। मन नलागे पनि मनभरी चिसो ठाउँका न्यानो मानिसहरूको आत्मीयता सँगालेर म इलामबाट फर्किएँ।

कोही मानिसहरू भन्छन्, नमरी स्वर्ग देखिन्न। मलाई लाग्यो, ती मानिसहरू इलाम पुगेका रहेनछन्।

सबै तस्बिरः ब्रजेश खनाल

यो सामग्री इलामको प्रचारप्रसारका लागि सेतोपाटी डटकमबाट साभार गरेर पुनप्रकाशित गरेका हौं 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार