चर्चामा रहने र सबैले सुने जानेका पेशा हुन् पत्रकारिता र पर्यटन कर्म । अन्य पेशा सरह यी दुईबीच पनि आपसी अन्तर सम्बन्ध नरहने कुरै भएन । पर्यटन क्षेत्र र गतिविधि जति नै राम्रो किन नहोस् तर चर्चा भएन भने त्यसले पूर्णता पाउँदैन । पछिल्लो समयमा फस्टाएको सामाजिक सञ्जाललाई छाड्ने हो भने त्यो चर्चाका सारथी पत्रकार नै हुन् भन्दा अत्यूक्ति नहोला ।
अरु कतिपय पेशामा पत्रकारलाई बाधक ठानिएला । कतिपयमा थोरै उपस्थितीले पनि पुग्ला तर पत्रकार र सञ्चार माध्यम यस्ता हुन् हरेक पल सहकार्य र समन्वय नगरी कार्म चल्दैन ।
इलामकै केहि उदाहरणलाई हामी प्रष्ट रुपमा यी दुईबीचको अन्तर सम्वन्ध केलाउने माध्यमकोरुपमा लिन सक्छौं । २०६० मा भएको इलाम महोत्सवले जुन चर्चा र इज्जत कमायो अहिलेको इलामका गाउँ वस्तीसम्मका पर्यटन गन्तव्य पहिचान र प्रचार हुने कोशेढुङ्गा थियो । त्यही बेला सुरु भएको अन्तुको पर्यटन यात्रा अहिले गतिलो निश्कर्षमा पुग्ने क्रममा छ । अर्थात त्यहाँका धेरैले पर्यटनलाई जिविकोपार्जनको माध्यम बनाए । त्यसको एउटा पाटो सञ्चारकर्मी थिए भन्नेमा घमण्ड गर्ने थुप्रै आधार छन् ।
राज्यले नदेखेका स्थान र वस्तुलाई सञ्चार माध्यममार्फत उजागर गर्दै स्थानीयलाई पर्यटनकर्ममा प्रेरित गर्ने उतिबेलाका रेडियो, पत्रिका र टेलिभिजन नै हुन् । इलाम महोत्सवअघि अन्तु कन्याम, पाथिभरा, माइपोखरी लगायत क्षेत्रको घुमघाम नगरिने होइन । तर राष्ट्रियव्यापी चर्चामा आएको महोत्सवले सञ्चार माध्यममा जुन प्रकारको इलामको प्रचार पायो त्यसले जो कोहीलाई इलाम प्यारो लाग्नमा थप बल पुग्यो ।
यो पछि कन्यामले व्यवस्थापनको पाटो समायो भने अन्तुले झुल्केघामसँगै अरु आयम खोज्यो । सिद्धिथुम्का व्युँझिदै धेरैको मानसपटलमा छिर्न थाल्यो । लारुम्बा (माङसेबु) ले धार्मिक पर्यटनको पर्याय बनायो । सन्दकपुर, माइपोखरी, माङमालुङ, पानीटार, माबुथाम, टोड्के झरना, ढापपोखरी, नयाँबजारलगायत क्षेत्र जुरमुराउनु पनि सञ्चार माध्यमले खबरदारी नभएर नेतृत्वदायी भूमिका खेलेको उपज हो भन्ने अहिलेका जानेमाने पर्यटनकर्मीले हेक्का राख्नुपर्ने देखिन्छ ।
पर्यटन विकासमा सिङ्गो इलाम जुरमुराएको बेला हरेक कार्यक्रममा पत्रकारहरु खाई नखाई सक्रिय रुपमा जिम्मेवारी वहन गर्न निस्किएका छन् । पेशागत धर्म भन्दा पनि माथि उठेर कार्यक्रमलाई भव्य बनाउन उनीहरु आयोजक कै रुपमा स्टेज तताउनेदेखि पथ प्रदर्शकसम्मको भूमिकामा देखिनु नौलो मानिएन ।
इलाम महोत्सवकै बेलाको एउटा सन्दर्भ मानसपटलबाट कहिल्यै हट्न सकेन । सहकर्मी दाई उमेश गुरुङ र मैले धेरै रात अनिदो बितायौं । कारण थियो महोत्सवमा इलामका गीत बजाउँदै आफ्नै आवाजमा इलामको पर्यटकीय पुष्ट्याई गर्नु । सूचना र प्रविधिमा उ बेला अहिले जस्तो सहजता थिएन । इलाम समेटिएका थुप्रै गीत ‘वाकमेन’ मा वजाउँदै बिचबिचमा इलामको महत्व आफ्नै भाषामा घुषाएर हामी थुप्रै क्यासेट बनाएर गाउँगाउँमा पुर्याउन चाहन्थ्यौं । कतैबाट आर्थिक स्रोत आएको थाहा छैन तर उदेश्य अनुसार २ दर्जन जति क्यासेट डव गरेर गाउँगाउँमा पुर्याएका थियौं । इङ्लाका शिवकुमार तामाङले होस् या चमैताको चित्रेमा माइकमा ती गीत र आवाज घन्कदा मख्ख परेको अहिले जस्तो लाग्छ ।
यो प्रसंग उप्काउनुको उदेश्य उतिबेलादेखि नै पत्रकारले पर्यटनलाई कति आत्मिय सम्झिएका थिए भन्ने मात्र हो । अहिले प्रविधिले फड्को मारेको छ । फेसवुक र युट्युवको जमाना छ । कुनै पनि पर्यटन गतिविधि नसकिदंै सामाजिक सञ्जालमा छाइसक्छ । यसले चर्चा बटुल्न सघाएको पक्कै छ तर जिम्मेवारी वहनको पाटो कस्तो छ भन्ने अर्को वहसको विषय हो ।
एउटा पत्रकारले पर्यटन गतिविधि नलेख्दा उसलाई जति पेशागत असर हुन्छ त्यो भन्दा कैयन धेरै एउटा पर्यटनकर्मीले पत्रकारको साहारा लिएन भने नोक्सानी व्यहार्नु पर्छ । तर यो बुझाई बामेसर्दै गरेको हाम्रो पर्यटनले कतिपय स्थानमा भुलेको होकी भन्ने भान पर्न थालेको छ । समाचारको स्थानमा राष्ट्रिय र स्थानीय मिडियामा विज्ञापन गर्नु पर्यो भने पर्यटनकर्मीले थेग्न सक्छन् की सक्दैनन् विचारणीय पक्ष छ । तर सञ्चारकर्मीले आफ्नो पेशागत धर्मलाई व्यवसायमा नजोडी त्यहि विषयलाई समाचार बनाएर छरपस्ट पारेपछि आएको अतिथिले अपेक्षाकृत रकम तिर्दा पाउने सन्तुष्टिमा यो विषय जोडिनु आवश्यक छ जस्तो लाग्छ । यसको अर्थ पत्रकारलाई समाचार लेखेवापत पैसा तिर्नुपर्छ भन्ने कदापी हुन सक्दैन । तर उसले जानी नजानि नै किन नहोस् त्यस क्षेत्रको वर्णन गरेकाले नै आजको अवस्थामा पुगेको हो भन्ने यथार्थलाई आत्मसात किन नगर्ने भन्ने मात्र हो ।
प्रचार र प्रर्वद्धनसँगै विकृति र विसंगतीलाई पनि गतिलै गरि उठाउनु पर्ने कर्म पत्रकारको हो । पुर्वाधार अभावदेखि खान बस्न र टुर प्याकेज भएन भन्नेदेखि स्थानीय र सवारी चालकसम्मको व्यवहार पर्यटनमैत्री भएन भन्ने अधिकार पत्रकारलाई सुरक्षित छ । यसलाई सुधार गर्दै लानुको सट्टा पत्रकारमाथि धारे लगाउन थालियो भने फेरि पनि पर्यटन गतिविधिको यात्रा सहज हुन सक्दैन ।
‘पर्यटनमा काम भन्दा गफ धेरै’ भन्ने शिर्षक पत्रकारले नै उठाएको विषय हो । कुनै बेला थियो बढाई चडाई गरेर भएपनि यहाँका विषेशताको प्रचार गर्नु । अहिले अर्को बेला आएको छ चर्चा गरिएका झै क्रियाकलाप सम्बन्धित ठाउँमा हुनु । किनकी पर्यटनमा प्रतिष्पर्धा थपिएको छ । यहाँका जस्ता विषेशता भएका स्थान र विषय अरु तिर पिन उत्तिकै छन् । अव गफका भरमा भन्दा पनि यथार्थ बुझेर मात्र घुम्न आउने चलन बढेको छ । तसर्थ महँगीदेखि खानपान, पूर्वाधार, सुरक्षा सबै विषयमा गम्भिर र जिम्मेवार बनाउनु हाम्रो कर्तव्य टड्कारो बनेको छ ।
सञ्चारकर्मीले गरेका सबै काम काम ठीक भन्ने छैन । तर उनीहरुको नियत र आशयमा भने शंका गर्ने ठाउँ छैन भन्ने मात्र हो । पर्यटन रिपोर्टिङका लागि दक्ष बनाउँदै कमीकमजोरी हटाएर पत्रकारलाई थप जिम्मेवार बनाउन पनि ढिला गर्नु हुँदैन ।