इलाम : इलाम नगरपालिका १० गोदकस्थित नन्द माध्यमिक विद्यालयले विद्यार्थी भर्नाका लागि घरदैलो अभियान सुरु गरेको छ ।
शैक्षिक सत्र २०७६ का लागि विद्यार्थी भर्ना गराउन अभिभावकहरुलाई सचेत गराउँदै नन्द माविले घरदैलो अभियान सुरु गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमणी गौतम र प्रधानाध्यापक वाईवी योङहाङको नेतृत्वमा शिक्षकहरुको टोलि प्रत्येक अभिभावकको घरमा पुग्न थालेको हो ।
‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याउँ’ भन्दै अभिभावको घरमा पुगेर विद्यार्थीलाई अनिवार्य विद्यालय भर्ना गराउन आग्रह गरेको छ ।
अभियान अन्तरगत अभिभावकसँग अन्तरक्रिया, सामुदायिक विद्यालयमा आकर्षणका लागि कार्यक्रमको जानकारी गराउने, विद्यायको सुधार र गुणस्तरीय शिक्षाका लागि सुझाव संकलन गर्ने लगायतको कार्य गर्ने गरिएको प्रधानाध्यापक योङहाङले जानकारी दिए ।
सामुदायिक विद्यालय भएर पनि नन्द माविमा नर्सरीदेखि कक्षा ८ सम्म अंग्रेजी माध्यममा पठनपाठन हुँदै आएको छ । सो विद्यालयले विद्यार्थी आकर्षणका लागि विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।
विद्यार्थी आकर्षका लागि नर्सरीमा विद्यार्थी भर्नामा शतप्रतिशत छुट गरेको छ । त्यस्तै युकेजीसम्मा लागत साझेदारीमा खाजाको व्यवस्था, विज्ञान प्रयोगशाला, पुस्तकालय र कम्प्युटर ल्याबको व्यवस्था तथा मल्टिमिडिया प्रोजेक्टरद्वारा पढाई हुने भएकाले विद्यार्थीको आकर्षण बढ्दो छ ।
पछिल्लो समय सामुदायिक विद्यालयहरुमा समेत धमाधम अंग्रेजी माध्यममा पढाइ हुन थालेपछि विद्यार्थीको आकर्षण सामुदायिक विद्यालयमा बढ्न थालेको छ ।