नेपाल समूह विजेता, बंगलादेश ३-० ले पराजित

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : नेपाल विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिप फुटबलको समूह विजेता बनेको छ ।

शनिबार विराटनगरस्थित सहिद रंगशालामा भएको समूहको अन्तिम खेलमा बंगलादेशलाई ३–० ले हराउँदै नेपाल समूह विजेताकारुपमा अन्तिम चारमा पुगेको हो ।

दुवै टोली एक खेलअगावै प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरिसकेका थिए । शनिबारको खेलले समूह विजेता र उपविजेताको छिनोफानो भएको हो ।

नेपालको जितमा सावित्रा भण्डारी र मञ्जलीकुमारी योञ्जनले एक/एक गोल गरे । सावित्राले खेलको २३औं र मञ्जलीले २८औं मिनेटमा गोल गरेका हुन् ।

बंगलादेशले छैटौं मिनेटमा एक आत्मघाती गोल गरेको थियो ।

तीन टोली सहभागी समूह ‘ए’मा रहेको नेपालले दुई खेलबाट ६ अंक जोड्दै समूह विजेता बनेको हो । पराजित बंगलादेश समूह उपविजेतामा सीमित बन्यो ।

नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ३–० ले नै हराउँदा बंगलादेशले भुटानलाई २–० ले पराजित गरेको थियो ।

समूह चरणका दुवै खेलमा पराजित हुँदै भुटान यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

नेपालले अब सेमिफाइनलमा समूह ‘बी’को उपविजेतासित प्रतिस्पर्धा गर्नेछ ।

भारत र श्रीलंकाबीच आइतबार हुने खेलले समूह ‘बी’को विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार