झापा : त्रिभुवन आर्मी क्लब चौथो झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार भएको खेलमा सशस्त्र प्रहरीको एपीएफलाई ३-० को सहज जित निकाल्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो ।
दोस्रो क्वाटरफाइनल खेलमा आर्मीले पहिलो हाफमा नै अग्रता लिएको थियो । पहिलो हाफको ४३ औँ मिनेटमा आर्मीका टंक बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको अन्त्यतिर आर्मीले २ गोल गर्न सफल भयो । खेलको ८२औँ मिनेटमा सन्तोष तामाङले गोल गर्दै अग्रता दोब्बर बनाए । आर्मीका फरवार्ड नवयुग श्रेष्ठले त्यसको एक मिनेट बित्न नपाउँदै तेस्रो गोल गरी टिमको जीत सुनिश्चित गरेका थिए ।
पहिलो हाफमा टेकबहादुर बुढाथोकीले प्रहार गरेको बल दोस्रो पोस्टबाट फर्किएपछि टंक बस्नेतले गोल गरेका थिए । त्यस्तै, सन्तोष तामाङको गोल सिधै फ्रिकिकबाट भएको थियो भने नवयुगले चाहिँ गोलकिपर विकेश कुथूले रिलिज गरेको बलबाट गोल गरेका थिए ।
खेलमा म्यान अफ दी म्याच आर्मीका सन्तोष तामाङ घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । बुधबार विभागीय टोली नेपाल प्रहरी र थ्री स्टार क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।
यसअघि झापा ११ ले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ भने एपीएफ, मोरङ ११ र हङकङ नेप्लिज एकाडेमीले पराजय व्यहोर्दै घर फर्किसकेको छ । २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १२ लाख ५० हजार र उपविजेताले ६ लाख ५ हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।