झापा गोल्डकप : आज मोरङ ११ र एपिएफ भिड्दै

झापा :  झापाको विर्तामोडमा जारी चौथो संस्करणको झापा गोल्डकप फुटबल प्रतियोगितामा आइतबार (आज) मोरङ ११ र सशस्त्र प्रहरीको एपीएफ भिड्दैछन् ।

डोमलाल राजवंशी रंगशालामा दिउँसो १ बजेदेखि खेल हुनेछ । यसअघि शनिबारको उद्घाटन खेलमा झापाले पोखराको सहारा फुटबल क्लबलाई २-० गोलअन्तरले पराजित गरेको थियो ।

झापा ११ को जितका लागि खेलको ४० औँ मिनेटमा झापाको विदेशी खेलाडी काजिम बुखारीले गोल गर्दै गोलको खाता खोलेका थिए । त्यस्तै क्याप्टेन कर्ण लिम्बुको स्थानमा मैदान प्रवेश गरेका संयोग राईले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

घरेलु मैदानमा दर्शकको भरपुर समर्थन पाएको झापाले खेलको पहिलो हाफमा सहारालाई दबाबमा राखेको थियो । खेलको म्यान अफ दि म्याच झापा ११ का संजोग राई घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे ।

आगामी फागुन २७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा हङकङ नेप्लिज एकाडेमीसहित १० टिम सहभागी छन् । विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले छ लाख पाँच हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार