साँस्कृतिक कार्यक्रमका साथ सिद्धकिरात माङहिमको उद्घाटन हुने

इलाम : इलामको फाकफोकथुम गाउँपालिका-७ एकतप्पाको रुपाटारमा निर्माण गरिएको सिद्धकिरात हाङसाम युमा माङहिमको उद्घाटन १४ फागुनमा हुने भएको छ ।

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबो (मौसम) को प्रमुख आतिथ्यतामा किरात धर्मगुरु महिङगुम अङसीमाङ लिङदेन आत्मनन्द ‘सेइङ’ तथा अङसीमामाङ साँवा पवित्रहाङमा लिङदेन ‘सेइङ’ को हस्तबाहुलीबाट माङहिमको उद्घाटन हुने तय भएको छ ।

वृहत साँस्कृतिका कार्यक्रमका साथ उद्घाटन हुने कार्यक्रमको तयारी तीब्र पारिएको आयोजक सिद्धकिरात हाङसाम युमा माङहिम समितिका अध्यक्ष पंचबहादुर योङहाङले जानकारी दिए । कार्यक्रमका लागि समितिले प्रचाप्रसार तीब्र पारेको छ । कार्यक्रममा सम्पूर्ण धर्मावलम्बी, राजनैतिक दलका प्रतिनिधि, बुद्धिजीवि, संघसंस्थाका प्रतिनिधि, पत्रकारलगायतलाई आमन्त्रण गरेको छ ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरुको साथमा वृहत साँस्कृतिक कार्यक्रम समेत संचालन हुनेछ  । ११ फागुनदेखि सुरु हुने कार्यक्रमको औपचारिक उद्घाटन र वृहत साँस्कृतिक कार्यक्रम भने १४ फागुनमा हुनेछ ।

११ फागुनमा सम्पूर्ण किरात धर्मावलम्बीहरुले चरु भेटी लिएर उपस्थित हुने, १२ फागुनमा महागुरु राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनले स्नान गरेको धारा नाम्बुनामा गालीश्राप वहन्ती (साक्मुरा वादेमा), १३ फागुनमा किरात धर्मदर्हन अनुरुप विश्व शान्ति तथा सक्कल प्राणीहरुको रक्षाका लागि नाम्धुङ/लाधुङ सेमी सेवा गरिने कार्यक्रम रहेको  छ ।

त्यसैगरी १४ फागुनमा विहान ११ बजे किरात धर्मगुरु महिङगुम अङसीमाङ लिङदेन आत्मनन्द ‘सेइङ’ तथा अङसीमामाङ साँवा पवित्रहाङमा लिङदेन ‘सेइङ’ को हस्तबाहुलीबाट माङहिमको उद्घाटन, दिउँसो सहयोगदाताहरुलाई सम्मानपत्र वितरण र साँझ ७ बजेदेखि वृहत साँस्कृतिक कार्यक्रमको तय गरिएको छ ।

साँस्कृतिका कार्यक्रममा गायक समन साम्योहाङ गायिका सुनिता थेगिम, गंगा फियाक, गायिका तथा मोडल लक्ष्मी योङहाङ,  डान्सर लक्ष्मी राई, सविना गुरुङ र तेज मगरको विशेष प्रस्तुती रहने आयोजक समितिका अध्यक्ष योङहाङले नयाँ बुलन्दलाई जानकारी दिए । कार्यक्रमको प्रत्यक्ष प्रशारण नयाँ बुलन्द डटकमलर् गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार