इलाम : नेपाली कागज बनाउने कच्चा पदार्थ लोक्ता संकलनबाट इलामका मजदूरले राम्रो आम्दानी गर्ने गरेका छन् ।
अर्गेली नामक वनस्पतिबाट तयार हुने लोक्ता निकाल्ने मजदुरले मासिक २५ हजार रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका हुन् ।
ठेक्कामा लिएको अर्गेलीको बगानमा लोक्ता निकाल्न मजदुरहरु झापादेखि इलामका विभिन्न ठाउँबाट आएका छन् ।
इलामकोे देउमाई नगरपालिका कुइभीरमा उनीहरू समूहगत रुपमा वयस्क अर्गेलीको बोटबाट सुख्खा लोक्ता निकाल्ने काममा व्यस्त छन् ।
अर्गेलीको बोटबाट लोक्ता निकाल्न तत्कालै हुने भए पनि निकालिएको लोक्ता सुकाउन राम्रो घाम लाग्दा तीन दिन र घाम कम लाग्यो भने छ दिन पनि लाग्ने गरेको मजदुरको भनाइ छ ।
घाममा सुकाएर सुख्खा पारिएको लोक्ताको मूल्य उनीहरूले प्रतिकिलो ३७ रुपैयाँका दरले पाउने गरेका छन् ।
चालू वर्षको मंसीर सम्ममा १५ हजार ९ सय किलो अर्गेली जिल्लाबाहिर निकासी भएको छ भने आर्थिक वर्ष २०७४/७५ मा २५ हजार २ सय केजी अर्गेली निकासी भएको डिभिजन वन कार्यालय इलामका सूचना अधिकारी यमबहादुर रुम्बाले जानकारी दिए ।