डा. केसीका माग आजै समितिले सम्बोधन गर्ने तयारी, नभए केसीले इलामबाट सत्याग्रह थाल्ने

  नयाँ बुलन्द
0 Shares

काठमाडौं :  चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक पटक अनशन बसेका  डा. गोविन्द केसी १६ औं सत्याग्रहका लागि इलाममा पुगेपछि संसदीय समितिले पनि तदारुकता देखाएको छ । सो सम्बन्धी विधेयकलाई अन्तिम रुप दिन जुटिरहेको शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले डा. केसीका सहयोगी डा. अभिषेकराज सिंहलाई फोन गरेर समितिले काम गरिरहेकोले अहिले सत्याग्रहमा नबस्न आग्रह गरेकी छन् ।

डा. सिंहले  भने,‘‘जयपुरी घर्तीले फोन गर्नुभएको थियो । आज त्यसको टुंगो नलागे डा. केसी अनशन बस्नुहुनेछ ।’’  उनले इलाममा डा. केसी अनशन बस्ने स्थान अहिलेलाई गोप्य राखिएको जनाउँदै समितिले सकारात्मक निर्णय नगरेमा सत्याग्रहमा बस्न तयार रहेको जानकारी दिए ।

आफ्नो माग पूरा गर्न मंगलबारसम्मको अल्टिमेटम दिएका डा. केसी सत्याग्रहको तयारीका लागि मंगलबार नै इलाम पुगेका हुन् । डा. केसीले १६ औं अनसनका लागि सरकारसँग ३ बुँदे माग राखेका छन् । पहिलो बुँदामा १५ औं सत्याग्रहका क्रममा गत साउन १० गते  सरकारसँग भएको सम्झौता कार्यान्वयनको माग छ ।

उनले आफूसँग भएको सम्झौता बमोजिम अक्षरस संशोधन गरेर संसदबाट चिकित्सा शिक्षा ऐन पारित गर्न माग गरेका छन् ।

सातै प्रदेशमा मेडिकल कलेज खोल्ने काम अघि बढाउन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको भर्ना अविलम्ब खोल्न तथा गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनअनुसार दोषी ठहर देखिएका त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई बर्खासी गर्न पनि उनले माग गरेका छन् ।

अर्को मागमा कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी मुद्दा चलाउनुपर्ने भन्ने रहेको छ ।  सो प्रकरणमा प्रमाण नष्ट गर्ने, झुटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या तथा अंगभंग गर्ने व्यक्तिहरूमाथि तत्काल फौजदारी मुद्दा चलाउन पनि माग गरेका छन् ।

तेस्रो बुँदामा केसीले सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गर्न माग समेत गरेका छन् ।

यस विषयमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले डा. गोविन्द केसीसँग भएको सहमतिअनुसार नै सरकार अघि बढी रहेको बताउँदै तर अहिले यो प्रसंग संसदमा रहेकोले सबै कुरा आफूले मात्रै गर्न नसक्ने बताएका छन् ।
बाह्रखरीसँग बुधबार बिहान कुरा गर्दै उनले भने,‘‘शिक्षा तथा स्वास्थ्य समितिको बैठक अहिले बिहान १० बजे बस्दैछ । त्यहाँ गएर पनि मैले यो विषयलाई चाँडो टुङ्ग्याउन आग्रह गर्नेछु ।’’

डा. केसी सत्याग्रहको लागि भनेर इलाम गइसकेको सम्बन्धमा राखिएको जिज्ञासामा उनले भने,‘‘हामीले आफ्नो काम गरिरहेका छौं । तर, उहाँलाई मैले सम्पर्कको प्रयास गरेको छैन । पहिला सम्पर्क गर्दा उहाँले बार्गेनिङ्ग गरेको भनेर आरोप लगाउनु भएकोले मैले सम्पर्क गरेको छैन ।”बाह्रखरी बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार