अस्पतालमा बिरामी कुरूवाका लागि छुट्टै भवन बन्‍ने !

  प्रनिश थापा
0 Shares

चितवन : चितवनको भरतपुर अस्पतालमा बिरामी कुरूवाका लागि छुट्टै भवन बन्ने भएको छ । भरतपुर अस्पताल स्वास्थ्य मन्त्रालय मातहत रहेपनि सहरी विकास मन्त्रालय अन्तर्गत रहेको उक्त भवन ६ करोड २ लाख रूपैयाँमा बनाउन लागिएको हो । भवन निर्माणका लागि निर्माणकर्ताको समेत छनोट भइसकेको छ ।

बोलपत्र आह्वानपछि निर्माणको ठेक्का रविना जोशी फूलजोर जेभीले पाएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । उक्त भवन अस्पतालको पुर्वपट्टिको खाली ठाउँमा बन्ने उनले बताए  ।

अस्पतालको स्तरोन्नति 

स्वास्थ्य मन्त्रालयले भरतपुर अस्पताललाई स्तरोन्नति गरी ५ सय शैय्या बनाउन गरेको प्रस्तावमा मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति जनाइसकेको छ । ३ सय शैय्याको सरकारी स्वीकृत रहेको अस्पतालमा हाल समितिका तर्फबाट समेत गरी ६ सय शैय्यामा चलिरहेको छ । यसअघि जिल्ला अस्पतालको मात्र मान्यता रहेको भरतपुर अस्पतालसहित कोशीअञ्चल अस्पताल, नारायणी अञ्चल अस्पताल, भेरी अञ्चल अस्पताल र डँडेलधुरा उपक्षेत्रीय अस्पताललाई स्तरोन्नति गर्ने प्रस्ताव गत मन्त्रिपरिषद्को बैठकमा लगिएको थियो । भरतपुर अस्पतालद्वारा रिफर गरिएका बिरामी हेर्नुपर्ने भएपनि जनशक्ति र सेवा सुविधा नभएका कारण समस्या परेको थियो । शैय्या बढेपछि कर्मचारी दरबन्दी पनि बढ्ने अस्पतालले बताएको छ ।

आकस्मिक कक्ष अलपत्र 

भरतपुर अस्पतालमा अहिले १२ शैय्याको आकस्मिक कक्ष छ । पुरानो भवनमा रहेको आकस्मिक कक्ष पनि सुविधा सम्पन्न छैन । अस्पतालको अन्य उपचार विभाग भन्दा यही विभाग अव्यवस्थित एवं साँघुरो देखिन्छ । प्रत्येक १० शैय्या बराबर १ आकस्मिक शैय्या हुनुपर्नेमा भरतपुर अस्पतालमा जम्मा १२ वटा मात्र आकस्मिक शैय्या रहेको अस्पतालका मेसु डा. पौडेलले जानकारी दिए । २० वटा शैया आकस्मिक अब्जर्वेसन रहेको उनले बताए । अस्पताल ६ सय शैय्यामा सञ्चालित छ । अस्पतालको टड्कारो आवश्यकता भनेको आकस्मिक भवनको निर्माण नै हो’, मेसु पौडेलले भने, ‘अहिले अस्पताल प्रशासन आकस्मिक भवन निर्माणका लागि विभाग र मन्त्रालयमा धाइरहेको छ ।’

सुत्केरीको भुइँमै उपचार 

भरतपुर अस्पतालमा अहिले १ सय २० शैयाको स्त्री तथा प्रसूति विभाग रहेको छ । यहाँ दैनिक ४० जना बच्चा जन्मन्छन् । शैया अभावमा नवजात शिशु र सुत्केरीको भुइँमै उपचार हुने गरेको छ । बर्सेनि अस्पतालमा सुत्केरी गराउनेको संख्या बढे पनि शैय्या भने निश्चित हुँदा उनीहरु भुइँमै बसेर उपचार गराउन बाध्य छन् । भरतपुर अस्पतालले यस विभागका लागि थप शैय्या व्यवस्थापन गर्न लागिपरेको तर, जनशक्ति अभावले समस्या भएको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार