आत्मानन्द गोल्डकप ८ मंसीरदेखि संचालन हुने

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकामा ‘आत्मानन्द लिङदेन गोल्डकप ११ औं संस्करण खेलकुद प्रतियोगिता २०७५’ हुने भएको छ । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६५ औं जन्मोत्सवका अवसरमा आगामी ८ देखि १७ मंसीरसम्म फूटबलसहित किरातजन्य विभिन्न खेलकुद प्रतियोगिता हुने भएको हो ।

आयोजक समितिका संयोजक मनकुमार आङबुहाङकले विगतका वर्षझैं यसवर्ष पनि धर्मगुरु लिङदेनको जन्मोत्सवका अवसरमा विभिन्न खेलकुद कार्यक्रमको तयारी सुरु गरिएको जानकारी दिए । माङसेबुङ ५ स्थित माङसेबुङ खेल मैदानमा हुने गोल्डकपमा फूटबल, म्याराथुन, धनुषकाँण, छेलो र लठ्ठा तान्ने खेल संचालन हुने उनले बताए ।

फूटबल प्रतियोगितामा इलाम, झापा, पाँचथर, ताप्लेजुङ, सुनसरी, धनकुटा, काठमाडौं र भारतका गरी ८ टिमको सहभागीता रहनेछ । प्रतियोगितामा माङसेबुङ गाउँपालिका खेलकुद समिति, बुद्ध स्पोट क्लब चन्द्रगडी झापा, खेवाङ स्पोर्टिङ क्लब ताप्लेजुङ, एसएस क्लब काठमाडौं, संगम फूटबल क्लब धरान सुनसरी, जलपाईगुडी एफसी भारत, सयपत्री सर्वोत्तममुखी यासोक पाँचथर, खोक्ताप स्पोर्टिङ क्लब धनकुटाको सहभागिता रहने आयोजक समितिले जनाएको छ ।

प्रतियोगिताका विजेता टिमलाई नगद एक लाख ८ हजार ६५ रुपैयाँ तथा उपविजेता टिमलाई नगद ७५ हजार ६५ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक आङबुहाङले जानकारी दिए ।

त्यसैगरी म्याराथुनतर्फ प्रथमलाई नगद १० हजार १ सय ६५, द्वितीयलाई ८ हजार १ सय ६५, तृतीयलाई ५ हजार १ सय ६५ र चौथोलाई ३ हजार १ सय ६५ रुपैयाँ दिइने छ । धनुषकाँडतर्फ प्रथमलाई २ हजार ५ सय ६५, द्वितीयलाई २ हजार ६५ र तृतीयलाई १ हजार ५ सय ६५ प्रदान गरिने छ । छेलोतर्फ प्रथमलाई २ हजार ५ सय ६५, द्वितीयलाई २ हजार १ सय ६५ र तृतीयलाई १ हजार ५ सय ६५ रुपैयाँ प्रदान गरिने जनाईएको छ । यस्तै लठ्ठा तान्ने खेलतर्फ विजेता र उपविजेतालाई क्रमशः २ हजार ५ सय ६५ र २ हजार १ सय ६५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

किरात साम्यो हक्चात यक्चुम मुख्य संयोजनकर्ता रहेको उक्त प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार