माङसेबुङ : वडादशैं, शुभदीपावली तथा छठ पर्वको अवसरमा जिल्लाभर विभिन्न खेलकुदका प्रतियोगिता संचालन भइरहेका छन् । कतै भर्खरै सम्पन्न भएका छन्, कतै सम्पन्न हुने चरणमा छन् त कतै सुरु भएका छन् । यसै क्रममा पश्चिमी इलामको माङ्सेबुङ गाउँपालिकामा-४, सिंङ्फेरेमा वडास्तरीय फूटबल प्रतियोगिता सुरु भएको छ ।
माङ्सेबुङ खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन १ नम्बर प्रदेश सांसद धिरेन्द्र शर्मा (रमण) ले गरे । कार्यक्रमको उद्घाटन गर्दै शर्माले माङ्सेबुङ गाउँपालिकालाई देशकै एक धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आफू लागिपरेको बताए । उनले खेलकुदको माध्यमबाट समेत माङसेबुङको विकासमा लाग्न प्रदेश सरकार तत्पर रहेको बताए ।
स्थानीय सिङफेरे खेलमैदानामा जारी प्रतियोगितामा वडाबाट छनौट भएका खेलाडी मात्र खेल्न पाउने आयोजकले जनाएको छ । ६ वडाको दुई समूह गरि १२ टिमको सहभागिता रहेको सो प्रतियोगिताको फाइनल खेल आगामी २० कार्तिकमा हुने आयोजक समितिका सचिब धड्कन सङ्बाहाङ्फेले जानकारी दिए । प्रतियोगिताको बिजेता टिमले नगद ३० हजार र उपविजेताले २५ हजार सहित ट्रफी मेडल तथा प्रमाणपत्र पाउने छन् । त्यस्तै खेलाडी फेयर नगद ७ हजार समेत पाउने आयोजक समितिले जनाएको छ ।
माङ्सेबुङ खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्रबिक्रम खजुमको अध्यक्षतामा भएको कार्यक्रममा माङ्सेबुङ गाउँपालिका उपाध्यक्ष सुनिता सुब्बा समेतको उपस्थिती रहेको थियो ।