माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका २ स्थित इभाङ माध्यमिक विद्यालयमा गठित ग्रीन बाल क्लबले विभिन्न कार्यक्रम गरी बाल दिवस मनाएको छ ।
बाल क्लबले आधारभूततह स्तरीय हाजिरीजवाफ र साँस्कृतिक कार्यक्रम सञ्चालन गरेको छ । हाजिरीजवाफमा सगरमाथा प्रथम, कञ्चनजङ्घा द्वितीय, माछापुच्छ्रे तृतीय र अन्नपूर्ण ग्रुप सान्तवना भए । साँस्कृतिक कार्यक्रममा कक्षा ९ की छात्रा उषा भुजेलले आफ्नै रचनाको गीत प्रस्तुत गरेकी थिएन् । यस्तै यमुना बस्नेतले गीत प्रस्तुत गर्नुका साथै आसिका राई, नमुना लिम्बू र तेलिजा लिम्बूले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिएका थिए । साथै सोमुक हाङमाले कबिता वाचन गरेकी थिइन् ।
ग्रीन बाल क्लबकी अध्यक्ष प्रिती लिम्बुको अध्यक्षता र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रधानाध्यापक केन्द्र शेर्मा, गाउँपालिकाका सूचना प्रविधि अधिकृत माधव दाहाल, इन्जिनियर दिपक तिम्सिना, उपप्रधानध्यापक जंगबहादुर कार्की सहित विद्यालय शिक्षक शिक्षिकाहरुको उपस्थिती रहेको थियो ।
गत २९ भदौमा अर्धवार्षिक परिक्षा परेकोले सो विद्यालयमा शुक्रबार मात्र बाल दिवस मनाउनु परेको बाल क्लबकी अध्यक्ष लिम्बुले बताइन् ।
कार्यक्रमको सञ्चालन कक्षा १० का छात्र किसोर अधिकारीले गरेका थिए भने प्रमोद मगरले स्वागत मन्तव्य राखेका थिए ।