सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिका २ माइमझुवामास्थित स्याम्बल माध्यमिक विद्यालयको पुस्तकालय उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रम आयोजना गरी गाउँपालिका अध्यक्ष उदयबहादुर राईले पुस्तकालयको उद्घाटन गरेका हुन् ।
शिक्षा विकास तथा समन्वय इकाई इलामको साढे ६ लाख रुपैयाँको लगानीमा पुस्तकालय स्थापना गरिएको प्रधानाध्यापक सन्दिप चापागाईंले जानकारी दिए । पुस्तकालयमा विभिन्न कानुन, धर्म, साहित्य, समसामियक लगायत विभिन्न विधाका १ हजार ७ सय ६५ थान पुस्तकहरु राखिएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी सन्दकपुर गाउँपालिका अध्यक्ष राईले एउटा शिक्षक खराब भएमा समाज नै खराब हुने भन्दै शिक्षक समाजको अगुवाई बन्नुपर्नेमा जोड दिए । उनले शिक्षकलाई १० देखि ४ बजेसम्म इमान्दारीताका साथ आफ्नो जिम्मेवारी पूरा गर्न शिक्षकहरुलाई आग्रह गरे ।
फरक प्रसंगमा अध्यक्ष राईले गाउँपालिकाले कर मात्र नबढाएर विकास पनि गरेको दावी गरे । ‘वैज्ञानिक ढंगले नीतिनियम बनाएर विकासमा लागेका छौं । यस वर्षभित्र सन्दकपुरको टुप्पामा विद्युत पुर्याउने लक्ष छ’ अध्यक्ष राईद्ये भने, ‘त्यसका लागि केन्द्रमा विद्युत प्राधिकरणमा निर्देशक कुलमान घिसिङसँग समेत बजेटका लागि आवस्यक छलफल भएको छ ।’
अध्यक्ष राईले सन्दकपुर गाउँपालिकाभरी रहेका सामुदायिक आधारभुत र माध्यमिक विद्यालयहरुमध्ये कक्षा ५ मा सर्वाधिक अङ्क ल्याउने विद्यालयलाई नगद २५ हजार, कक्षा ८ मा सर्वाधिक अङ्क ल्याउने विद्यालयलाई ५० हजार र एसईईमा सर्वाधिक अङ्क ल्याउने विद्यालयलाई १ लाख रुपैयाँ प्रदान गर्ने घोषणा समेत गरे ।