
पाँचथर : फाल्गुनन्द गाउँपालिका ५ फाक्तेप, कोल्बुङस्थित जनकल्याण माध्यमिक विद्यालयमा बिहीबार एक प्रेरणादायी कार्यक्रम सम्पन्न भयो। ‘स्व. मनबहादुर चेम्जोङ स्मृति अक्षयकोष’मार्फत ७२ जना विद्यार्थीलाई नगद पुरस्कार वितरण गर्दै शिक्षा र प्रेरणाको सन्देश प्रवाह गरिएको हो। चार लाख रुपैयाँबाट स्थापना गरिएको अक्षयकोषको ब्याजबाट बालविकासदेखि कक्षा १२ सम्म अध्ययनरत गरीब, जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीलाई जनही एक हजार रुपैयाँका दरले कुल ७२ हजार रुपैयाँ प्रदान गरिएको थियो। साना सहयोगले पनि ठूलो हौसला दिन सक्छ भन्ने उदाहरण कार्यक्रमले प्रस्तुत गर्यो।
पुरस्कृत विद्यार्थीमध्ये कक्षा प्रथम हुने १५ जना, २०८२ सालको पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण पदक विजेता १२ जना तथा गरीब र जेहेन्दार ४५ जना रहेका छन्। पुरस्कार ग्रहण गर्दा विद्यार्थीहरूको अनुहारमा देखिएको खुशी र उत्साहले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको विद्यालयका प्रधानाध्यापक पूर्णकुमार सदेम्बाले बताए ।
कार्यक्रमका प्रमुख अतिथि फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बे तथा विशेष अतिथि उपाध्यक्ष ठाकुर सि नेम्वाङले यस्ता कोषले विद्यार्थीमा प्रतिस्पर्धा र लगनशीलता बढाउने बताएका थिए। अक्षयकोष दाता परिवारका संयोजक भीमराज चेम्जोङसहित राजकुमारी तुम्बापो, उदिपकुमार चेम्जोङ, हर्कबहादुर चेम्जोङलगायतको उल्लेख्य उपस्थिति रहेको थियो।
विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, अभिभावक तथा दाता परिवारको सहभागिताले कार्यक्रमलाई सामुदायिक उत्सवजस्तै बनाएको थियो। कार्यक्रमको अध्यक्षता व्यवस्थापन समिति अध्यक्ष शेरबहादुर चेम्जोङले गरेका थिए भने सञ्चालन शिक्षक गोपाल चेम्जोङले गरेको शिक्षक भुसेन नेम्वाले जानकारी दिए ।
वि.सं. २०२३ सालमा स्थापना भएको जनकल्याण माध्यमिक विद्यालय यस क्षेत्रको शैक्षिक धरोहरका रूपमा परिचित छ। ग्रामीण भेगका विद्यार्थीलाई शिक्षा दिने मात्र होइन, अनुशासन, संस्कार र प्रतिस्पर्धात्मक क्षमताको विकासमा पनि विद्यालयले महत्वपूर्ण भूमिका खेल्दै आएको छ। शैक्षिक र खेलकुद दुवै क्षेत्रमा सक्रिय यस विद्यालयले पछिल्ला वर्षहरूमा उल्लेखनीय उपलब्धि हासिल गर्दै आएको छ। यस विद्यालयमा अन्य धेरै दाताहरुले पनि अक्षयकोष खडा गरेका छन् ।
स्थानीय समाजसेवी स्व. मनबहादुर चेम्जोङको स्मृतिमा परिवारद्वारा २०८० सालमा स्थापना गरिएको उक्त अक्षयकोष केवल आर्थिक सहयोग मात्र होइन, एक प्रेरणाको स्रोत बनेको छ। विसं १९७४ असार २३ गते जन्मिएका चेम्जोङले जीवनभर शिक्षा र समाजसेवामा योगदान पुर्याएका थिए। विद्यालयका संस्थापक स्व. सुवासचन्द्र चेम्जोङसँग सहकार्य गर्दै उनले यस क्षेत्रको शैक्षिक विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए।अक्षयकोषले भविष्यमा अझ धेरै विद्यार्थीलाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ। सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने सन्देश यो कार्यक्रमले स्पष्ट रूपमा दिएको छ।



















































