नेपाल कम्युनिष्ट पार्टीको बन्द : कतै बम, कतै आगजनी, सुरक्षा व्यवस्था कडा

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्दको घोषणा गरेको छ । गत मंगलबार सरकारले आफ्ना नेता पक्राउ गरेको विरोधमा नेकपाले बन्द आह्वान गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टी विप्लव समुहले आव्हान गरेको बन्द निष्प्रभावी बनाउन सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ ।

बन्दले काठमाडौं उपत्यकाको जनजीवन सामान्य प्रभावित भएको छ । सडकमा निजी तथा सार्वजनिक यातायातका साधन गुडिरहेका छन् । कलेज तथा स्कुलहरु भने बन्द छन् ।

यसैबीच, बन्दका क्रममा विभिन्न स्थानमा बमहरु फेला परेका छन् भने केही स्थानमा सार्वजनिक यातायातमा आगजनी गरिएको छ ।

यसक्रममा नेकपाका आधा दर्जनभन्दा बढी कार्यकर्ता पक्राउसमेत परेका छन् ।

भक्तपुरमा बम भेटियो

भक्तपुरको लोकन्थलीमा फेला परेको प्रेसरकुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ ।

लोकन्थलीमा रहेको सिद्धार्थ पेट्रोलपम्पनजिक प्लाष्टिकको झोलामा प्रेसरकुकर राखिएको थियो ।

स्थानीयले उक्त झोला देखेपछि प्रहरीमा खबर गरेका थिए । घटनाको जनकारी पाउनासाथ घटनास्थल पुगेको सेनाको टोलीले बम निस्क्रिय पारेको हो ।

शंकास्पद वस्तुसहित विप्लव समूहका कार्यकर्ता पक्राउ

अखिल क्रान्तिकारी विप्लव समूहकी केन्द्रीय सदस्य उषा किरण आजाद र काठमाडौं जिल्ला सचिव तारा सन्जेल रावललाई प्रहरीले पक्राउ गरेको छ।

मंगलबार विहान काठमाडौंको जमल पुलमुनी कार्टुनमा प्याक गरिएको प्रेसर कुकुर सहित आजाद र रावललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले से ५ प ६७०१ नम्वरको स्कुटीमा सवार दुवै जनालाई चेकजाच गर्दा प्रेसर कुकुर भेटिएकाले पक्राउ गरेको हो ।

ठाउँ-ठाउँमा विप्लवको नक्कली बम, पाँच जना पक्राउ

काठमाडौं र ललितपुरका विभिन्न स्थानमा नक्कली बम फेला परेका छन् ।

कतिपय स्थानमा फेला परेका प्रेसर कुकर बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय बनाएको छ ।

विप्लव समुहले ललितपुरको रिङरोड क्षेत्रका चार स्थान मध्ये ग्वार्कोस्थित गुण सिनेमा नजिकै र बटुकी भैरम मन्दिर अगाडि राखेको शंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय बनाएको छ ।
‘ग्वार्को र बटुकीभैरव बाहेक अन्य दुई स्थानमा पनि शंकास्पद बस्तु भेटिएको थियो, तर ति सवै होस्ट रहेछन्’ महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरिक्षक शेखर खनालले भने, ‘शंकास्पद क्रियाकलापमा संलग्न तीन जनालाई हामीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं ।’

प्रहरीले गोदावरी नगरपालिकास्थित लेले बस्दै आएका कुमार सिलवाल, चापागाउँ बस्ने चन्द्र परियार र महालक्ष्मी नगरपालिकाको  लुभु बस्ने जयराम श्रेष्ठलाई पक्राउ गरेको छ ।

काठमाडौंको धर्मस्थली र नैकाप उकालोमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय बनाएको छ । प्रहरी स्रोतका अनुसार बल्खु र सतुंगलमा समेत शंकास्पद बस्तु फेला परेको छ ।

‘बस्ती भन्दा टाढा केही शंकास्पद बस्तु भेटिएका छन्, तर तिमध्ये धेरैजसो नक्कली रहेको खुलेको छ’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले भने, ‘बन्दको समयमा भौतिक क्षति हुन नदिनेतर्फ सचेत रहँदै हामीले सुरक्षा ब्यवस्था मजबदु बनाएका छौं ।’

गैंडाकोटमा ट्रकमा आगजनी

पूर्वी नवलपरासीको गैंडाकोट २ भृकुटीचोकमा आज बिहान ट्रकमा आगजनी गरिएको छ ।

बिहान करिब २ बजेतिर ना २ ख २५४८ नम्बरको पराल बोकेको ट्रकमा आगजनी भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, आगलागी शुरु हुनासाथ प्रहरीले तत्कालै आगो नियन्त्रणमा लिएकाले  ट्रकमा धेरै क्षति हुन पाएन ।

आगलागीबाट ट्रकमा भएको पराल भने नष्ट भएको इलाका प्रहरी कार्यालय  गैंडाकोटले जनाएको छ ।

ट्रकमा आगजनी गर्नेको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले आगजनी गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत बर्दिवासको काठेपूलमा बम भेटियो

पूर्व-पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवास(१ काठेपूल भन्ने स्थानमा प्रेसर कुकर बम फेला परेको छ ।

बम फेला परेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।

यातायात सञ्चालनमा रोक लगाएर बम निस्क्रिय पार्ने प्रयास भइरहेको रातोपाटी संवाददाता निकेश खनालले जानकारी दिएका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले राजमार्गमा यातायात अवरोध पुर्याउने उदेश्यले बम राखेको हुनसक्ने प्रहरीले रातोपाटीलाई जानकारी दिएको छ ।

मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको क्रममा मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी भएको छ।

आज बिहान ६ बजे बसमा आगजनी भएको प्रहरीले जानकारी दिएको छ ।

भन्सार छुटाएर काठमाडौं लैजादै गरेको स्कुल बस आगलागीबाट पूर्ण रुपमा क्षति भएको पालुङ प्रहरीले जनाएको छ।

त्यस्तै हेटौँडा–११ नवलपुरमा शंकास्पद वस्तु फेला परेको छ । राजमार्ग अवरुद्ध गर्ने उद्देश्यले प्रेसरकुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बुटवलस्थित भारतीय भूतपूर्व सैनिक क्याम्पमा बम बिष्फोट

नेपाल बन्दको पूर्व सन्ध्यामा बुटवलस्थित भारतीय भूतपूर्व सैनिक क्याम्पमा बिष्फोट भएको छ ।

बिष्फोटबाट क्याम्पको शौचालयमा क्षति भएको छ । ईलाका प्रहरी कार्यलय बुटवलका डिएसपी डिल बहादुर मल्लले शौचालयमा धेरै क्षति भएपनि मानविय क्षति नभएको बताए ।

बिष्फोटको ठूलो आवाज सुनिएको स्थानीयले बताए । डिएसपी मल्लले बिष्फोट कसले गराएको भन्नेबारे अनुसन्धान भैरहेको बताए । विप्लव समुहका कार्यकर्ताले विस्फोट गराएको प्रहरीको आशंका छ ।

झापामा बम विष्फोट

 झापाको गौरादह नगरपालिका–७ वडा कार्यालय नजिक आज बम विष्फोट भएको छ ।

ग्वालडुब्बा बजार पूर्वतर्फ रहेको वडा कार्यालय भवन नजिकै बम विष्फोट भएको वडाध्यक्ष बलराम खरेलले जानकारी दिए । बम विष्फोटबाट कार्यालयको झ्यालको सिसा फुटेको छ भने पर्खालमा सामान्य क्षति भएको छ । घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरी चौकी ग्वाल्डुब्बाका प्रहरी सहायक निरीक्षक नीलकुमार श्रेष्ठले बताउनुभयो । प्रहरी चौकी ग्वालडुब्बा वडा कार्यालयदेखि पाँच सय मिटर टाढा रहेको छ ।

जिल्लाको दमकबाट सोमबार नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्ता पक्राउ परेका छन् । पर्चा बाँड्दै गरेको अवस्थामा प्रहरीले ताप्लेजुङका २५ वर्षीय असल लिम्बू र २६ वर्षीय राजु दासलाई पक्राउ गरेको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । रातोपाटीको ससहयोगमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार