
चिकित्सकहरुका अनुसार सर्पको डसाई र समस्यालाई चार वर्गमा विभाजित गरिएको हुन्छ । साइटोटाक्सिनले तन्तु क्षतिग्रस्त पार्छ । हिमोटाक्सिनले आन्तरिक रक्तस्राव हुने, न्यूरोटाक्सिनले स्नायुलाई र कोर्डियोटाक्सिनले मुटुमा असर गर्छ । गोमन, करेतजस्ता सर्पको विषले सिधै मष्तिस्कमा प्रभाव पार्ने चिकित्सकको भनाई छ ।
पहाडी क्षेत्रमा पाइने सर्पको डसाइले रगतलाई विषाक्त पार्छ । जसले गर्दा तत्कालै ज्यान नलिए पनि शरीरको आन्तरिक र बाहिरी अंगमा रक्तश्राव गराउँछ । गिजा, नाक, खकार र शरीरका भित्री अंगबाट रक्तश्राव हुने चिकित्सकहरु बताउँछन् ।
आँखाको परेला लठ्ठ पर्नु, रक्तचाप कम हुनु, सास फेर्न गाह्रो हुनु, वाकवाकी हुनु, पखाला लाग्नु, सर्पले डसेपछिका लक्षणहरु हुन् । सर्पले डसेको स्थानमा स–साना थुप्रै दाँतका चिन्ह देखियो भने सर्प विषालु नहुने तर सुन्निएर दुईवटा दाँतको चिन्ह देखियो भने विषालु सर्पले डसेको संकेत हुने चिकित्सकले जानकारी गराएका छन् ।
प्रायः सर्पले डसेको ठाउँमा सुन्निने, दुख्ने, रातो हुने, पानीको फोका देखिने गरेको चिकित्सकको भनाई छ । चिकित्सकका अनुसार सर्पले टोकेपछि विषका कारणभन्दा पनि धेरै आत्तिएर र डराएर मानिस बेहोस हुने गरेका छन् ।
विज्ञहरुले सर्पको डसाइबाट जोगिन सावधानी अपनाउन सुझाव दिएका छन् । झाडीमा नपस्ने, दुलोतिर हात नहाल्ने, अँध्यारोमा नहिँड्ने गर्दा डसाइबाट जोगिन सकिन्छ । डसेपछि विरामीलाई आत्मविश्वास दिलाएर ढाडस दिने र तत्कालै उपचारमा लगिहाल्दा क्षतिबाट जोगिइने उनीहरुको सुझाव छ ।















































