फिदिम : जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने भन्दै सशस्त्र र निशस्त्र सबै प्रकारका संघर्ष गर्ने उद्घोष गर्दै आएको नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पाँचथरका कार्यकर्ताहरुले धमाधम पार्टी छाड्न थालेका छन् ।
उक्त पार्टीले नयाँ संविधानको खारेजी र १२ विस्तृत शान्ति सम्झौताका आधारमा राज्य सत्तामा माओवादीको हिस्सेदारीको माग उठाउँदै आएको छ । चन्द नेतृत्वको कट्टरपन्थी समूहका कार्यकर्ताहरु प्रहरीको निगरानी र गतिविधि सञ्चालनमा निरन्तरको कडाईपछि धमाधम पार्टी छाड्न थालेका हुन । मोहन वैद्य नेतृत्वको तत्कालीन नेकपा–माओवादीबाट चन्दले २०७१ सालमा पार्टी विभाजन गरेका थिए । चन्दलाई पाँचथरमा अर्जुन घिमिरे, वीरेन्द्र मंग्राती लगायत नेताहरुले साथ दिएका थिए । उक्त पार्टीको संस्थापक जिल्ला सचिव घिमिरे यतिबेला स्वतन्त्रजस्तै छन ।
जिल्लामा संस्थापक रहेका अर्का नेता वीरेन्द्र मंग्रातीले केही समयअघि सामाजिक सञ्जालबाट चन्द नेतृत्वको पार्टीबाट अलग भएको घोषणा गरेका थिए । उनले उक्त पार्टीमा जाति र वर्णका आधारमा नेता कार्यकर्तालाई विभेद गरिएको आरोप लगाएका थिए । उनी उक्त पार्टीका जिल्ला सचिवालय सदस्य थिए । मंग्रातीले निरन्तरता र लगानीका आधारमा पार्टी जिल्ला सचिवमा दाबी पेश गर्दै आएको वताएका थिए । तर, आफूमाथि विभेद र षड्यन्त्र गरिएको भन्दै उनले पार्टी छाडेको घोषणा गरेका थिए । पार्टी गतिविधिमा निस्कृय उनी हाल जिल्ला बाहिर छन ।
बुधवार मात्रै उक्त पार्टीसम्वद्ध शिक्षक संगठनका अध्यक्ष नारायणप्रसाद कार्कीले पार्टी र शिक्षक संगठनबाट राजीनामा दिएको घोषणा गरेका छन । उनले आफू शिक्षक संगठनमा रहेको र पार्टीको कार्यकर्ता नरहेको स्पष्ट पार्दा समेत प्रहरीले गिरफ्तार गरेर हिरासतमा राखेको कार्कीले गुनासो गरेका छन् । उनले मुलुक विकास र समृद्धिको बाटोमा अघि बढेकाले आफूलाई कुनै पार्टीको सदस्य रहनुपर्ने आवश्यकता नरहेकाले सबै पदबाट राजीनामा दिएको घोषणा गरेका छन । उनले आफू स्वतन्त्र नागरिक भएर जीउने वताएका छन । सोही पार्टी सम्वद्ध विद्यार्थी संगठनका अध्यक्ष शिशिर पोखरेल केही दिन अघि तत्कालीन नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका थिए ।
उक्त पार्टीका कार्यकर्ताले पार्टीमा सम्वद्ध भएकै आधारमा अनावाश्यक प्रशासनिक झमेला व्यहोर्दै आएका छन । जिल्लामा निर्वाचनका क्रममा ठाँउ–ठाँउमा विस्फोटक पदार्थ राखिनुका साथै त्रास सिर्जना गरेको भन्दै प्रहरीले उनीहरुमाथि केही सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाँउदै थुनामा राख्दै आएको छ । यद्यपी यस्ता घट्नामा उक्त पार्टी र पार्टीसम्वद्ध कार्यकर्ताहरुको सम्लग्नतावारे स्वतन्त्र पुष्टि हुन सकेको छैन । उक्त पार्टीका पाँच कार्यकर्ताहरु हाल जिल्ला प्रहरी कार्यालय इलामको हिरासतमा छन ।
इलाम र ताप्लेजुङका उक्त पार्टीका कार्यकर्ताहरुलाई पाँचथर ल्याइएको वताइएको छ । विगतमा राजनीतिक दलका कार्यकर्ताहरुलाई थुनामा राखिएको विषयमा अधिकारकर्मीहरुले आवाज उठाउने गरेका थिए । विप्लब समूहका कार्यकर्ताका विषयमा अधिकारकर्मीहरुले समेत आवाज उठाएका छैनन । पाँचथर सहित देशैभरी उक्त पार्टीका कार्यकर्तालाई पक्राउ गरि म्याद थप गरि २५ दिन थुनामा राख्ने र छोडेको नाटक गर्दै पुनः नियन्त्रणमा लिई अर्को मुद्दा खडा गर्ने कार्य भइरहेको उक्त पार्टीले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।


















































