काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसदमा प्रस्तुत् गरेको नीति तथा कार्यक्रम कार्यान्वयनमुखी नभइ सैद्धान्तिक र हावादारी गफमात्र भएको टिप्प्णी गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारले प्रस्तुत् गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सभापति देउवाले गफभन्दा पनि काम गरेर देखाउन सरकारलाई सुझाव दिए ।
उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममा रेलमार्ग, जलमार्ग, विद्युत्लगायतका विकासका कुरामा आधारहीन प्रचार गर्न खोजिएको टिप्पणी गरे ।अबको पाँच वर्षमा नेपाली युवालाई विदेश जान नपर्ने गरी रोजगारको व्यवस्था गर्नु अहिलेकै अवस्थामा चुनौतीपूर्ण रहेको उनको भनाइ थियो ।
सभापति देउवाले विदेशी लगानी भित्र्याउन र विकासका कामलाई अगाडि बढाउने सवालमा अहिलेसम्म सरकारले कुनै ठोस कार्यक्रम ल्याउन नसकेको भन्दै आलोचना गरे ।उनले नेपाली जनतालाई राष्ट्रवादको पाठ नसिकाउनसमेत सरकारलाई सुझाव दिए ।
सभापति देउवाले नीति तथा कार्यक्रमको सम्बोधनमा राष्ट्रपतिबाट सभामुख र अध्यक्षप्रति यथोचित सम्मानार्थी शब्द प्रयोग नभएकोमा व्यंग्य पनि गरे ।प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी छ ।



















































