नयाँ बुलन्द
इलाम : नेपाल पत्रकार महासंघ प्रदेश १ को कार्यसमितिमा तीन ठूला सञ्चार संगठनको संयुक्त गठबन्धन विजयी भएको छ ।
नेपाल पत्रकार महासंघको मुलुक संघीय संरचनामा गएसँगै शनिवार ८ ओटा भौगोलिक र २ ओटा गैरभौगोलिक गरि १० ओटा प्रदेशमा ऐतिहासिक प्रथम प्रदेश कार्यसमितिका लागि निर्वाचन सम्पन्न भएको हो ।
देशभर नेकपा एमाले सम्बद्ध प्रेस चौतारी, नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन र माओवादी केन्द्र निकट प्रेस सेन्टरको संयुक्त गठबन्धन विजयी भएको हो । कतिपय प्रदेशमा निर्विरोध समेत निर्वाचित भइसकेका थिए ।
पत्रकार महासंघ यता १ नम्बर प्रदेश अध्यक्षमा प्रेस चौतारी नेतृत्वको संयुक्त गठबन्धन विजयी भएको छ । ३ संगठनले पत्रकार महासंघमा सिन्डिकेट लागू गर्न खोजेको भन्दै उम्मेद्वारी दिएको संघीस समाजवादी फोरम निकट संघीय प्रेस फोरमका सबै उम्मेद्वार पराजित भएका छन् ।
प्रेस चौतारी सम्बद्ध विक्रम लुइटेल ९३१ मत प्राप्त गरी अध्यक्षमा विजयी भए । उनका प्रतिष्पर्धी संघीय प्रेस फोरम सम्बद्ध अध्यक्ष पदका उम्मेद्वार गोपाल देवानले १६१ मत प्राप्त गरे । उपाध्यक्षमा नेपाल प्रेस युनियनसम्वद्ध सोमनाथ सुसेलीले ९२३ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिष्पर्धी संघीय प्रेस फोरमका तर्फबाट उपाध्यक्षका उम्मेद्वार विजय खतिवडाले १५६ मत प्राप्त गरे । महिला उपाध्यक्षमा प्रेस सेन्टरकी स्मिता निरौला विजयी भइन् । निरौलाले ६९७ मत प्राप्त गर्दा प्रतिष्पर्धी संघीय प्रेस फोरम सम्बद्ध मनिता चाम्लिङले २१० मत प्राप्त गरिन् ।
महासचिव पदमा सेन्टरकै विवेक गौतम विजयी भए । गौतमले ८८४ मत प्राप्त गर्दा प्रतिष्पर्धी संघीय प्रेस फोरम सम्बद्ध कमन देवानले १९१ मत प्राप्त गरे । खुल्ला सचिवमा यसअघि नै सेन्टरकै हरिकुमार राई निर्विरोध निर्वाचित भइसकेका छन् । समावेशी सचिवमा प्रेस चौतारीका वुद्धवीर राई विजयी भए । राईले ९०० मत प्राप्त गरे भने प्रतिष्पर्धी संघीय प्रेस फोरमका तर्फबाट उम्मेद्वार बनेका सन्तवीर लामाले १७७ मत प्राप्त गरे ।
कोषाध्यक्षमा चौतारीकै अम्बिका भण्डारी यसअघि नै निर्विरोध निर्वाचित भइसकेकी छन् । खुल्ला सदस्यमा गठबन्धनका तीर्थ सिग्देल ९६९, डिल्लीराम खतिवडा ९४०, बुद्धिप्रसाद लामिछाने (विमल) ९३१, विपेन्द्र गौतम ९०० र शशी कोइराला ८६७ मतका साथ विजयी भए । संघीय प्रेस फोरम सम्बद्ध उम्मेद्वार फिपराज लिम्बूले १८७ मत पाए । यस्तै मधेशी सदस्यमा गठबन्धनका जयकृष्ण यादव ९०४ मत र ब्रम्हदेव यादव ९०८ मतका साथ विजयी भए । मधेशी सदस्य पदमा संघीय प्रेस फोरम सम्बद्ध उम्मेद्वार श्यामसुन्दर सुतिहारले १७७ मत प्राप्त गरे ।
आदिवासी जनजाति सदस्य पदमा गणेश साम्पाङ र केशव लामा, महिला सदस्यमा रिता मोक्तान, तिलकुमारी शर्मा र रेजिना गौतम, दलित सदस्यमा सन्तोष रुचाल र अल्पसंख्यक सदस्यमा इकवाल अहमद निर्विरोध निर्वाचित भइसकेका थिए ।



















































