राम योङहाङ
इलाम : सुनिल बलको एकमात्र गोलको मद्दतले थ्रीस्टार क्लब ललितपुर इलाममा आयोजित चौथो अन्तरराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
सोमबार भएको फाइनलमा चिरप्रतिद्वन्दी मनाङ मस्र्याङदी क्लब काठमाडौंलाई अतिरिक्त समयमा १–० गोलको संघर्षपूर्ण जित निकाल्दै थ्रीस्टारले उपाधि चुमेको हो । निर्धारित समयमा गोलरहित बराबरीमा खेल टुङ्गिएपछि अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयमो तेश्रो मिनेटमा नै थ्रीस्टारका सुनिल बलले गोल गरी टिमलाई उपाधि दिलाए । राट्रिय टिमका स्ट्राइकर थ्रीस्टारका विमल घर्ती मगरको क्रस पासलाई सदुपयोग गर्दै बलले सहजै जाली चुमाएका थिए ।
पूर्व राष्ट्रिय खेलाडि निराजन खडकाको कप्तानीमा राष्ट्रिय टिमका स्ट्राइकर विमल घर्ती मगर, सुनिल बल, एलन न्यौपाने र ३ जना विदेशी अफ्रिकी मुलका नाइजेरियन खेलाडि सहित मैदान प्रवेश गरेको थ्रीस्टारले निर्धारित समयमा दर्जनौ अवसर खेर फालेको थियो । उता मनाङ पनि राष्ट्रिय टिमका कप्तान विराज महर्जनको कप्तानीमा अन्जान बिष्ट, विशाल श्रेष्ठ, विशाल राई, हेमन गुरुङ, सुजल श्रेष्ठ सहित मैदान प्रवेश गरेको थियो । उसले पनि निर्धारित समयमा गोल गर्ने अवसर थुप्रै पाएको थियो । तर गोल गर्न नसकेपछि उपविजेतामै चित्त बुझाउन बाध्य बन्यो ।
जितसँगै थ्रीस्टारले मनाङ विरुद्ध निरन्तर छैठौं जित कायम गर्न सफल भएको छ । पछिल्लो सिजनमा मनाङ र थ्रिस्टारबीचको ५ भेटमा सबैमा थ्रीस्टारले जित हात पारेको थियो । माइभ्याली गोल्डकपको पहिलो संस्करणमा भने थ्रीस्टार नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसँग सडेनडेथमा पराजित भएको थियो ।
विजेता थ्रीस्टारले नगद ६ लाख ६६ हजार ६ सय ६७ रुपैयाँ र ट्रफि पायो । मनाङले भने ४ लाख रुपैयाँमा चित्त बुझाउनुपर्यो । फाइनलको ‘म्यान अफ दी म्याच’ उपविजेता मनाङ मस्र्याङ्दीका हेमन गुरुङ घोषित हुँदै नगद १० हजार र चाँदीको मेडल प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ठ खेलाडि उपविजेता मनाङ मस्र्याङदीका कप्तान विराज महर्जन घोषित भए । उनले १५० सिसीको यमाहाको स्कूटर प्राप्त गरे । उदयीमान खेलाडि आयोजक माईभ्यालीका दर्शन गुरुङ घोषित भए । उनले नगद २० हजार प्राप्त गरे । सर्वाधिक गोलकर्ता आयोजक माईभ्यालीका मनिस थापा, नेपाल पुलिस क्लबका रेजिन सुब्बा, सशस्त्र प्रहरीको एपिएफका युवराज खड्का र नविन लामा घोषित भए । खेल अवधिभर २/२ गोल गरेका उनीहरुले जनही ७ हजार रुपैयाँ प्राप्त गरे ।
त्यस्तै उत्कृष्ठ गोलरक्षक विजेता थ्रीस्टार क्लबका एलन न्यौपाने घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ठ डिफेन्डर विजेता थ्रीस्टारका पिटर, उत्कृष्ठ मिडफिल्डर थ्रीस्टारकै सुनिल बल, उत्कृष्ठ फर्वड थ्रीस्टारकै विदेशी खेलाडि मार्टिन र उत्कृष्ठ प्रशिक्षक थ्रीस्टारकै मेघराज केसी घोषित भए । उनीहरुले जनही नगद १५ हजार प्राप्त गरे ।
विजेता र उपविजेता टिम तथा खेलाडिहरुलाई संविधानसभाका पूर्व अध्यक्ष तथा नेकपा एमाले इलाम क्षेत्र नम्बर २ का सांसद सुवासचन्द्र नेम्बाङले पुरस्कार प्रदान गरेका थिए ।
गत ६ वैशाखबाट सुरु भएको प्रतियोगितामा तीन विदेशी सहित नेपालका ‘ए’ डिभिजन क्लब र विभागीय गरी १२ टिमको सहभागिता थियो । प्रतियोगितामा विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लब, ए डिभिजन क्लब मनाङ मस्र्याङदी, थ्रीस्टार, संकटा, झापा ११, कास्की ११ र आयोजक माईभ्याली फूटबल क्लब तथा भारतको सिक्किम युनाइटेड र दुर्गापुर स्टील टीएसआई कोलकत्ता तथा बंगलादेशको कावरान प्रगति संघ सहभागी थिए ।
माइभ्याली फुटबलको आयोजनामा प्रतियोगितामा सञ्चालन गरिएको थियो । प्रतियोगिताको फाइनलको अवसर पारेर खेल सम्पन्न गर्न योगदान गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान समेत गरिएको छ ।





















































