माइभ्याली गोल्डकप : आर्मीविरुद्ध मनाङको संघर्षपूर्ण जित

राम योङहाङ

इलाम : मनाङ मर्स्याङ्दी क्लब काठमाडौं इलाममा जारी चौथो अन्र्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई १–० गोलको संघर्षपूर्ण जित निकाल्दै मनाङ उपाधिनजिक पुगेको हो ।

पहिलो हाफमा गोलरहित बराबरीमा खेलेको मनाङले दोश्रो हाफको सुरुवातै अग्रता लियो । ५८ औं मिनेटमा राष्ट्रिय टिमका स्ट्राइकर समेत रहेका मनाङका अन्जान विष्टले गोल गरे । हेमन गुरुङको फ्रिकिकको अवसरलाई सदुपयोग गर्दै विष्ट हेडमार्फत जाली चुमाए । विष्टको गोल नै मनाङलाई जितका लागि निर्णायक बन्यो ।

सुरुवातमा आक्रामक खेलेको आर्मीले लामो समय निरन्तरता दिन सकेन । दोश्रो हाफमा आक्रामक र रक्षात्मक दुवै रणनीति अपनाएको आर्मीले खेल अवधिभर कुनै गोल गर्न नसकेपछि पहिलो संस्करणको विजेता आर्मी सेमिफाइनलबाटै बाहिरिन बाध्य बन्यो ।

खेलको म्यान अफ दी म्याच मनाङ मर्स्याङ्दीका अन्जान विष्ट घोषित भए । उनले नगद १० हजार र चाँदीको मेडल पाए ।
पोस्ट म्यास कन्फ्रेन्समा मनाङका प्रशिक्षक फुजा तोपेले रणनीतिअनुसार नै आफ्ना खेलाडिले खेल्न प्रदर्शन गरेकाले जित हात परेको प्रतिक्रिया दिए । यता आर्मीका प्रशिक्षक नविन न्यौपानेले पाएको अवसरलाई सदुपयोग गर्न नसक्नु नै हारको प्रमुख कारण रहेको प्रतिक्रिया दिए ।

अघिल्लो सिजनमा मनाङ र आर्मीले खेलेका ५ खेलमध्ये आर्मी ४ खेलमा बाजी मारेको थियो । मनाङले अब उपाधिका लागि सोमबार हुने फाइनलमा शनिबारको अन्तिम सेमिफाइनल विजेतासँग प्रतिष्पर्धा गर्नेछ । शनिबार फाइनल प्रवेशका लागि थ्रीस्टार क्बल ललितपुर र शसस्त्र प्रहरीको एपिएफ क्लब भिड्दैछन् ।

माइभ्याली फुटबल क्लबको आयोजनामा ६ वैशाखदेखि सञ्चालित प्रतियोगितामा नेपाल, भारत र बंगलादेशकाका गरी १२ टिमको सहभागिता थियो  । पूर्वी पहाडि क्षेत्रकै सर्वाधिक राशी मानिएको प्रतियोगिताका विजेताले नगद ६ लाख ६६ हजार ६ सय ६७ र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार