सिक्‍किमलाई हराउँदै त्रिभुवन आर्मी सेमिफाइनलमा

राम योङहाङ

इलाम : नेपाली सेनाको त्रिभुवन आर्मी क्लब इलाममा जारी चौथो अन्तरराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार इलामको ठूलो टुँडीखेलमा भएको तेश्रो क्वार्टरफाइनलमा विदेशी टिम सिक्किम युनाईटेट भारतलाई ३–१ गोलको अन्तरले हराउँदै आर्मीले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

खेलको १५ औं मिनेटमा नै अन्डर नाइन्टिनका राष्ट्रिय खेलाडि समेत रहेका आर्मीका दिनेश हेनजमले गोलको खाता खोले । विपक्षी टिमको कमजोर रक्षापंतीको फाइदा लिदैं हेमजनले प्रहार गरेको बलले सीधै जाली चुमेको थियो । डिबस्क भित्रबाट प्रहार गरेको बलले जाली चुमेको सिक्किमका गोलकिपर पिनिसो श्रेष्ठले पत्तै पाएनन् ।

आर्मीको त्यो अग्रता जितका लागि पर्याप्त भने बनेन । दोश्रो हाफमा दुवै टिमका खेलाडीले रक्षात्मक भन्दा आक्रामक शैली अपनायो । लगातार विपक्षीको पोष्टमा दुवै टिमले दर्जनौं प्रहार गर्यो । खेलको ७१ औं मिनेटमा सिक्किमका स्ट्राईकर इन्द्रजीत क्षेत्रीले गोल गरी खेललाई बराबरीमा ल्याएका थिए । क्षेत्रीको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाउ गर्ने कुनै मौका नै पाएनन् ।

लगत्तै आर्मीको तर्फबाट दोश्रो गोल भयो । ७६ औं मिनेटमा नेपाली राष्ट्रिय टिमका स्ट्राइकर नवयुग श्रेष्ठले गोल गरी अग्रता दोब्बर बनाए । सिक्किमका गोलरक्षक पिनिसो श्रेष्ठ अगाडि बढेको मौकामा नवयुगले सोझै जाली चुमाएका थिए । अन्मित समयमा चम्किएका आर्मीले पुनः गोल गर्न सफल बन्यो । इन्जुरी समयको पहिलो मिनेटमा मिनेटमा आर्मीका कप्तान भरत खवासले गोल गरी ३-१ को जित दिलाए ।

यता सिक्किमका खेलाडीहरु अन्तिम समयसम्म विपक्षीको पोलमा गोल गर्न थुप्रै प्रयास गरेपनि सफल बन्न सकेन । अन्ततः उपाधि चुम्ने सपना चकनाचुर पार्दै क्वाटरफाइनलबाटै सिक्किम स्वदेश फर्कन बाध्य बनेको थियो ।

खेलमा आर्मीका सन्तोष तामाङ म्यान अफ दी म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ र चाँदीको मेडल प्राप्त गरे । आर्मीले अब शनिबार हुने पहिलो सेमिफाइनलमा मनाङ मस्याङ्दीको सामना गर्नेछ ।

बिहीबार अन्तिम क्वार्टरफाइनमा चिरप्रतिद्वन्द्वी विभागीय टिम नेपाल पुलिस क्लब काठमाडौं र थ्रिस्टार क्लब ललितपुर भिड्नेछन् । थ्रिस्टार माईभ्याली गोल्डकपको पहिलो संस्करणको उपविजेता हो । यसअघि मनाङ मस्र्याङदी र सशस्त्र प्रहरीको एपिएफ क्बल काठमाडौं अन्तिम चारमा पुगिसकेको छ ।

१७ वैशाखसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत र बंगलादेशकाका गरी १२ टिमको सहभागिता छ  । माइभ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताका विजेताले नगद ६ लाख ६६ हजार ६ सय ६७ र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

२०७१ सालमा सुरु माईभ्याली गोल्डकप पुरस्कार र धनराशिका हिसाबले पूर्वी पहाडकै प्रतिष्ठित प्रतियोगिता हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार