७ लाख दर्शकको उपस्थिती रहने अपेक्षा छ : अध्यक्ष चेम्जोङ (भिडियोसहित)

इलाममा ०७१ देखि हरेक वर्ष महासंग्रामको रुपमा आयोजना हुँदै आएको अन्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप यसपटक विहीबारदेखि सुरु हुँदैछ । पूर्वी पहाडकै सबैभन्दा बढी धनराशिको पुरस्कारको गोल्डकपका तयारी अन्तिम चरणमा पुगको छ । यसै गोल्डकपको तयारीको सेरोफेरोमा आयोजक माईभ्याली फूटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङसँग नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङले गरेको कुराकानीको संम्पादित अंश :

केमा व्यस्त हुनुहुन्छ ?

अन्र्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको चौथो संस्करणको अन्तिम तयारीमा छौं । करिब खेलाडिलाई उतार्न सक्ने पोजिसनमा आईपुगेका छौं । यसैलाई व्यवस्थित गर्न, सभ्य र भव्य बनाउनुपर्छ भन्ने मान्यताका साथ यसैमा दिलो ज्यान दिएर लागिरहेका छौं ।

तयारी कस्तो हुँदैछ ? अब कति बाँकी छ ?

९९ प्रतिशत तयारी पूरा भईसकेको छ । अब खेलमैदानको रेखा कोर्ने तयारीमा छौं । माथिपट्टी घेरबन्दी गरिरहेका छौं । यसपटक स्टेडियमकै स्वरुपमा यसलाई ल्याउने भन्ने उद्देश्यले जस्तापाताले घेराबारा गर्दैछौं । अब अन्तिम चरणमा छौं ।

विगतको संस्करण भन्दा के फरक विशेषता छ यसपाली ?

पहिलो कुरा यसपालीको संस्करणलाई इलाम सदरमुकामा (खलंगा) स्थापनाको दुई सय वर्षसँग गाँसेका छौं । यसलाई इलाम महोत्सवकै एउटा अंगको रुपमा लिएका आएका छौं । विविध कारण समय सर्दै यहाँसम्म आईपुगको छ । हुन चाँही यो ०७४ सालकै टुनामेन्ट हो । ०७४ को टुनामेन्टलाई हामी वैशाख ६ देखि सञ्चालन गर्ने तयारीमा छांै । यस अर्थमा पनि यसको विशेष महत्व छ ।

दोश्रो कुरा खेलको नाम अगाडि अन्र्तराष्ट्रिय आमन्त्रण भनेका छौं । त्यसको भार यो प्रतियोगिताले लिनुपर्छ भनेर विदेशका टिमलाई भित्र्याउने जमर्को गरेका छौं । जसअन्तरगत बंगलादेशको एउटा र भारतको दुईवटा टिमसहित नेपालका ९ गरेर १२ टिमलाई सहभागी गराउँदैछौ । यसअघि १० टिम सहभागी हुँदै आएकोमा यसपालि १२ टिम सहभागी हुँदैछ ।

यसअघि धुले ग्राउण्डमा खेल खेलाउँथ्यौ । जसको कारण प्रतिभाशाली खेलाडि पनि घाईते हुने डरले आफ्ना प्रतिभाहरु प्रस्फुटन गर्न पाईरहेको थिएन । तर यसपाली हरियो चौर उमारेका छौं । अब प्रतिभाशाली खेलाडिले ढुक्कका साथ खेल्न सक्छन् । प्रतिभाशाली खेलाडिबाट प्राप्त हुने खेल कौशल इलामेली दर्शकमा प्रस्फोटन भएर आउनेछ ।

अर्को कुरा विदेशका खेलाडिहरु यहाँ र्निढुक्क खेल्नुहुन्छ । जसका कारण भारत र बंगलादेशको खेलाडिको प्रतिभा अवालेकन गर्न पाउँछौं । त्यसकारण पनि यसपालिको प्रतियोगिता विशेष छ भनिरहेका छौं ।

पुरस्कार पनि वृद्धि गर्नुभएको हो ?

पुरस्कारमा समेत वृद्धि छ । यसपटक विजेताले नगद ६ लाख ६६ हजार ६ सय ६७ र उपबिजेताले चार लाख पाउनेछन् । तथापी हाम्रो मान्यता पैसा बढाउनु नै प्रतियोगिताको स्तरसँग आंकलन गर्ने कुरा होइन । पुरस्कार थोरै भएपनि त्यहाँ सहभागी हुने प्रतियोगीहरुको स्तर र आयोजकले गर्ने व्यवस्थापनलाई चाँही मुख्य रुपमा हेरिनुपर्छ भन्ने हाम्रो मान्यता हो ।

यत्रो ठूलो प्रतियोगिता आयोजना गर्दै हुनुहुन्छ । श्रोत कहाँबाट जुटाउनुहुन्छ ?

पहिलो श्रोत इलामेलीहरुको उदार भावना नै हो । इलामेलीहरुमा आफ्नो ठाउँको विकासका लागि, आफ्नो ठाउँमा सक्षम, सबल नागरिक उत्पादनका लागि क्लबले गरेको यत्रो कोसिसलाई यज्ञको रुपमा ठानेर त्यस यज्ञमा समाहित हुनुपर्छ भन्ने मान्यता नेपालभित्र र विदेशमा रहेका इलामेलीहरु, जो खाडि मुलुकमा आफ्नो रगत पसिना बगाइरहनुभएको छ, उहाँहरुले आफ्नो छाक काटेर पठाउनुभएको रकमले उत्साहित बनाईराखेको छ । जसको कारण प्रतियोगिताले सफलता पाईरहेको छ ।

यसरी प्रतियोगिता सञ्चालन गर्दैगर्दा केकस्ता चुनौतीको सामना गर्नुपरेको अवस्था छ ?

सबभन्दा ठूलो चुनौती खेलमैदान हो । खेलमैदान नेपाली सेनाको स्वामित्वमा छ । नेपाली सेनाको स्वामित्वमा रहेतापनि खेल सञ्चालनमा अवरोध भने छैन । तथापी प्रत्येक इलामेलीको चाहना एउटा स्थायी रंगशाला स्थापना होस् । आधुनिक रंगशाला निर्माण होस् । जुन रंगशालामा बसेर हामीले पनि खेलको मज्जा लिन पाउँ भन्ने साेंच छ । तर त्यो सधैं अपूरो छ ।

हामीले माथिल्लो भागमा माटोलाई काटेर प्यारापिट बनाएका छौं । अन्य तीनतिर बाँसका प्यारापिट बनाएका छौं । बाँसका प्यारापिटमा प्रत्येक वर्ष ७ देखि साढे ७ लाख खर्च हुन्छ । पछि बिक्री गर्दा डेढ लाख पनि आउँदैन । त्यसकारण हाम्रो अनुरोध के हो भने यी प्यारापिटमा लाग्ने खर्चलाई हामीले ३ वर्षको खर्च मात्र बचाउने हो र यदि स्वीकृति प्राप्त हुन्छ भने ट्रस्टकै प्यारापिट पनि बन्न सक्छ । जुन १५ औं वर्षसम्म चल्न सक्छ । त्यसो भए बाँस खपतको करोडांै रकम क्लबको खातमा जम्मा गर्न सक्थ्यौं । जसको माध्यमबाट इलाममा फूटबलका प्रतिभाहरुलाई जन्माउन सक्थ्यौ भने यही फूटबल मैदानलाई पनि स्वीकृति मिलेको खण्डमा अझ सिंगार्न र दर्शकलाई बस्नका निम्ति सुविधासम्पन्न बनाउन पनि सक्षम बन्थ्यौ । यी कुराहरु अत्यन्तै खट्किरहेको समस्या हो ।

सम्बन्धित निकायमा पहल गर्नुभएन ?

यो सरकारी सम्पति हो । यसको पहलका लागि नगरपालिकाले नगरसभापाले पास गेर मन्त्रालय पठाएको भन्ने सुन्नमा आएको छ । सेनाको स्वामित्वमा रहेको यो खेलमैदान छ, त्यसको क्षतिपूर्ती दिएर कतै नेपाली सेनालाई जग्गाजमिन किनिदिएर भएपनि यो नगरपालिकाले आफ्नो स्वामित्वमा लिएको खण्डमा यसमा हामी पब्लिकले पनि सपोर्ट गरेर जान सक्ने परिस्थिती बन्थ्यो । हामीले यहाँ स्टेडियम निर्माणका लागि बारम्बार अर्थ मन्त्रालयमा पत्राचार गरेका हौं ।

उहाँबाट निकासा हुने परिस्थिती आइसक्दा पनि निकासा गर्न अप्ठेरो परिस्थितीको सामना गर्नुपरेको छ । जस्तो खेलकुद विकास समतिको माध्यमबाट स्टेडियम निर्माणका लागि जाँदा बजेट कहाँ कसको नाममा निकासा गर्ने ? खेलकुद मन्त्रालयमा निकासा गर्दा नेपाली सेनाको जमिन छ । कि त बजेट शाखाले नेपाली सेनाको फलानो खेलमैदान निर्माण गर्ने भनेर तोकेको खण्डमा त्यो सम्भव हुने रहेछ नत्र हामीले माग गरेको कुरा वैधानिक नै नहुँदो रहेछ । त्यसकारण हामीले बारम्बार प्रयत्न गरेपनि अप्ठेरो परिरहेको छ ।

प्रचारप्रसारलाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?

प्रचारप्रसारका लागि यही नगरपालिकाका ३ वटा एफएमलाई अनुरोध गर्यौ । उहाँहरुले निरन्तर सहयोग गरिरहनुभएको छ । साथै टाईसिटहरु बाँड्ने, पत्रकारहरुसँग प्रतियोगितालाई अभियानकै रुपमा कलम चलाईदिन अनुरोध गरेका छौं ।

जिल्लाकै सदरमुकाम बाहिरबाट सञ्चालित सञ्चारमाध्यमहरु छन् । उनीहरुसँग समन्वय गर्नुभएन ?
छापा पत्रपत्रिकासँग हाम्रो बसाई भएको छैन । खेलमैदानकै तयारीमा लागेका कारण बस्न सकेका छैनौं । अनलाइनसँग पनि बस्ने काम भएको छैन । हामी पनि व्यस्त रहयौं । साथै कुनकुन सञ्चारमाध्यम छन् भन्ने सूचनाको अभावका कारण केही छुट्न गएको छ । व्यवहारले सिकाउँदै जाने कुरा हो । आगामी दिनमा कुनकुन प्रकाशन गृहहरु छन् भन्ने कुरा पहिले नै संकलन गरेर त्यसपछि उहाँहरुसँग बसेर सैद्धान्तिक सहमति गरेर जाँदा राम्रो हुन्छ भन्ने कुरा महसुस भईरहेका छ ।

यस प्रतियोगिताले कस्तो प्रभाव पार्ला ?

अत्यन्त सकरात्मक प्रभाव पार्छ भन्ने लागेको छ । माईभ्याली गोल्डकपको नारा नै दुव्र्यसनमुक्त इलाम हो । तीब्र गतिमा भईरहको विकृतिलाई महसुस गरेर अभिभावकहरुको बीचमा सल्लाह भईसकेपछि पहिलेको माईभ्याली स्पोपोर्टिङ क्लबलाई माईभ्याली फुटबल क्लब बनायौं । १७ वर्षपछि हामीले दुव्र्यसनबाट मुक्त गर्नका लागि एउटा खेलकुदको संस्था आवश्यक छ भन्ने महसुस गरेर माईभ्याली फूटबल क्लबमा ढालेर सक्रिय भएका हांै । ०७१ सालबाट माईभ्याली गोल्डकप सुरु गर्यौ । जुन आज नेपालकै सन्दर्भमा स्तरीय प्रतियोगिताको रुपमा स्थापित छ ।

हामीले पर्यटनसँग खेल पर्यटन जोड्ने जमर्कौ गरेका र्छौ । यदि हामीले राम्रो प्रतियोगिता सञ्चालन गर्न सकेको खण्डमा विदेशबाट आउने २५ खेलाडिले मात्र यहाँको नागरिकको व्यवहार अत्यन्तै राम्रो छ भन्ने बुझेको खण्डमा समेत सयौंलमाझ ती विदेशी खेलाडिले लगेर जान्छन् । त्यसकारण खेलपर्यटनको कुरालाई पनि अगाडि ल्याएर माईभ्याली गोल्डकपले यसलाई सहयोग गर्छ । इलामलाई आधुनिक, सभ्य र सालिन इलाम निर्माण गर्नका लागि सहयोग गर्छ भन्ने लागेर नै यसको थालनी गरेका हौं ।

दर्शकको उपस्थिती कस्तो रहने अपेक्षा गुर्नभएको छ ?

दर्शकको उपस्थिती यसपटक इलाममा अत्यन्त राम्रो रहन्छ । अत्यन्त भव्य रहन्छ । त्यो कुरामा हामी गर्भ गछौं । कम्तीमा पनि सात लाख दर्शकले यही मैदानमा उपस्थित भएर मनोरञ्जन लिन्छन् भन्ने कुरामा हामी विश्वस्त छौं ।

प्रतियोगितालाई आगामी वर्षमा निरन्तरता दिने कस्तो योजना बनाउनुभएको छ ?

हामीले प्रतियोगिता सञ्चालन गरिरँदा यसको स्थायीत्वको विषयमा सबैभन्दा गम्भीर ढंगले मनन गर्नुपर्ने हुन्छ । यसको स्थायीत्वको प्रश्नमा रातदिन चिन्ता लागिरहन्छ । हामीले धेरै प्रयत्न गरेका छौं । ७१ सालदेखि नै नेपाल सरकारको रातो किताबमा माईभ्याली गोल्डकप भनेर बजेटको व्यवस्था गरेका छौं । त्यहाँ एक लाख रुपैयाँको बजेट हामीलाई छुट्ट्निे गरेको छ । त्यसलाई बढाउन प्रयत्न गरेका छौं । सम्बन्धित निकायमा पहुँच पुग्ने महानुभावहरुसँग क्लबका तर्फबाट कुरा गरिदिन अनुरोध गर्छाैं । सँगसँगै यसको स्थायित्वको लागि इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतसँग पत्राचार गर्यौं । धेरैपटक औपचारिक अनौपचारि रुपमा बस्यौं । धेरे बसाईपछिको एउटा निकास प्राप्त भएको छ । इलाम नगरपालिका र माईभ्याली फूटबल क्लबसँग अब यो चौथो संस्करणदेखि उता घाम र जुन रहेसम्म इलाम नगरपालिकाले प्रथम पुरस्कारको भार वहन गर्ने भन्ने सम्भौता भएको छ ।

त्यो सम्झौता पश्चात एउटा ऐतिहासिक काम सम्पन्न भएको महसुस मैले गरेको छु । अब हामीले नेपाल सरकारबाट प्राप्त हुने रकम र इलाम नगरापलिकाले त्यो भार वहन गरिदिन वित्तिकै थोरैमात्र प्रयोजकको बीचमा जान सकेमा इलामबासीको जुन सदासायता छ, टिकट नकाटी प्रवेश गर्नुहुन्न । त्यो सदासायताले नै यो प्रतियोगिता घाम र जुन रहेसम्म बाँच्छ भन्ने कुरामा हामी विश्वस्त छौं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार