इलाममा आठ हजार भन्दा बढीलाई वैदेशिक रोजगारी सम्बन्धि परामर्श

सुजता सुनुवार

इलाम : इलाममा आठ हजार भन्दा बढीलाई वैदेशिक रोजगारी सम्बन्धि परामर्श दिइएको छ । एक वर्ष ५ महिनाको अवधिमा घरदैलो अभियान सञ्चालन गरी आठ हजार पाँच सय ६५ जनालाई परामर्श दिइएको हो ।

साविक १० गाविसका वैदेशिक रोजगारीमा जान चाहने, पुगेर नेपाल आएका, ट्रेड युनियन कर्मी, विभिन्न पार्टीका प्रतिनिधि, सम्बन्धित सरकारी कार्यलयका कर्मचारी, सरोकारवाला लगायतलाई समेत परामर्श दिइएको छ ।

जसमा वैदेशिक रोजगारमा जान चाहने, गएर आएका र पुन जाने योजनामा रहेका आठ हजार व्यक्तिलाई परामर्श दिइएको हो । यीमध्ये कार्यक्रमको आयोजना गरी चार हजार आठ सय महिला र तीन हजार दुई सय पुरुषलाई प्रत्यक्ष रुपमा परामर्श दिइएको नेपाल ट्रेड युनियन कांग्रेस इलामका अध्यक्ष हरीनाथ फुएलले जानकारी दिए ।

यस्तै एक सय ८२ महिला सहित तीन सय ६० जना ट्रेड युनियनकर्मीलाई श्रमिकको क्षमता विकास तालिम, विभिन्न पार्टीका प्रतिनिधिहरु ४२ महिला र ३८ पुरुष सहित ८० जनालाई सुरक्षित वैदेशिक रोजगार सम्बन्धि कार्यमा आफ्नो दायित्वबोध गराउने तालिम दिइएको छ ।

यसैगरी विभिन्न सम्बन्धित संघसस्था, सरकारी कार्यलय र वैदेशिक रोजगारसम्बन्धिका सरोकारवालाहरु गरी ९५ पुरुष र ३० महिला सहित एक सय २५ जनालाई परामर्श दिइएको जनाईएको छ ।

जिल्ला प्रशासन कार्यलय इलाममा सबै भन्दा बढी राहदानी बनाउने संख्याका आधारमा जिल्लाका साविक १० गाविसलाई छनोट गरी कार्यक्रम सञ्चालन गरिएको थियो । जसमा इलामका फिक्कल, समाल्बुङ्ग, चुलाचुली, महमाई, जीतपुर, साक्फारा, गजुरमुखी, आमचोक, फूयतप्पा र मङ्गलबारेमा घरदैलो कार्यक्रम सञ्चालन गरी परामर्श दिइएको बताइएको छ ।
जसमा सबै भन्दा बढी महमाई र सबै भन्दा कम फिक्कलबाट वैदेशिक रोजगारीका लागी नेपाली युवा खाडी मुलुक जाने बताइएको छ ।

इलाम वैदेशिक रोजगारमा जाने व्यक्तिका संख्याको आधारमा देश कै १० औँ स्थानमा पर्छ । यसर्थ जोखिमबाट बच्न, विभिन्न सम्बन्धित संघसस्था, सरकारी कार्यलयलाई आफ्नो काम कर्तव्य र जिम्मेवारीबारे जानकारी गराउन जरुरत भएकाले परामर्श कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष फुएलले बताए ।

अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला समिति इलाम स्थापना गरी २०७३ जेठबाट सुरक्षित वैदेशिक रोजगार परमर्श कार्यक्रम सञ्चालन गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार