काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ दोस्रो कार्यकालका लागि निर्विरोध भएका छन् । राष्ट्रपतिमा प्रतिस्पर्धा गरेको प्रमुख विपक्षी दल कांग्रेसले उपराष्ट्रपतिमा भने उम्मेदवारी नदिएपछि पुन निर्विरोध भएका हुन् ।
उपराष्ट्रपतिमा उनको मात्र उम्मेदवारी गरेको हो । उम्मेदवारी दर्ताको लागि दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको थियो । निर्धारित समय भित्र कांग्रेसको उम्मेदवारी परेन । निर्वाचन भने आगामी ९ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कार्यतालिका थियो । तर, निर्विरोध निर्वाचित भएको भोलि मात्र घोषणा हुनेछ । दावी विरोध लगायतका प्रक्रिया पुरा भएपछि मात्र निर्विरोध भएको घोषणा हुने उपराष्ट्रपतिको निर्वाचन कार्यालयले जनाएको छ ।
नको प्रस्तावकमा नेकपा एमालेका नेता सुवास नेम्बाङ, भानुभक्त ढकाल, परशुराम मेघि गुरुङ्ग माओवादी नेतृ पम्फा भुुसाल, रेखा शर्मा छन् । यस्तै समर्थकमा माओवादी केन्द्रका नेताहरु देव गुरुङ्ग, ओनसरी घर्ती, जयपुरी घर्ती, राम नारायण बिडारी र राजेन्द्रप्रसाद गौतम छन् ।
काे हुन् पासाङ ?
‘जनयुद्धका हिरो’
राङ्सी–९, रोल्पामा २०२२ कात्तिक ७ गते जन्मिएका नन्दबहादुर पुन जनयुद्धमा ‘पासाङ’ नामले चर्चित थिए । जनयुद्धमा माओवादी सेनाका कमाण्डरको भूमिकामा रहेका पासाङ शान्ति प्रक्रियामा आएपछि पनि माओवादी सेनाको कमाण्डार थिए । सेना समायोजन र शान्ति प्रक्रियामा महत्वपूर्ण भुमिका खेलेका पासाङ सेन समायोजनपछि राजनीतिक मोर्चामा आएका हुन् । माओवादी जनयुद्धमा उनको प्रभावकारी भुमिका थियो ।
पहिलो सदरमुकाम कब्जा डोल्पाको दुनै, पहिलो क्षेत्रीय सदरमुकाम कब्जा कर्णालीको जुम्ला पासाङकै फौजी नेतृत्वमा भएका थिए । दाङको घोराही, अछामको मङ्गलसेन, अर्घाखाँचीको सन्धिखर्क, म्याग्दीको बेनी उहाँकै नेतृत्वमा कब्जा भएका हुन् । रोल्पाको गाम, लिस्नेमा तत्कालीन शाही सेनालाई पराजित गर्दा पासाङ नै कमान्डर थिए । शान्ति प्रक्रियाका एक निर्णायक पात्र भएकोले पनि उनलाई सम्मानित स्थानमा राख्न सबै नेताहरु सहमत छन् ।
नयाँ संविधान जारीपछि २०७२ कात्तिक १४ मा व्यवस्थापिका संसद्मा भएको उपराष्ट्रतिको निर्वाचनमा उनी दोस्रो उपराष्ट्रपतिमा निर्वाचित भए । तत्कालीन सत्तारूढ गठबन्धन (एकीकृत नेकपा माओवादी), नेकपा एमाले, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले, नेकपा संयुक्त, राष्ट्रिय जनमोर्चालगायत १५ दलको संयुक्त उम्मेदवार उनले कुल ५४७ मध्ये ३२५ मत प्राप्त गरेर उपराष्ट्रपतिमा विजयी भएका थिए ।
राजनीतिक यात्रा
पासाङ २०४६ मा तत्कालीन मशालको पार्टी सदस्य बनेर राजनीतिमा लागेका हुन् । उनलाई वासुदेव भन्ने नेताले पार्टी सदस्यता दिए भने शैक्षिक गुरु कृष्णबहादुर महराबाट पार्टी सदस्यता नवीकरण गरे। २०४८ मा भएको एकता महाधिवशेनबाट बनेको एकताकेन्द्र मशालको सदस्य तथा युवक सङ्गठनको सदस्य हुँदै जिम्मेवारी बढ्दै जाँदा २०४८ देखि पूर्णकालीन सदस्य भएर काम गरे ।
एकताकेन्द्र बनेलगत्तै रोल्पाको प्रथम जिल्ला सम्मेलनबाट जिल्ला सदस्यमा चयन भए । कृष्णबहादुर महरा सेक्रेटरी रहनुभएको पाँच सदस्यीय जिल्ला समितिमा पासाङ, सन्तोष बुढा, इन्द्रबहादुर बुढा र जोखबहादुर महरा सदस्य थिए । जनयुद्ध तयारी गर्दा वाईसीएलको रोल्पा जिल्ला अध्यक्ष र सैन्य प्रशिक्षक रहेका पासाङ २०५२ फागुन १ मा तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध सुरुवात गर्दा देशका चार ठाउँमा गरेको आक्रमणमध्ये रोल्पाको होलेरीमा रहेको इलाका प्रहरी कार्यालयमा आक्रमण गर्दा उत्तर–पश्चिम र दक्षिण कमान्डका लडाकु दलको इन्चार्ज र आक्रमणको सहकमान्डर थिए ।
पासाङ २०५४ मा पार्टीको क्षेत्रीय व्युरो सदस्य भए । २०५७ मा भएको पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनबाट पार्टी केन्द्रीय सदस्य र भारतको गोवामा २०६० मा बसेको केन्द्रीय समिति बैठकबाट पोलिटव्युरो सदस्य भए । २०६९ मा भएको सातौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा चुनिए । २०७० वैशाखमा भएको विराटनगर सम्मेलनबाट पुनः केन्द्रीय सदस्यमा भए । लगत्तै जेठमा भएको पदाधिकारी, स्थायी समिति र पोलिटव्युरो सदस्यको निर्वाचनमा उनी स्थायी समिति सदस्यमा निर्वाचित भएका थिए ।



















































