काठमाडौं : कांग्रेस संसदीय दलको नेतमा पार्टी सभापति शेरबहादुर देउवा विजयी भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेललाई फेरि अर्को धक्का लागेको छ ।
सोमबार दलको नेता चयन गर्न भएको मतदानमा रामचन्द्र पौडेल पक्षधर उम्मेद्वार प्रकाशमान सिंहले १९ मत पाउँदा देउवाले भने ४४ मत ल्याएका थिए । प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी ६३ सांसद रहेको कांग्रेसमा सर्वसम्मत दलको नेता चयन गर्ने प्रयत्न भए पनि पौडेल पक्षले असहमति जनाएपछि मतदान भएको थियो ।
गत मंसिर १० र २१ गते भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा सभापति देउवाकै कारण कांग्रेस उम्मेद्वारहरुले हार खानुपरेको भन्दै पौडेल पक्षले देउवाले त्यसको जिम्मेवारी लिनुपर्ने र दलको नेता समेत अरुलाई नै बनाउनुपर्ने भन्दै आएको थियो । तर, देउवाले पौडेलपक्षको मागलाई वेवास्ता गर्दै दलको नेतामा उम्मेद्वारी दिएका थिए ।
संसदमा प्रधानमन्त्रीको निर्वाचन हुँदा १७ बल्ड्याङ खाएका पौडेल यसपटक पुन संसदीय दलको नेतामा समेत पराजित भएपछि पौडेललाई १९ औ धक्का पुगेको कांग्रेस बृत्तमा चर्चा चलेको छ । दलको नेता प्रधानमन्त्री बन्ने व्यवस्था भएका कारण कांग्रेसमा नेता बन्न पौडेल र देउवा समूहबीच लडाई भएको हो । यदि बाम गठबन्धनको सरकार दायाँ–बायाँ भए पुन प्रधानमन्त्री बन्ने योजनामा देउवा छन् । कांग्रेसको राजनीतिमा इमान्दर नेताका रुपमा चिनिएका पौडेल गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा समेत हार व्यहोरेका थिए ।



















































